लाखे तथा ठाकठुके प्रदर्शन शुरु

0
47

बिर्तामोड ।

बिर्तामोडमा लाखेजात्रा तथा ठाकठुके नाचको प्रदर्शन शुरु गरिएको छ । नेवाः देय् दबू बिर्तामोड नगर समितिको आयोजनामा बिर्तामोड–९ लखीबारीस्थित भिमसेन मन्दिरमा नागपञ्चमीको अवसर पारेर पूजापाठसहित लाखे जात्रा तथा ठाकठुके नाचको प्रदर्शन शुरु गरिएको हो ।

नेवाः देय् दबू बिर्तामोड नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठको अध्यक्षता तथा नेवाः देय् दबू कोशी प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको लाखे उदघाटन कार्यक्रममा बिर्तामोड नगर समिति बरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा नेवाः देय् दबू केन्दीय पार्षद गणेशकुमार शाक्य, बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य केशवकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लाखे नाच प्रतियोगिताको आयोजना समेत गरिएको थियो । बिर्तामोड– २, ९ र १० का लाखे टोलीको सहभागिता रहेको प्रतियोगितामा वडा नम्बर २, १० र ९ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

नेवार समुदायको मौलिक तथा सांस्कृतिक नाचको रुपमा रहेको लाखे नाच नागपञ्चमीबाट शुरु भई कृष्ण अष्टमीका दिन समापन हुने गर्दछ । देशभर नै लोकप्रिय बन्दै गएको लाखे तथा ठाकठुके नाचको यसअघि प्रशिक्षण समेत आयोजना गरेर जातीय संस्कार–संस्कृतिक संरक्षणमा नेवार समुदाय अग्रसर रहेको प्रमुख अतिथि इन्द्रबहादुर श्रेष्ठले बताए ।

कार्यक्रममा बिर्तामोड नेवाः देय् दबू नगर समिति उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, सचिव जीवनकुमार श्रेष्ठ, सदस्य रुद्रमणि प्रधान, नेवाः निशा दबू नगर अध्यक्ष गंगा श्रेष्ठ, लाखे संयोजक मुक्ति श्रेष्ठ, ९ नं. वडा समिति अध्यक्ष रत्नबहादुर श्रेष्ठ, २ नं. अध्यक्ष लोकमान श्रेष्ठ, १० नं. अध्यक्ष दिपक श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नगर समिति सल्लाहकार यज्ञराज श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here