लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंलाई घाँटीको क्यान्सर, अमेरिकामा उपचार हुँदै

0
30

काठमाडौं ।

छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं क्यान्सर रोगबाट पीडित भएकी छन् । उनलाई घाँटीको क्यान्सर भएको छ ।

परिवारसहित अमेरिकाको ओहायो शहरमा बस्दै आइरहेकी गुरागाईं अहिले त्यहाँको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत छिन् । हिजोमात्रै उनको थाइराइडको शल्यक्रिया भएको छ । निकटस्थ स्रोतका अनुसार उनी शल्यक्रियापछि ‘रिकभरि’ को चरणमा छिन् ।

स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्ने पनि पारिवारिक स्रोतले बताएको छ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना) की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईँ विगत एक वर्षदेखि हाडजोर्नीसम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् ।

यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पुर्ववत् अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।’

गुरागाईं दम्पत्तिका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन् । नेपालमा इलाम घर भएका उनीहरू १५ महिनादेखि अमेरिकामा बस्न थालेका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूवमा हाल्ने गरेकी थिइन् ।

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूवमा धारावाहिक प्रशारण गरेपश्चात उनीलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ ।- नेपाल प्रेसबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here