इन्टर मियामीले जित्यो लिग्स कपको उपाधि

0
47

झापा । 

लिग्स कप फूटबलको उपाधि इन्टर मियामीले जितेको छ। आज बिहान सम्पन्न फाइनल खेलमा मियामीले पेनाल्टी शूटआउट मार्फत न्याशभिललाई हराउँदै उपाधि जितेको हो।

खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा रोकिएपछि पेनाल्टी शूटआउटमा पुगेको खेलमा मियामी १०-९ गोल अन्तरले विजयी भएको हो।

खेलको पहिलो हाफको २३औं मिनेटमा मियामीका कप्तान लियोनल मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा ५७औं मिनेटमा न्याशभिलका फाफा पिकल्टले गोल गरेपछि दुवै टोली १-१ को स्थितिमा रहे।

पछि पेनाल्टी शूटआउटमा पनि पहिलो पाँच प्रहारमा दुवै टोलीले ४-४ गोल गरेपछि खेल पुनः बराबरीमा भयो र पेनाल्टी शूटआउट चलिरह्यो। अन्तिममा गोलरक्षकहरूले नै पेनाल्टी प्रहार गर्नुपर्ने स्थिति सिर्जना भयो।

यति वेलासम्म दुवै टोलीका नौ-नौ खेलाडीले पेनाल्टी मार्फत गोल गरिसकेका थिए भने एक-एक खेलाडीको प्रहार बदर भएको थियो। शुरूमा मियामीका गोलरक्षक ड्रेक क्यालेन्डर पेनाल्टी प्रहार गर्न आए। उनले आफ्नो प्रहारलाई गोलमा परिणत गरे।

त्यसपछि न्याशभिलका गोलरक्षक एलियट पानिक्को पेनाल्टी प्रहार गर्न आए। उनले गरेको प्रहार क्यालेन्डरले रोके। र, अन्ततः मियामीले पहिलो पटक लिग्स कपको उपाधि हात पार्‍यो।

पाँच वर्षअघि मात्र स्थापना भएको क्लब इन्टर मियामीले आज पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनल खेलिरहेको थियो। र, पहिलो फाइनलमै मियामी उपाधि विजेता भएको छ।

मियामीका लागि विश्वप्रसिद्ध खेलाडी मेस्सीको आगमन निकै सुखद सावित भयो। मेस्सी लिग्स कप अन्तर्गत सात वटा खेलमा १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोलकर्ता पनि बनेका छन्।

साथै, यो उपाधि मेस्सीको खेल जीवनको ४४औं उपाधि हो। अर्थात्, उनी फूटबल जगत्‌कै सर्वाधिक उपाधि चुम्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान ब्राजिलका ड्यानी आल्भेससँग थियो। पीएसजीका लागि लिग वानको उपाधि जितेपछि मेस्सीले आल्भेसँग कीर्तिमानी बराबरी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here