सतासीधाम वनमा भ्रष्टाचार, ७ जना पक्राउ

0
35

झापा ।

काठ चोरी तस्करीमा संलग्न भएको आरोपमा जिल्ला वन कार्यालय इलामले सामुदायिक वनका पदाधिकारी तथा वनसँग सम्बन्धित व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

सतासीधाम सामुदायिक वन उपभोक्ता समूह माई नगरपालिका–८ इलाम÷शिवसताक्षी नगरपालिका–८ झापाका अध्यक्ष हेमबहादुर थापासहित सात जनालाई जिल्ला वन कार्यालय इलामले पक्राउ गरी हिरासतमा राखेको छ । सामुदायिक वनका संस्थापक अध्यक्ष जगतबहादुर श्रेष्ठ (गोपाल) ले अवैध रुपमा २४ वटा साखु जातको ठाडो काँचो रुख काटेको भन्दै जिल्ला वन कार्यालयमा किटानी जाहेरी दिएपछि जिल्ला वन कार्यालय इलामले प्रारम्भिक चरणमा सात जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

जस अनुसार सामुदायिक वनका परिषद् सदस्य बद्री थापा, टोल नं. ८का टोली प्रमुख शेरबहादुर बुढाथोकी, कार्यालय सचिव केदार भट्टराई, चेन स मेसिन चलाउने व्यक्ति सुमन राई, ट्रयाक्टर चालक पदम तामाङलाई पक्राउ गरी कारवाहीको प्रक्रिया शुरु गरेको छ । त्यस्तै आइतबार चेन स मेसिन चलाउने अर्का व्यक्ति महमाई–८ इलाम बस्ने धनबहादुर राईलाई पक्राउ गर्ने तयारी गरेको बताइएको छ ।

शिक्षक तथा सामुदायिक वनका लेखा संयोजक इन्द्र प्रसाईलाई भने वन कार्यालयले खोजेको बेला हाजिर हुने शर्तमा जमानतमा छाडेको वन कार्यालय इलामले जनाएको छ । समूहका उपाध्यक्ष खेम बुढाथोकीलाई भने आइतबार पक्राउ गर्ने स्रोतले बताएको भए पनि हालसम्म उनी सम्पर्कमा नरहेको जिल्ला वन कार्यालय इलामका डीएफओ दानबहादुर श्रेष्ठले जानकारी दिए । उपाध्यक्ष बुढाथोकी काम विशेषले घरभन्दा बाहिर रहेकाले पक्राउ नपरेका हुन् । शनिबार वन विभागको टोलीले घरसम्म गएर पक्राउ गर्ने कोशिस गरेको थियो तर घरमा नभएको भन्दै आइतबार उपाध्यक्ष बुढाथोकी आफैं जिल्ला वन कार्यालय इलाममा उपस्थित हुने बताइएको थियो ।

यता टेलिफोन सम्पर्कमा आएका बुढाथोकीले स्वास्थ्यको कारणले सामुदायिक वनको जङ्गल क्षेत्रमा आफू पुग्न नसकेको र आफू राजनीतिक क्षेत्रको व्यक्ति भएकोले सामुदायिक वनको गतिविधि सम्बन्धी आफूलाई ज्ञान नभएको बताएका छन् । वनलाई दिएको किटानी जाहेरीमा तपाईको नाम परेको छैन ? भन्ने प्रश्नमा नाम नपरे पनि झोसपोलका कारण मलाई वन कार्यालयले खोजिरहेको बुझेको छु, आइतबार वा सोमबार म स्वयम् हाजिर हुन्छु, अन्यथा अदालतमा हाजिर हुन सम्भव भए सोही अनुरुप गर्छु भन्ने जवाफ दिएका छन् ।

काँचो ठाडो रुख कटान गरेको र सम्बन्धित पदाधिकारी तथा सम्बन्धित पक्षलाई कारवाही गर्नका लागि सामुदायिक वनका संस्थापक अध्यक्ष जगतबहादुर श्रेष्ठ (गोपाल)ले जिल्ला वन कार्यालय इलाममा दिएको किटानी जाहेरीमा यस्तो उल्लेख गरिएको छ– चिरान आदेश भन्दा बढी काँचो ठाडो रुख काटेर वन पैदावर अनियमितता गरेको, सामुदायिक वनको समितिले बैंक खाता सञ्चालन नगरी आर्थिक कारोबार गरेको अध्यक्ष थापाले ९ लाख रुपैयाँ व्यक्तिगत रुपमा राखेको लेखा समितिले वन पैदावर अनियमिततामा मिलिभगत गरेको, सामुदायिक वनका उपभोक्ताहरुलाई वन पैदावर वितरण नगरी गैरउपभोक्तालाई बिक्री वितरण गरेको, बिना टेण्डर १७ लाख रुपैयाँ बराबरको वन पैदावर बेचबिखन गरेको, सामुदायिक वन क्षेत्रभित्र पर्ने खयर जातको वन पैदावर समूहकै मिलमा कटान गरी टेकबहादुर दाहालको घर पूर्ण रुपमा खयरको काठबाट निर्माण गरिएको, बिक्रीको लागि समूहमा निर्णय नभएको र लेखा संयोजकको मिलिभगतमा भ्रष्टाचार गरेको, कुकाठको नाममा बिल काटेर बेचेको लगायतको ५ वटा बुँदा उल्लेख गरिएको छ ।

सामुदायिक वनको नियम अनुसार उपाध्यक्ष चिरान समितिमा रहनुपर्ने र न्यायिक समितिको जिम्मेवारी वहन गर्नुपर्ने भएता पनि चिरान समिति नै गठन नगरिएको उपाध्यक्ष बुढाथोकीको भनाइ छ । उनले अध्यक्ष थापालाई उद्धृत गर्दै भने– जिल्ला वन कार्यालय इलामले दिएको चिरान आदेश अनुसारको काठ समयमा निकाल्न नसक्दा त्यस बराबरको सट्टा काठ निकाल्न सकिने बताए । तर, नियमानुसार सामुदायिक वनले इन्भेन्ट्री गरेर तथ्याङ्क निकालेको काठमात्र कटान गर्न जिल्ला वन कार्यालयले अधिकार दिएको हुन्छ ।

सामुदायिक वनले यस आर्थिक वर्षमा कति क्यूविक फिट काठको चिरान आदेश प्राप्त गरेको छ भन्ने प्रश्नमा उनले यकिन परिमाण भन्न सकेनन् । वनसँग सम्बन्धित पक्राउ नपरेका सचिव लगायतका अन्य व्यक्तिहरुलाई समेत सामुदायिक वनले प्राप्त गरेको चिरान आदेशको बारेमा जानकारी रहेनछ । यहाँसम्म कि सामुदायिक वनभित्र तस्करी भएको भन्दै किटानी जाहेरी दिने श्रेष्ठले समेत उपभोक्ता समूहले प्राप्त गरेको यकिन चिरान आदेश भन्न सकेनन् ।

यस विषयमा जिल्ला वन कार्यालय इलामसँग बुझ्दा समेत त्यसको यकिन तथ्याङ्क प्राप्त गर्न सकिएन । तर, अनौपचारिक रुपमा प्राप्त सूचना अनुसार साखु र कुकाठ गरेर ९ सय क्यूविक काठको चिरान आदेश प्राप्त भएको बुझिन आएको छ ।

संस्थापक अध्यक्ष श्रेष्ठले २४ वटा ठाडो रुख काटिएको भने पनि हालसम्म १७ वटा मात्र काटिएको प्रमाणित भएको जनाएका छन् । उक्त परिमाण जिल्ला वन कार्यालयले समेत सदर गरेको छ । जस अनुसार ब्लक नं. ५को भुल्के वन क्षेत्रमा १० वटा रुख काटिएको ठुटा भेटिएको छ । उक्त क्षेत्रमा वन कार्यालयले बरामदी गरेको साखु जातको गोला तथा टुना ७ सय क्यूबिक फिट रहेको छ, त्यसको व्यवस्थापनको लागि जिल्ला वन कार्यालय इलाम लागेको जनाइएको छ ।

त्यस्तै सताक्षीधाम मन्दिर परिसरको २ सय मिटर आसपासमा ५ वटा साखु जातका रुख र १÷१ वटा करम र चाँपको रुख काटिएको टोलीले स्थलगत निरीक्षण गर्दा समेत फेला पारेको छ । ३ सय ६९ हेक्टर क्षेत्रफलमा फैलिएको सतासीधाम सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा लामो समयदेखि अवैधानिक काठ तस्करी भइरहेको बताइएको छ ।

सामुदायिक वनका पक्राउ परेका व्यक्ति तथा काँचो साखु जातको रुख काटेको आरोप लागेर हिरासतमा रहेका विषयमा जिल्ला वन कार्यालय इलामका डीएफओ श्रेष्ठसँग फोन सम्पर्क गर्दा तस्करी मुद्दामा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको घेराभित्र राखिएकोले अन्य संलग्न देखिएका व्यक्तिहरुलाई समेत पक्राउ गर्न लागिरहेको बताएका छन् । पक्राउ परेका व्यक्तिहरु दोषी ठहरिए त्यसको बिगो कति तोकिएला भन्ने प्रश्नमा डीएफओ श्रेष्ठले अन्दाजी १५ लाख रुपैयाँसम्म बिगो र जेलसजायसमेत हुने बताए ।

विगत लामो समयदेखि उक्त सामुदायिक वन क्षेत्रभित्र तस्करीको काम भइरहेको समेत उनले स्वीकारेका छन् । सामुदायिक वनको मुद्दा चर्चित भइरहेको बेला उता खयरको काठबाट निर्माण भएको घरको बारेमा प्रश्न उठ्न थालेको छ । यस विषयमा लेखा संयोजक प्रसाईसँग बुझ्दा आफूहरुले गरेको लेखामा खयर जातको काठको लगत तथा बिल भर्पाई नभेटिएको बताएका छन् भने कुकाठ दाउराको बिल भर्पाई पाइएको उनले बताए ।

यस विषयमा घर मालिकका भतिजा प्रेम दाहालले कुकाठका दाउराको रुपमा आफूले बिलिङ गरी ल्याएर घर निर्माण गरेको बताए । त्यस दाउराभित्र कुन–कुन जातका काठहरु थिए, त्यो आफूलाई थाहा नभएको उनको जिकीर छ ।

सामुदायिक वनले अस्थायी घाटगद्दी तथा शाखा कार्यालय सताक्षीधाम परिसर बिबिक्यू हङकङ पार्कको डाँडामा सञ्चालनमा ल्याएको छ । उक्त अस्थायी घाटगद्दीमा ९६ थान चार तीने, आठ छ, नौ चार, छ चार साइजका फेन्टा राखिएको चौकिदार नरबहादुर राईले बताएका छन् भने मुख्य कार्यालय झिलझिले मावि नजिकको कार्यालयमा कति काठ घाटगद्दी गरिएको छ भन्ने तथ्याङ्क गेटमा ताला लगाइएको र सम्बन्धित व्यक्ति हिरासतमा रहेकाले बुझ्न सकिएन । अस्थायी घाटगद्दीका चौकीदार राईसँग पारिश्रमिक नियमित रुपमा प्राप्त भइरहेको छ कि छैन भन्ने प्रश्नमा विगत चार महिनादेखि पारिश्रमिक समेत आफूले नपाएको उनको भनाइ रहेको छ ।

सामुदायिक वनको मुद्दाको विषय बजारमा चुलिएको बेला निर्वाचित भएर काम शुरु गरेदेखि एकलौटी रुपमा वर्तमान समितिका सीमित पदाधिकारीहरुले आफूखुशी गरिरहेको संस्थापक अध्यक्ष श्रेष्ठले आरोप लगाएका छन् ।

यसैबीच तस्करी बढेको कारण सामुदायिक वन नै जिल्ला वन कार्यालयले फिर्ता लिने देखिएपछि ८२ जना उपभोक्ताहरुले सामुहिक हस्ताक्षर गरी दोषीलाई कारवाही गर्न र सामुदायिक वनलाई उपभोक्ताकै संरक्षणमा राख्न जिल्ला वन कार्यालय इलामलाई निवेदन दिएका छन् । तर, श्रेष्ठले झुक्याएर हस्ताक्षर संकलन गरेकोमा केही व्यक्तिले भने आपत्ति जनाएका छन् ।

किटानी जाहेरी दिने श्रेष्ठले काँचो रुख कटान गरी गैरउपभोक्तालाई बिक्री वितरण गरेको आरोपमा डिभिजन वन कार्यालय इलाममा मुद्दा दायर गरेका हुन् यस मुद्दाको सम्पूर्ण छिनोफानो सम्मानित अदालतले गर्नेछ । जिल्ला वन कार्यालय इलाममा श्रेष्ठले किटानी जाहेरी दिएपछि संलग्न व्यक्तिहरु भागाभाग भएका छन् भने यस विषयले झिलझिले बजार नै उचालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here