कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

0
15

झापा,

मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।

भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आउनुभएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उहाँकी पत्नी शोभा दाहालले बताउनुभयो । उहाँले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको बताउनुभयो ।

प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो । दाहालका चार वर्षीय एक छोरा र १८ वर्षीया छोरी छन् ।

उहाँकी पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेता पनि पत्ता लाग्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । “प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिनुभएको छैन”, उहाँले भन्नुभयो, “कहिल्यै घरझगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाब थिएन । उहाँको खोजीमा सघाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here