नाग पञ्चमीको विशिष्टता

0
32

आज वैदिक सनातन धर्मावलम्वीहरु नाग देवताको पूजा गर्दैै नाग पञ्चमी मनाउँदैछन् । हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमी तिथिका दिन नाग देवतालाई पूजा आराधना गर्नाले नियमित वर्षा हुने, सुख–समृद्धि बढ्ने, सर्प दंश लगायत सम्भावित अनिष्टबाट बचिन्छ भन्ने जनविश्वास रहेको छ । यही विश्वासका आधारमा नागहरुको विशेष पूजा अर्चना गरी नागपञ्चमी मनाउने हाम्रो परम्परा रहेको छ । नाग देवतालाई श्रद्धापूर्वक पूजा गर्नुका साथै कुनै स्थानलाई फोहोरमुक्त राख्ने उपायका रुपमा नागस्थान स्थापना गर्ने चलन नेपाली समाजमा छ । त्यसै अनुसार नागस्थान स्थापना गरी नागको प्रतिमा वा तस्वीरमा पूजा गर्ने, घरको ढोकामाथि नागका चित्र टाँस्ने आदि नागपञ्चमी मनाउने परम्परा हो ।

नागपञ्चमीका दिन ब्राह्मण पुरोहितहरु आफ्ना जजमानहरुका घर–घर गएर नागका चित्र अङ्कित तस्वीर टाँस्ने गर्छन् । घरको मूल ढोकामा गाईको गोबरले नागको चित्र टाँसेर दुबो लगाएर पूजा गर्नाले वर्षभरि रक्षा हुने विश्वास छ । यसरी नागको चित्र टाँस्न आउने ब्राह्मण पुरोहितलाई दक्ष अनुसार दक्षिणा, प्रसाद वा भोजन गराएर पठाउने प्रचलन रहेको छ । नागको विशेष पूजाका लागि दूध, मिठाई फलफूल र धान भुटेर तयार हुने लाजा अनिवार्य हुन्छ । बोलीचालीमा सर्प भनिने सरिसृप प्रजातिको नाग नेपालमा मात्रै झण्डै नब्बे जातका छन् । ती मध्ये सत्र प्रजातिका सर्पलाई विषालु मानिन्छ । सर्पले टोकेमा मानिसको मृत्यु हुनसक्ने भएकाले सर्प देख्नासाथ मारिहाल्ने प्रवृत्ति छ । तर, सर्पहरु वातावरण, पारिस्थितिक प्रणाली र खाद्य श्रृंखलाको एक महत्त्वपूर्ण हिस्सा हुन् । जसले खाद्यबालीमा लाग्ने शत्रुजीव खाइ दिएर किसानलाई सहयोग नै गर्छन् । त्यसैगरी कतिपय औषधीय योगदान दिने हुनाले सर्पलाई मानिसको मित्र पनि मानिन्छ ।

पौराणिक कथा अनुसार हस्तिनापुरका राजा परिक्षितलाई नागले डसेर मृत्यु भएपछि रिसाएका बुवा जन्मजेयले तक्षक लगायत सम्पूर्ण नागको संहार गर्ने उद्देश्यले यज्ञको आयोजना गरेका थिए । उनको यज्ञमा सबै सर्प डढेर भष्म भए तर तक्षक भगवानको शरणमा परेर प्राण रक्षका लागि अनुरोध गरेका थिए । आफ्नो शरणमा परेका तक्षकलाई लिएर स्वर्गमा राजा इन्द्र यज्ञस्थल आएर जन्मजयसँग उसको जीवन रक्षा गर्न अनुरोध गरेपछि पुत्र वियोगमा रहेका राजा जन्मजेयले माफी दिए । त्यहीकारण यज्ञकुण्डमा मारिएका सबै सर्पले पनि पुनर्जीवन पाएका थिए भन्ने कथन छ । जे होस् वैदिक संस्कृतिले सम्पूर्ण जीव र वनस्पति लगायतको अस्तित्व स्वीकार तथा सम्मान गर्न सिकाउँछ । यसले हामी सबैको कल्याण हुन्छ र पृथ्वीको पनि रक्षा हुन्छ । तसर्थ, हाम्रा विविध परम्पराहरुलाई अविच्छिन्न बनाउनुपर्छ । यसले पूर्वीय दर्शनको उच्चतालाई कायम राख्छ र हाम्रो पहिचान पनि सम्बद्र्धन गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here