नवजात शिशु झाडीमा भेटिएको घटना: अभिभावकत्व ग्रहणका लागि खुला अपिल

0
13

पार्थ मण्डल,
झापा ।

दुई साताअघि झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि भद्रपुर नगरपालिकाले सबैमा खुला अपिल गरेको छ ।

नगरपालिकाले सोमबार सूचना जारी गर्दै नवजात शिशु (छोरा)को वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र सूचीकृत हुन आउन आग्रह गरेको छ । गतभदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका–७स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेको थियो ।

रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण रुपमा स्वस्थ शिशुको हकदाबीका लागि नगरपालिकाले भदौ १५ गते सात दिने र भदौ २२ गते तीन दिने सूचना निकालेको थियो । सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदावीका लागि नगरपालिका आएनन् ।

शिशुको हकदाबी गर्न उनका आमाबाबु वा आफन्तहरू सम्पर्कमा नआएको हुँदा, उक्त बालकको पालनपोषण स्वास्थ्य उपचार, शिक्षा तथा बालकको उच्चतम हित सुनिश्चित हुने समेतका कार्यहरूमा अहित नहुने गरी वैकल्पिक हेरचाह गर्न चाहने बालकको आमा वा बुबा तर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४९ (२) र नियमावली २०७८को नियम ५३ (५) बमोजिम ७ (सात) दिनभित्र तपसिल बमोजिमको कागज प्रमाण सहित निवेदन पेश गर्नुहुन सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ ।

‘नगरपालिकाले जारी गरेको सूचनामा आठ वटा बुँदा राखिएको छ’– नगरपालिकाकी उपप्रमुख राधा कार्कीले भनिन्– ‘सूचीकृत हुनेहरूमध्येबाट सबै प्रक्रिया हेरी छनौट हुनेलाई मात्र शिशु जिम्मा लगाइने कानूनमा उल्लेख छ ।’ शिशु भेटिएदेखि नै शिशुलाई धर्मपुत्र बनाउने करिब एक सयभन्दा बढी इच्छुक व्यक्तिहरू सम्पर्कमा आइसकेको बुझिएको छ । इच्छुकहरूमध्ये डाक्टर, इञ्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायी लगायत रहेका छन् । हाल शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनस्र्थापन गृहमा राखिएको छ ।

युवायुवतीले राखेर गएका थिए शिशु

शिशुलाई दुई युवायुवतीले झाडीमा राखेर गएको सीसीटीभी फुटेजमा देखिएको थियो ।

आकाशे रङ्गको कुर्ता र पाइन्ट लगाएकी अन्दाजी १७–१८ वर्षकी युवती र कालो सेतो चेक सर्ट र पाइन्ट लगाएको, पछाडि व्याग भिरेको अन्दाजी २२–२३ वर्षको युवाले ती शिशुलाई सँगै बोकेर ल्याउँदै गरेको किरात कोलोनी भवन छेउको घरमा लगाइएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । शिशु बोकेर सँगै आउँदै गरेका उनीहरूलाई स्थानीय मनिका गिरीले पनि देखेकी थिइन् ।

युवाले ती शिशुलाई अप्ठ्यारो गरी बोक्दा गिरीले कसरी नानी बोक्नुभएको ? भनेर सोधेको स्थानीय परी खवासले जानकारी दिएकी थिइन् । तर, सीसीटीभी फुटेजमा युवायुवतीको अनुहार प्रष्ट नदेखिँदा अझै उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सीसीटीभीको फुटेज हेर्दा शिशु फाल्नेहरू नजिकका नभएको अनुमान गर्न सकिन्छ । शिशुलाई लगाइदिएको बाक्लो खालको टोपी, मोजा, पन्जाबाट ती शिशु गर्मी ठाउँको नभएर पहाडी क्षेत्रको हुनसक्ने अनुमान पनि गरिएको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here