हवाई यात्रा सुरक्षित गर

0
33

उड्दै गरेको हवाई जहाजमा चरा ठोक्किने घटना विश्वका सबै देशमा हुने गरेका छन् । मौसम परिवर्तनसँगै चराको संख्या बढ्छ र ती चरा खुराकको खोजीमा स्वतन्त्र विचरण गर्दा उड्दै गरेका जहाजमा ठोक्किन पुग्छन्, जसका कारण दुर्घटना हुने गरेको छ । यद्यपि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा हवाई जहाजसँग चरा ठोक्किए पनि ठूलो क्षति भने नभएको बताइन्छ । तर, उड्दै गरेको विमानमा अनायासै चरा ठोक्किँदा ठूलो दुर्घटना र क्षतिको जोखिम रहन्छ, जो उडान कर्मचारीदेखि यात्रीसम्मका लागि चुनौतिको विषय बन्न सक्छ । हाम्रो सुदूर पूर्वको विमान स्थल चन्द्रगढीको धावन मार्गमा चराको बाक्लो उपस्थितिले हवाई उडाइ प्रभावित हुन थालेको छ । कहिले उडान भर्ने क्रममा त कहिले अवतरण गर्न लाग्दा चरासँग विमान ठोक्किँदा उडान नै प्रभावित हुने गरेको हो ।

बर्सेनि भइरहने यस्तो प्रकृतिको दुर्घटना धेरैजसो जाडोयाममा हुने गरेको अध्ययनले देखाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालन महाशाखाले चरा ठोक्किने घटना चाडपर्व र पर्यटक आगमनको समयमा बढी हुने गरेको जनाएको छ । चराविज्ञ हेमसागर बराल पनि चिसोको मौसममा धावनमार्गबाट तातो हावा माथितिर जाने र चरालाई तातो हावा र खुला ठाउँ मनपर्ने भएकाले हवाई उडान जोखिमपूर्ण हुनसक्ने बताउँछन् । जाडोको समयमा चराले बच्चा कोरल्ने भएकाले आहाराको खोजीमा हिँडेका चराको गतिविधि बढी हुने गरेको अध्ययनले पनि देखाएको छ । एकातिर मानिसले उत्सर्जन गर्ने फोहोर चराका लागि आहारा हुन्छ, त्यसमाथि उसलाई आहाराको बढी आवश्यकता पर्दछ । यस्तो बेला अवतरण गर्न लागेको विमानसँग चरा ठोक्किने घटना बढी नै हुने गरेको छ ।

हवाई उडान वा अवतरणको क्रममा कुनै दुर्घटना नहोस् भन्नेतर्फ सचेत हुँदाहुँदै, सुरक्षाको बन्दोबस्त गर्दागर्दै पनि भइरहने यस्ता घटनाका लागि हाम्रो व्यवहार पनि जिम्मेवार छ । जथाभावी फोहोर फ्याँक्ने, प्रकृति एवम् वनजंगलको विनाश गर्ने मानवीय प्रवृत्ति त जिम्मेवार छैन– आत्ममूल्यांकन गर्नुपर्छ । त्यस्तै विमानस्थलको सुरक्षा गर्ने निकाय, विभाग र ट्राफिक व्यवस्थापनले प्रविधिको माध्यमबाट उडानको समय मैदान र त्यसमाथिको आकाश खुल्ला गर्नेतर्फ ध्यान दिनु पर्दछ । हवाई मैदानमा साइरन बजाउनेदेखि सरसफाईसम्मको काम नियमित सञ्चालन गरिनुपर्दछ । त्यसो गर्न सकिएन भने विमान स्थल सुरक्षित हुँदैन र कुनै पनि बेला अप्रिय दुर्घटना हुनसक्छ । त्यसैले पनि सबैभन्दा सुरक्षित मानिएको हवाई यात्रालाई जोखिममुक्त बनाउन सम्बद्ध सबैको सहयोग हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here