लौरो उपहार पाउँदा बृद्धबृद्धा दङ्ग

0
38

हल्दिवारी ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको ॐनमः शिवाय बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ११औं स्थापना दिवस हल्दिवारी–३स्थित रमाइलो चोकमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै मनाएको छ ।

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्द विक्रम गिरीले गरेका थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्यहरुलाई माला र नगदसहित सम्मान गर्नुका साथै ‘बुढेसकालको सहारा’को रुपमा लौरो उपहार प्रदान गरिएको थियो । नगदसहित लौरो उपहार पाउँदा ज्येष्ठ नागरिकहरु खुशीले दंग देखिन्थे ।

सम्मानसहित लौरो उपहार पाउनेमा २१ जना ज्येष्ठ नागरिक छन् । केही ज्येष्ठ नागरिक अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित भए पछि घरमै गएर सम्मान गरिएको थियो । स्थानीय शिवालयमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गिरीले सदस्य स्वास्थ्य सहुलियत छुट व्यवस्था, मृत्यु राहत, नवजात शिशु बचत, क्यूआरमार्फत बचत तथा कर्जा भुक्तानी सुविधा, छात्रबृत्ति, सामुदायिक सहयोग लगायतका कार्यक्रम सञ्चालन गरेको बताए ।

हल्दिवारी–३ ढढुवाचोकमा सेवा केन्द्र विस्तार गरेको संस्थाले कार्यक्षेत्र झापा जिल्लाभरी कायम गरेको छ । पाँच करोडको आर्थिक कारोबार गर्दै आएको संस्थाले ६० लाख नाफा कमाएको अध्यक्ष गिरीले बताए । एक करोड ९० लाखभन्दा बढी शेयर पुँजी रहेको ॐनमः शिवाय बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य एक हजार सात सयभन्दा बढी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गिरीले संस्था स्थापनाको अवसरमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । उक्त अवसरमा चन्द्रप्रसाद गिरी, एलबहादुर गिरी, लवकुश गिरी, पार्वता गिरी, खड्ग गिरी लगायतले मन्तव्य राखेको संस्थाका सचिव शंकर गिरीले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु) ले स्वागत गरेको कार्यक्रम व्यवस्थापक युवराज गिरीले सञ्चालन गरेका थिए । उक्त कार्यक्रमअघि नेपाल दशनामी समाज केन्द्रीय समितिको संयोजनमा अध्यक्ष गोविन्दबिक्रम गिरीले हल्दिवारी–३ रमाइलो चोकस्थित शिवालयलाई एक हजार लिटरको खानेपानी ट्यांकी हस्तान्तरण गरे । प्लाष्टिकको सेवाट्यांकी ॐनमः शिवाय बचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here