विपद्को प्रतिरक्षा आफैं गरौं

0
37

मौसम विभागले यो वर्ष मनसुनी वर्षाको प्रभाव तुलनात्मक रुपमा कम हुने भनिरहेका बेला साउनको तेस्रो हप्ता आइपुग्दा अधिक वर्षाकै कारण जनधनको ठूलो क्षति भएको छ । राजधानी काठमाडौं मात्र होइन देशका विभिन्न भागमा परेको अविरल वर्षाले कतै डुबान, कतै बगान त कतै पहिरो जाँदा भएको क्षतिप्रति सरकार मात्र होइन नागरिक समाजदेखि बुद्धिजीवी, विपद् व्यवस्थापनमा सहायोग गर्ने संस्थाहरु पनि युद्धस्तरमा सक्रिय हुनुपर्ने बेला हो । राजधानी काठमाडौं भएर बग्ने ठूला–साना खोलामा जलस्तर बढेर ठूलो क्षति भइरहेको छ । नदीनाला घरमा, बस्तीमा पसेर भण्डारण गरिएको अन्नपात, लुगाफाटोदेखि चौपाया पशुहरुमा पनि क्षति भइरहेको र यो क्षति अरु बढ्ने लक्षण देखिँदैछ ।

नदीनालामा जलस्तर बढेर कतै तिनले बहाव क्षेत्र बदलेको छ भने राष्ट्रिय राजमार्गमा पहिरो जाने कारणले यातायातका साधन सडकमै अलपत्र छन् । सयौं परिवार बाढीका कारण विस्थापित भएका छन् । त्यसो त प्राकृतिक विपद् हुन् वा रोग संक्रमणको महामारी सूचना दिएर आउँदैन । तर, सरकार यस्ता सबैखाले विपद्हरुका निम्ति प्रतिरक्षाका उपाय र साधनसहित तम्तयार रहनुपर्ने हो । कोरोनाको लामो कहरपछि विस्तारै लयमा फर्किन थालेको जीवनमा डेंगीले त्रास दिइरहेको छ । यही समय आँखा पाक्ने रोगको संक्रमणले नेपाली जीवन आक्रान्त छ । यी सबैका बीच मूल्यवृद्धिको मार खेप्दै संघर्षरत् नेपालीलाई अधिक वर्षाले थप पीडा दिएको छ ।

कतिपय रोगले महामारीको रुप लिनुमा हाम्रो जीवनशैली र पद्धति जिम्मेवार छन् । बढ्दो जनसंख्याले उत्पन्न गर्ने प्रदूषण कति रोगका वाहक हुने गरेका छन् । असमान भू–धरातल भएको विशिष्ट अवस्थिति अनुसारको भौतिक विकासका पूर्वाधार निर्माण नगरिँदा वातावरणीय असन्तुलन भई बाढी–पहिरो जस्ता विपद्हरुको सामना गर्नुपरेको छ । ‘डोजरे विकास’ भनिने यस्ता निर्माण कार्यमा वातावरणीय प्रभावको मूल्यांकन गर्नेतर्फ गम्भीर ध्यान गएको छैन । जथाभावी वन फँडानी गरिएको छ, बिना वैज्ञानिक अध्ययन सडक खनिएको छ । जल तथा जलाधार क्षेत्रमा अतिक्रमण हुन थालेको छ । जलाधार क्षेत्रमा ढल मिसाइँदा भौतिकदेखि पर्यावरणीय क्षति भइरहेको छ । तर, सरकार, राजनीतिक दलहरु भने सत्ताकै खिचातानीमा अल्झिएका छन् । देश र जनता तमाम विसंगति र पीडा भोग्न बाध्य छन् । तर, अभिभावक भनिने सरकार तथा राजीतिक दलहरु दलीय स्वार्थको हिसाबमै हराएका छन् । जिम्मेवार संस्था र व्यक्ति भ्रष्टाचारमा लिप्त छन्, देश लुट्न उद्यत छन् । संवेदनाशून्य तिनीहरुको दुष्कर्मले जनता सास्ती भोग्न विवश छन् । त्यसैले पनि चेतनाको जागरण गर्दै प्रतिरक्षाको उपाय स्वयम्ले गर्नु आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here