वैदेशिक रोजगारीका लागि विश्व बजारमा जान खोज्ने नेपाली दिनहुँ ठगिने गरेका छन् । आकर्षक पारिश्रमिक, अवसर र सुविधाको लोभमा सोझासाझा नेपाली ठगिरहेँदा पनि विदेश जानेहरुको लर्को कम भएको छैन । विभिन्न व्यक्ति, संस्था र म्यानपावर कम्पनीबाट विदेश जाने प्रलोभनमा लाखौं रुपैयाँ गुमाउनु परेको समाचार प्रकाशित भइरहँदा पनि ठग्ने र ठगिने क्रम नरोकिनु दुःखद् अवस्था हो । पछिल्लो पटक सामाजिक सञ्जालको इन्स्टाग्राम मार्फत ठगिएको समाचारमा उल्लेख छ । इन्स्टाग्राममा नक्कली विज्ञापन प्रकाशित गरी क्यानडामा मासिक चार लाखभन्दा बढी तलब पाइने भन्दै त्यसका लागि प्रोसेस गर्ने नाममा ठगहरुले चौंतीस लाखभन्दा बढी रकम लिएको प्रहरीले जनाएको छ ।

विदेश जाने मोहमा नेपालीको ठगिने क्रम नियमितता जस्तै भएको छ । विदेश जानका लागि भएको नोकरीसम्म सजिलै त्याग्न सक्ने, जुनसुकै बेला तयार हुने र जसरी पनि जाने मानसिकताले नेपालीको करोडौं रुपैयाँ खेर गइरहेको छ । यस्ता ठगी र उजुरीका आधारमा पक्राउ परेका समाचार प्रकाशित भइरहँदा पनि ठगिने क्रम नरोकिनु युवाहरुको विदेश पलायनको तीब्र चाहनाको परिणाम हो । कतिपय युवा वैदेशिक रोजगारमा असुरक्षित रहेको, ठगी तथा विभिन्न प्रकारका शोषणमा परेको विवरण सार्वजनिक भइरहँदा पनि नक्कली कागज बनाउने, अनलाइनबाटै ठग्ने क्रम रोकिएको छैन । वैदेशिक रोजगारमा नेपाली बढी ठगिनुमा छिटो–छरितो तरिकाले विदेश जाने इच्छा, प्रक्रिया, त्यहाँको नियम, गर्नुपर्ने काम, पाइने सुविधा आदिको जानकारी नलिई विदेश पुग्ने हतार मुख्य कारण हुन् । नेपाली युवाको यही लोभ, मोह र हतारको फाइदा उठाउँदै बिचौलिया र दलालले फाइदा उठाउँदै आएका छन् ।
विदेश जान चाहनेले त्यहाँको लागत, श्रम स्वीकृति, तलब, काम, नीति–नियम, प्रक्रिया र अन्य सुविधाको बारेमा प्रष्ट हुनुपर्दछ । त्यस्तै राज्यले पनि हरेक दिन विदेश जानेको लर्कोलाई स्वदेशमै रोक्ने नीति बनाउनु पर्दछ । वैधानिक र अवैधानिक तरिकाले विदेश पलायन भएका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ राज्यको अग्रसरता हुनुपर्छ । होइन र यही क्रममा लाखौं युवाहरु विदेश गइरहने हो भने देशकै भविष्य असुरक्षित हुनेछ । सक्रिय युवा शक्तिको अभावमा हाम्रो भौतिक विकासका पूर्वाधारहरु मात्र होइन आयोजनादेखि श्रम बजार नै प्रभावित हुनेछ । त्यसैले राज्यले यस्ता ठगीका नाइकेहरुलाई कठोर दण्डको व्यवस्था गरेर, यस्तो अपराध मनोवृत्तिलाई निस्तेज बनाउन प्रभावकारी कदम चाल्नुपर्छ ।



























