कोशी प्रदेशमा झण्डै दुई हजार रोपनीमा लगाइएको गाँजा नष्ट

0
39

झापा ।

बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घर–घर पुगेर नष्ट गरेको छ ।

बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा गाँजा खेती नष्ट गरेको हो । औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयले गाँजा खेती गर्दै आएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक कटुवालको भनाइ छ ।

विशेष गरी आदिवासी समुदायले करेसावारीमा गाँजाखेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री बितरण गर्ने गरेको बताइएको छ । गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागूऔषधको लतमा फस्न सक्ने जोखिम बढेको भन्दै प्रहरीलाई विशेष सूचना आएसँगै अभियान नै चलाएर बाह्रदशी गाउँपालिका क्षेत्रमा गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय युवा पुस्ता कुलतमा फस्ने क्रम बढेसँगै स्थानीयले समेत प्रहरीलाई लागूऔषध दुव्र्यसन र गाँजा खेती न्यूनीकरणमा सहयोग पु¥याउँदै आएको बताइएको छ ।

यसैबीच कोशी प्रदेशमा प्रहरीले एक वर्षको अवधिमा एक हजार ७ सय ६३ रोपनीमा लगाएको गाँजा नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ लाख ७६ हजार तीन सय १४ वटा गाँजाका बोट नष्ट गरिएको हो । प्रदेश प्रहरीले गाँजा खेती नष्ट गर्न अभियान नै चलाएर यसअघि प्रहरी परिचालन गरेको थियो ।

कोशी प्रदेशमा प्रहरीले आर्थिक वर्ष २०७९÷०८०मा पाँच हजार ८ सय १५ किलोग्राम सुक्खा गाँजा बरामद गरेको छ । आर्थिक वर्ष २०७८÷०७९मा २ हजार २१ केजी गाँजा बरामद भए पनि आर्थिक वर्ष २०७९÷०८०मा प्रहरीले सक्रियता बढाएसंगै तेब्बर बढी गाँजा बरामद गरेको हो । त्यसो त लागू औषध नियन्त्रणका क्षेत्रमा प्रहरीले छुट्टै सेल खडा गरेर काम गरिरहेको छ । तर, भारतसँगको खुल्ला सीमानाका कारण लागूऔषध नियन्त्रण पूर्ण रुपमा हुन सकेको छैन ।

प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी प्रदेशबाट गाँजापछि ब्राउनसुगर र अफिम धेरै बरामद भएको छ । दुई केजी ७९ ग्राम र ८४९ मिलिग्राम व्राउनसुगर बरामद हुँदा २७ दशमलव ६८ ग्राम अफिम बरामद भएको हो । त्यस्तै विभिन्न मनोदिपक चक्की÷क्याप्सुल २७ हजार हजार ६ सय १८ र विभिन्न मनोदिपक इन्जेक्सन (एम्पुल) १० हजार १ सय ७५ वटा बरामद भएको छ ।

अन्य मनोदिपक औषधिहरु ३ सय १७ थान बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । प्रहरीले एक वर्षको अवधिमा लागूऔषध मुद्दामा एक हजार एक सय ४१ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

२०६५ साल जेठ १५ गते नेपालमा जारी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजालाई लागूऔषध सूचीमा राखेको छ । तर, अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१का लागि संसदमा पेश गरेको बजेटमा गाँजाको विषय समेत परेपछि अहिले सार्वजनिक बृत्तमा यसको चर्चा भइरहेको छ ।

बजेटमा औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित कतिपय सांसदले सरकारको घोषणाबारे संशय व्यक्त गरेका थिए । बजेटबारे उठेका प्रश्नहरूको जबाफ दिने क्रममा अर्थमन्त्री महतले औषधीय प्रयोजनका लागि गाँजाको खेती खुल्ला गर्नेबारे यसको प्रतिबन्धमा पैरवी गर्ने देशहरू नै लागिरहेको बताएसंगै गाँजा खेतीको बहस सार्वजनिक बृत्तमा चुलिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here