‘बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

0
31

नवलपुर,

बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै बस्ती जोगाएको छ ।

“गएका वर्षमा नारायणी नदीमा बाढी आएपछि नदी किनारका बासिन्दा सुरक्षित ठाउँ खोजेर जानुपर्ने अवस्था थियो”, गैँडाकोटका ७८ वर्षीय यमलाल विश्वकर्माले भन्नुभयो, “नदीमा बाढी आए पनि अहिले ढुक्कसँग घरमै बस्नसक्ने अवस्था सिर्जना भएको छ ।” बर्सेनि बाढी आउँदा कटान हुने क्षेत्र गैँडाकोट–५ कुसुमघाटका स्थानीयले सास्ती भोग्दै आएकामा तटबन्ध निर्माणपछि समस्या समाधान भएको उहाँले बताउनुभयो ।

नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले गत वर्ष नवलपुरतर्फ नदी किनारमा ‘बिग बोल्डर’ निर्माण गरेपछि बाढीबाट हुने कटान रोकिएको हो । बाढी आउँदा रातभरि सुत्न नसकिएको स्मरण गर्दै तटबन्धको व्यवस्थापनपछि ढुक्कसँग बस्ने वातावरण बनेको स्थानीय बताउँछन् ।

गत वर्षदेखि यस क्षेत्रमा नदीको कटान पूर्णरुपमा रोकिएको विश्वकर्माले बताउनुभयो । “विभिन्न ठाउँबाट टिपरमा ल्याइएका ठूलाठूला ढुङ्गा नदी किनारमा हालिएका छन्”, उहाँले भन्नुभयो, “नदीमा आएको बाढीले माटो भेट्दैन ठूला ढुङ्गा बगाउन र फुटाउन नसकेपछि बस्ती जोगिएको हो ।”

विश्वकर्माका अनुसार बाढीले बर्सेनि यहाँको खेतीयोग्य जमिन बगरमा परिणत गर्नुका साथै यहाँका बासिन्दालाई विस्थापित गर्दै आएको थियो । “बाढीले मेरो पनि नदी किनारमा भएको जमिन काटेको थियो”, नारायणीको किनारमा राखिएका ठूला ढुङ्गा देखाउँदै उहाँले भन्नुभयो, “पोहोर साल यी ढुङ्गा नराखेको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउने थियो ।”

नदी व्यवस्थापन कार्यालयले नदीको व्यवस्थापनअन्तर्गत तटबन्ध लगाउने काम गरेसँगै यहाँका बस्ती विस्थापितक्रम रोकिनुका साथै नदी किनारमा ठूलाठूला होटल खुल्न सुरु भएका स्थानीय मनिषा पौडेलले बताउनुभयो । “नदी किनारका बासिन्दा डराउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “पहिले त यहाँको जमिन बेचेर अन्तै सर्नुपर्छ कि भन्ने सोच आएको थियो, अब भने ढुक्क भएका छौँ ।” नदी कटान नियन्त्रण भएसँगै जीविकोपार्जन गर्न सहज भएको उहाँको भनाइ थियो ।

नारायणी नदीमा यस वर्ष दुईपटक ठूलो बाढी आयो । नदीमा आएको बाढीका कारण अन्य पालिकामा कटान गरेको भए पनि गैँडाकोटको वडा नं ५ सुरक्षित बनेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर शङ्कर बुढाथोकीले बताउनुभयो । “नदी व्यवस्थापनको काम हुन नसकेको जोखिमपूर्ण क्षेत्रअन्तर्गत मध्यविन्दुको केही वडामा कटान गरेको छ”, उहाँले भन्नुभयो, “कुसुमघाट लगायतका क्षेत्रमा भने व्यवस्थापनको काम भएकाले कटान रोकिएको छ ।”

बुढाथोकीका अनुसार गैँडाकोटमा नदी व्यवस्थापनको कामसँगै नदी किनारमा जैविक करिडोर निर्माण हुँदैछ । पहिलो चरणमा नदी व्यवस्थापनको काम सकिएको भन्दै उहाँले दोस्रो चरणमा जैविक करिडोर निर्माणका लागि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“गैँडाकोटको नदी किनारका चार वडालाई समेट्ने गरी नदी व्यवस्थापनसँगै जैविक करिडोर निर्माणको काम हुँदैछ”, इञ्जिनियर बुढाथोकीले भन्नुभयो, “यो काम सकिएपछि बस्ती पूर्णरुपमा सुरक्षित हुनुका साथै विभिन्न आर्थिक गतिविधिमा समेत वृद्धि हुने हामीले अपेक्षा लिएका छौँ ।” विसं २०८२ जेठमा सकिने गरी गैँडाकोटको नारायणी नदी किनारमा पाँच किमी ड्यामसँगै जैविक करिडोर निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here