व्यवस्थापन समिति महासङ्घले झापामा बुझायो ज्ञापन

0
58

सुरुङ्गा ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले झापामा पनि ज्ञापन पत्र बुझाएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइ झापामा ज्ञापनपत्र बुझाइएको हो ।

महासङ्घले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विधेयकको मस्यौदाका बारेमा फरक–फरक धारणाहरू सार्वजनिक भइरहेको भन्दै वास्तविकता सरकारले नै बाहिर ल्याउनुपर्नेमा जोड दिएको छ ।

महासङ्घले सरकारले औपचारिक रूपमा विधेयकको मस्यौदा सार्वजनिक नगरेतापनि सरकारको आधिकारिक छाप र दस्तखत भएको दस्तावेज बाहिर आएको र मन्त्रिपरिषद्बाट स्वीकृत भएको भनिएको उक्त विधेयक संसदमा दर्ता नगरी मनोमानीपूर्ण फेरबदल गरिराखेको भन्ने समाचारसमेत सार्वजनिक भएको दाबी गरेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय भएकाले सङ्घीय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेख्न, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावकमध्येबाट राख्न, अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राख्न, जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधि पाँच वर्ष कायम गर्न, खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्न र सामुदायिक विद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवी रूपमा क्रियाशील विद्यालय व्यवस्थापन समितिहरूको राष्ट्रिय छाता सङ्गठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको भूमिकालाई सङ्घीय शिक्षा ऐनमा व्यवस्था गर्न माग गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनै पनि सरोकारवालाहरुसँग छलफल र परामर्शबिना नै तयार गरेको विधेयक मस्यौदालाई अध्ययन गर्दा विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्था त्रुटिपूर्ण रहेको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनैपनि सहभागिता, संलग्नता र भूमिका नरहने गरी विधेयक मस्यौदा तयार भएको बुझिएको महासङ्घले दाबी गरेको छ ।

ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र शिक्षा विकास तथा समन्य इकाइ झापाका शिक्षा अधिकृत भोला दाहालले अलगअलग कार्यक्रमवीच ग्रहण गरेका थिए । मागपत्र ग्रहणपश्चात दुवै कार्यालयले आफ्नो मन्त्रालयलाई पत्राचार गरेको बुझिएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा ज्योति मावि कमल–२ का अध्यक्ष तिलक खडका, सरस्वती मावि कमल–४ का अध्यक्ष दोलखबहादुर रायमाझी, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका सदस्य नरेन्द्र घिमिरे, लालपानी माविका प्रअ बालकृष्ण प्रसाई, जनचेतना आधारभूत विद्यालयका सदस्य जीवनाथ ओझा, भृकुटी मावि दुर्गापुरका अध्यक्ष नवीन बस्नेत, चम्पापुरमाविका अध्यक्ष सीता बस्नेत लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here