बुद्धशान्तिमा ‘हाम्री आमा, राम्री आमा’

0
55

सुरेन्द्र भण्डारी
झापा,  झापाको बुद्धशान्ति गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा आठ÷आठवाट आधारभूत तथा माध्यमिक विद्यालय छन् । ती विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको संख्या ६ हजार ५ सय ४४ रहेको गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले जानकारी दिइन् ।
शिक्षा क्षेत्रलाई नयाँ संरचनामा लगिएसँगै आधारभूत तह १–८ लाई मानिँदै आएको छ । तर, शिक्षाको पुरानो संरचनालाई आधार मान्दा कक्षा १देखि कक्षा ५, कक्षा १ देखि कक्षा ८, कक्षा १ देखि कक्षा १० र कक्षा १ देखि कक्षा १२ सम्म यो गाउँपालिकाका चार÷चार वटा विद्यालय सञ्चालनमा रहेको प्राविधिक सहायक भट्टराईको भनाइ छ । जहाँ निम्न आय भएका अभिभावकका छोराछोरी मात्रै पढ्ने गरेको बताइएको छ ।
त्यसो त यो पालिकामा १७ वटा निजी विद्यालयमा ७ हजार ३२ विद्यार्थी अध्ययनरत् छन् । तर, जहाँ सचेत र शिक्षित अभिभावकका छोराछोरी मात्रै पढ्ने गरेका छन् । हुनेखाने वर्गका छोराछोरी निजी विद्यालयमा र विपन्नवर्गका अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा मात्रै अध्ययन गर्ने परिपाटी बढेसंगै गाउँपालिकाले सामुदायिक विद्यालयको थप शैक्षिक गुणस्तर सुधार्न ‘हाम्री आमा–राम्री आमा’ कार्यक्रम लागू गरेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले बताए ।
कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका आमाबुबालाई उनीहरुका छोराछोरीको पढाइका विषयमा ‘मोटिभेशन’ गरिन्छ– उपाध्यक्ष खतिवडाले भने– अभिभावक नै आफ्ना छोराछोरीको पढाइप्रति सचेत भएनन् भने कसरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रिन्छ । त्यसकारण अभिभावकलाई उनीहरुका छोराछोरीको पढाइका विषयमा जानकारी दिन र लिन अभिभावकलाई विद्यालयमा परामर्श दिने कार्यक्रम गर्न लागेका हौं । जसका कारण अभिभावक जागरुक भएसँगै उनीहरुका छोराछोरी पनि पढाइप्रति जागरुक हुन्छन् । कतिपय अभिभावकले आफ्ना छोराछोरीको पढाइका विषयमा चासो नराख्ने र विद्यार्थीले विद्यालयको भरमा मात्रै रहनुपर्ने भएपछि कम्तीमा घरमा पनि आफ्ना छोराछोरीलाई समय दिनुपर्ने रहेछ भन्ने मान्यता स्थाापित गर्न गाउँपालिकाले यो वर्षबाट पाइलट प्रोजेक्टका रुपमा यो कार्यक्रम गर्न लागेको उपाध्यक्ष खतिवडाको भनाइ छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश अभिभावकले आफ्ना छोराछोरी पढ्नका लागि विद्यालय पठाउने तर, उनीहरुको पढाइका विषयमा चासो नराख्दा सोचे अनुसार विद्यार्थीले प्रगति गर्न नसकेको हुँदा अभिभावकलाई नै उनीहरुका छोराछोरीको पढाइप्रति जागरुक बनाउन पालिकाले पहल गर्ने उद्देश्यसहित यो वर्षबाट ‘हाम्री आमा–राम्री आमा’ कार्यक्रम लागू गरिएको हो– उपाध्यक्ष खतिवडाले भने– पक्कै पनि यो कार्यक्रम सफल हुन्छ भन्नेमा हामी ढुक्क छौं ।
शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले अंग्रेजी , गणित र विज्ञान जस्ता विषयमा शिक्षकलाई समेत तालिम दिने र विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्नेसम्मका कार्यक्रम सञ्चालन गर्ने गरिएको उपाध्यक्ष खतिवडाले बताए । उनले भने– आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीलाई जसरी निजी विद्यालयमा पढाउने अभिभावकले सफासुग्घर बनाएर विद्यार्थी पठाउँछन् । त्यस्तै गर्न र बनाउन समेत हामीले शुरु गरेको कार्यक्रमले सिकाउने छ । जसरी निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई अभिभावकले समय दिन्छन्, त्यस्तै सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका आमावुबाले पनि त्यो सिकून् भन्नका लागि यो कार्यक्रम लागू गरिएको छ । जसका लागि बजेट व्यवस्थापन गरिएको छ– उपाध्यक्ष खतिवडाले भने । पछिल्लो समय युवापुस्तामा पुरुषहरु वैदेशिक रोजगारीका लागि विदेश जाने र आमाहरुले मात्रै बालबच्चाको हेरचाह गर्नुपर्ने बाध्यता रहेकाले पनि उनीहरुलाई नैतिक शिक्षा सिकाउन पनि यो कार्यक्रम फलदायी बन्ने उनको भनाइ छ ।
प्रविधिको विकासँगै बालबालिका पछिल्लो समय मोवाइलमा बढी लाग्ने र पढाइप्रति रुची नहुने हुँदा उनीहरुलाई घरमा पनि आमाले हेरचाह गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न यो कार्यक्रम फलदायी हुने हाम्रो अपेक्षा छ– गाउँपालिका उपाध्यक्ष खतिवडाले भने ।
यो कार्यक्रम अन्तर्गत अब बुद्धशान्ति गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा छोराछोरी पढाउने आमाहरुलाई तालिम प्रदान गरिन्छ– उपाध्यक्ष खतिवडाले भने– विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय मात्र पर्याप्त हुँदैन । घर नै पहिलो विद्यालय भएकाले हामी सामुदायिक विद्यालयमा विद्यार्थी मात्रै पढाउँदैनौं, अब उनीहरुका आमाहरुलाई पनि पढाउँछौं । अर्थात् विद्यार्थीको रेखदेख र स्वास्थ्य र शिक्षाका विषयमा तालिम दिन्छौं । पहिलो वर्ष भएकाले यो कार्यक्रमका लागि गाउँपालिकाले चार लाख रुपैयाँ बजेटको व्यवस्था गरेको र यसलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा काम गर्ने उनको भनाइ छ । यो कार्यक्रमका लागि आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाका अभिभावक मात्रै सहभागी हुने उनको भनाइ छ ।
शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा गाउँपालिकाले अन्य थुप्रै कामहरु गरिरहेको र यो वर्षदेखि मात्रै लागू गरिएको कार्यक्रमले पनि सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न सकिने गाउँपालिकाले अपेक्षा लिएको बताइएको छ ।
हाल गाउँपालिकाले बालशिक्षकको सिकाइ सिप विकास, बाल कक्षा तथा दिवा खाजा व्यवस्थापन, अंग्रेजी शिक्षा तहगत रुपमा प्रवद्र्धन, विज्ञान गणित शिक्षण प्रवद्र्धन, सामुदायिक विद्यालय सवलिकरण उत्प्रेरणा कार्यक्रम, राम्रा अभ्यास आदान प्रदान कार्यक्रम, स्थानीय पाठ्यपुस्तक विकास तथा व्यवस्थापन, विद्यालयमा लागूऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम कार्यक्रम, सबै वडामा नमूना वाल कक्षा कार्यक्रम, माध्यमिक तहमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण जस्ता कार्यक्रम सञ्चालन गरिरेहको शिक्षा शाखाकी प्राविधिक सहायक भट्टराईले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here