नवजात शिशु बेच्ने अस्पतालका पूर्व मेसु कर्ण पक्राउ

0
41

विराटनगर ।

नवजात शिशु कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णले निःसन्तान दम्पत्तिलाई बेचेको पुष्टि भएको छ ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।
डाक्टर कर्णले ८ देखि १० लाख रुपैयाँ लिएर शिशु बेचेको अनुमान छ । ‘कतिमा बेचेको हो । त्यो विषयमा खुलाउने प्रयास भइरहेको छ,’ डिएसपी दाहालले भने ।

अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशुलाई विराटनगरस्थित ग्रिनक्रस हस्पिटलबाटै बेपत्ता गरेको आरोपमा मोरङ प्रहरीले कर्णसहित दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले उनलाई पक्राउ गरेपछि गत शुक्रवारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका डा. कर्ण मंगलवार दिउँसो डिस्चार्ज भएपछि प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रतिवादी राई अविवाहित किशोरीका प्रेमी हुन् । उनीसमेतको मिलेमतोमा शिशु बिक्री गरिएको अनुमान छ ।

१३ असारमा ती किशोरीले ग्रीनक्रस हस्पिटलमा छोरी जन्माएकी थिइन् । ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएकोमा शिशु र प्रेमी बेपत्ता भएपछि युवती प्रहरीमा पुगेकी थिइन् ।

दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ ।

डा.कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ ।

व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असारमा डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ ।

कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग डा.कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ ।

अन्य केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा.कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here