गौतम बुद्ध सहित दुई रंगशाला बनाइदिन भारतसँग आग्रह, भारत सकारात्मक

0
24

काठमाण्डौं ।

नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्।

गत जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसगको बैठकमा प्रधानमन्त्री दाहालले मौखिक प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि समावेश थिए । तर भ्रमणको दुई महिना पछि मात्र उनले यो कुरा सार्वजनिक गरेका छन् ।

यसै विषयमा परराष्ट्र मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई पटक पटक घचघच्याइरहेको क्यानका अध्यक्ष चन्दले जानकारी दिएका छन् । आगामी असोज ६ र ७ गते हुने साधारण सभाबाट क्यानको नयाँ कार्यसमिति चयन हुँदैछ। चन्दले नयाँ कार्यसमितिको लागि अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन्।

आउँदो चुनावी साधारण सभाको लागि भेटघाटमा व्यस्त रहेका चन्दले नेपालका दुई रंगशाला भारतले बनाउने प्रस्तव गरिएको बताएका हुन्। संघीय सरकारले गत २०७९ वैसाख २६ मा फाप्ला मैदानलाई विकास समिति मोडेलमा बनाउने योजना बनाएको थियो। सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्षमा अभियन्ता सुवास शाहीलाई नियुक्त गरेको थियो।

सरकारले बजेटमै समावेश गरेर फाप्लालाई रकम विनियोजनसमेत गरेको छ। त्यसैगरी धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको गौतम बुद्ध क्रिकेट रंगशला भने लामो समयदेखि अलपत्र छ।

यसै वर्ष मात्र सरकारले रंगशालाको बाँकी काम पुरा गर्नेगरी जिम्मा लिएको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गत असार १० गते संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गौतबुद्ध रंगशालाको स्वामित्व सरकारले लिने बताएका थिए।

तीन अर्ब ५५ करोड लागत अनुमान गरिएको यो रंगशालाको ३५ प्रतिसत काम सम्पन्न भएको दाबी गरिएको छ । तर ५४ करोड खर्च हुँदा १६ करोडभन्दा धेरै ऋण लागेको भन्दै फाउन्डेसन निर्माणबाट पछि हटेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here