ज्ञानबहादुरले पाउने भए घर,रिजन रिबर्थ फाउण्डेशनद्वारा आवास शिलान्यास

0
14

झापा ।

आफ्नै नामबाट ज्ञानेचोक नामकरण गरिएको ज्ञानबहादुर तामाङ अहिले घरबारविहीन भएका छन् । कुनै बेला एक बिगाहा जमिनका मालिका रहेका भद्रपुर–३ निवासी तामाङ आफ्नो कान्छी श्रीमतीसहित लामो समयदेखि अरुको जमिनमा बनाइएको झुपडी जस्तो घरमा कष्टकर जीवन बिताउँदै आएका थिए ।

शहरको रुपमा विकसित हुँदै गएको ज्ञानेचोक जस्तो ठाउँमा करोडौँ मूल्य बराबरको जमिन भएका तामाङ दम्पती अहिले घरबारविहीन भई दयनीय अवस्थामा पुगेको देखेर रिजन रिबर्थ फाउण्डेशन तामाङ दम्पतीको सहयोगमा जुटेका छन् ।

फाउण्डेशन सञ्चालक सञ्जय भुइँमाली र भावना क्षेत्री भुइँमालीले तामाङ दम्पतीको लागि छुट्टै आवास निर्माण अभियानमा जुटेका हुन् । बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फाउण्डेशनले ज्ञानबहादुर तामाङको दुई कोठे आवासको शिलान्यास गरेका छन् । सो आवास निर्माणको शिलान्यास कोशी प्रदेश सांसद भूमिप्रसाद राजवंशी र भद्रपुर–५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले संयुक्त रुपमा गरेका हुन् ।

स्व. लक्ष्मीसिंह राजपुतले भद्रपुर–५ स्थित मेची किनार छेउ रहेको नगरपालिकाको एक कट्ठा ऐलानी जमिन प्राप्त गरेका थिए । त्यहीबाट पाँच धुर जमिन उनका छोरा भीमासिंह राजपूतले आफ्नो बुबाको स्मृतिमा ज्ञानबहादुर तामाङलाई दिने घोषणा गरेका थिए । सोही जमिनमा तामाङ दम्पतीको लागि आवास निर्माण शुरु गरिएको फाउण्डेशन सञ्चालक सञ्जय भुइँमालीले जानकारी दिए । आवास निर्माणका लागि चार लाख रुपैयाँ बढी खर्च लाग्छ ।

विभिन्न दाता र सहयोगी हातहरूबाट डेढ लाख रुपैयाँ सङ्कलन भएर आवास निर्माण थालिएको बताउँदै सञ्चालक भुइँमालीले भने– ‘अब थप रकम जुटाउनुछ, विभिन्न दाताहरूले सहयोग गर्ने आश्वासन र प्रतिबद्धता समेत जनाउनु भएको छ ।’ सो आवाज दसैँ अघि बनाएर हस्तान्तरण गर्ने अभियानमा हामी लागि परेको उनको भनाई छ । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद राजवंशीले ज्ञानबहादुरको आवास निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै वडाध्यक्ष कार्कीले पनि आवास निर्माणमा आवश्यक सरसहयोग गर्ने बताए । कार्यक्रममा वडा सदस्य जेष्ठमल ठाकुर, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खडक लिम्बू, युवा नागरिक समाज भद्रपुरका अध्यक्ष प्रेम खनाल लगायतले बोलेका थिए । स्वागत मन्तव्य फाउण्डेशनका सञ्चालक भावना क्षेत्रीले राखेकी कार्यक्रमको सञ्चालन कला राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here