आर्थिक पत्रकारितामा जोड

0
15

युद्धबहादुर बोहोरा,
इलाम ।

साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्ट (सावती) द्वारा इलाममा २७ जना पत्रकारलाई आर्थिक पत्रकारिता सम्बन्धी प्रशिक्षण दिइएको छ ।

नेपाल पत्रकार महासंघ, इलाम शाखासँगको सहकार्य तथा सावतीको आयोजनामा दुई दिने ‘वर्कसप फर इकोनोमिक्स जर्नालिष्टस्’ सञ्चालन भएको थियो । ताप्लेजुङ, पाँचथर, इलाम र झापा गरी मेचीका चार जिल्लाबाट २७ जना पत्रकार सहभागी रहेको कार्यशाला समिट होटल इलाममा सम्पन्न भएको महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए ।

कार्यशालामा सावतीका कार्यकारी निर्देशक डाक्टर पारस खरेलले नेपाल–भारत व्यापार सम्बन्ध र सबभन्दा कम विकसित मुलुकबाट विकसितमा पदोन्नति भएपछि नेपालको अर्थतन्त्र र व्यापारमा के प्रभाव पर्छ भन्ने सेसनको सहजीकरण गरेका थिए ।

वरिष्ठ अनुसन्धान अधिकारी क्षितिज दाहालले अन्तर्राष्ट्रिय व्यापारका मान्यता, अवधारणा, मुख्य उपकरण, नेपाल–बंगलादेश व्यापारको अवस्था, हार्मोनाइज्ड सिस्टम, विश्व व्यापारको तथ्याङ्क खोज्ने तरीका, ट्रेड एनालाइसिस, भन्सार महशुल लगायतको बारेमा प्रशिक्षण गराए ।

यसैगरी, सामुदायिक संलग्नता र आउटरिचका डेपुटी टीमलिडर अनिरुद्र न्यौपानेले नेपालमा सार्वजनिक वित्तीय व्यवस्थापन बजेट कागजात, संघीय र प्रादेशिक बजेट चक्रको डाटा, आर्थिक विधेयक, विनियोजन विधेयक सम्बन्धमा आर्थिक पत्रकारलाई प्रशिक्षण दिए ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल राष्ट्र बैंक र समष्टिगत आर्थिक सूचकको बारेमा, बाह्य क्षेत्र सन्तुलन भुक्तानी र सम्बन्धित विषयहरू, देशको वर्तमान आर्थिक तथ्याङ्क सम्बन्धमा पनि जानकारी गराएका थिए । सावती कोषाध्यक्ष निलु थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

उदारीकरण, विश्वव्यापीकरण र विश्व व्यापारसंग सम्बन्धित विषयवस्तुहरूबाट उत्पन्न हुने चुनौतिहरूको सामना गर्न साथै अवसरहरूको सदुपयोग गर्नका लागि सरोकारवालाको क्षमता अभिवृद्धि गराउने मूल उद्देश्य बोकेको दक्षिण एशियाली क्षेत्रीय सञ्जालको रुपमा सावती परिचित छ । ११ वटा गैरसरकारी संस्थाहरूको सञ्जालको रुपमा सन् १९९४ काठमाडौँमा स्थापना भएको सावतीले प्रतिस्पर्धा नीति तथा कानूनका विषयमा समेत अनुसन्धान र वकालत गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here