वडाध्यक्षलाई कार्यवाहक नदिन अदालतको आदेश

0
39

झापा ।

वडाध्यक्षलाई कार्यवाहक दिएर विदेश हिँडेका गाउँपालिका अध्यक्षको कदममा उच्च अदालत विराटनगरले रोक लगाएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले, वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोके तापनि राईको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

गाउँपालिका अध्यक्ष राईले वडाध्यक्षलाई कार्यवाहक दिएसँगै गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले उच्च अदालत बिराटनगरमा रिट दायर गरेकी थिइन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यवाहक अध्यक्ष आफू हुनुपर्ने भन्दै उनले रिट दायर गरेपछि उच्च अदालत बिराटनगरले अध्यक्षको कदममा रोक लगाएको हो ।

न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले मंगलबार गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न भनेको हो । यो आदेशसँगै उपाध्यक्ष न्यौपानेले स्वतः कार्यवाहक पाएकी छन् ।

नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले स्थानीय सरकार सञ्चालन ऐनमै अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक दिनुपर्ने कानूनी व्यवस्थाको गाउँपालिका अध्यक्षले उल्लंघन गरेको बताएका छन् । एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिले अध्यक्षले कानूनी प्रावधानविपरीत गरिएको यो कदमले सहमति, सहकार्यको वातावरणमा समस्या आउने चेतावनी दिए ।

अध्यक्ष राई नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने उपाध्यक्ष गाउँपालिकाका ७ वटा वडामध्ये नेकपा एमालेले उपाध्यक्षसहित ४ वडा जितेको छ । कार्यपालिकामा पनि एमालेको एकल बहुमत छ । अध्यक्षले ऐन विपरीत कार्यवाहक दिएपछि अब गाउँपालिका सञ्चालनमा असहज अवस्था आउने चेतावनी एमालेले दिएको छ । उपाध्यक्षसहित गाउँपालिकामा बहुमत एमालेबाट निर्वाचित छन् ।

यसैबीच गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले पनि ७ सय ५३ वटै स्थानीय तहमा संयुक्त सर्कुलर जारी गर्दै सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भए उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने कानूनी व्यवस्था सम्झाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here