राजमार्ग सीमाङ्कन फेरिएपछि तीन पालिका आन्दोलनमा

0
15

सेलिङ केसी,
बिर्तामोड ।

चुरे तथा भित्री मधेस उपत्यकालाई जोडेर आर्थिक तथा औद्योगिक करिडोरका रुपमा विकास गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको मदन भण्डारी राजमार्गमा राजनीतिक स्वार्थ पूरा गर्न बाटो स्थानान्तरण गर्न लागेको भन्दै चुलाचुली गाँउपालिका, महमाई र शिवसताक्षी नगरपालिका आन्दोलित बनेका छन् ।

नेपाल सरकारको २०७५ ज्येष्ठ ६ गते को निर्णय अनुसार झापादेखि डडेलधुरासम्म मदन भण्डारी राजमार्ग नामकरण गरेर मिति २०७७ ज्येष्ठ १ गते नेपाल सरकारबाट राजमार्गको रेखाङ्कनसमेत स्वीकृत भई काम शुरु भएको सडक अन्तर्गत पर्ने चुलाचुली गापा, माई नपा र शिवसताक्षी नपाको पेरीफेरीमा रेखाङ्कन भएको बाटोलाई बाङ्गोटिङ्गो गरी अन्यत्र लैजान लागेको भन्दै उक्त पालिकाका स्थानीय उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

माई नगरपालिका वडा नं.– ८ भित्रको लाल खोला, दोमुखा, सतासीधाम मन्दिरको दक्षिण खण्ड हँुदै चुलाचुली गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ समेटिएर बेलडाँगी शरणार्थी शिविर, उत्तम चौकसम्मको बीचमा पर्ने पुल निर्माण तथा सडक कालोपत्रे बनाउने कार्यको टेण्डर भई हाल निर्माण कार्य हँुदै आएको थियो । तर नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय सडक विभाग अन्तरगत मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय चाकुपाट, ललितपुर नेपालको मिति २०८०/०५/०७ को च.नं. ४७ को सार्वजानिक सुनुवाई पत्र अनुसार मदन भण्डारी राजमार्ग भनी इलाम जिल्लाको माङ्सेबुङ गाँउपालिकाको मार्चेबुङ चौकदेखि माई नगरपालिकाको शितलीसम्म जोड्ने सडक भनी प्रभावित क्षेत्र माङ्सेबुङ वडा नं. ४ र माई नगरपालिकाको वडा नं. १, २, ३, ६, ७ र ८ भनी उल्लेख भएको र त्यसप्रति स्थानीयहरुको ध्यानाकर्षण भएको एक कार्यक्रममा बताइएको छ ।

नेपाल सरकारले रातो किताबमा पारेर पूर्व मेची–पश्चिम महाकालीको पहाडी भाग छुवाउँदै निर्माण कार्य शुरु गरेको मदन भण्डारी राजमार्गलाई रेखाङ्कन गरिएको ठाँउभन्दा अलग सार्न लागिएको स्थानीयले बुझेपछि चुलाचुली र माई नपा–८ का सरोकारवाला व्यक्तिहरुले संघर्ष समिति गठन गरेर आन्दोलनका चरणबद्ध योजनाहरु सार्वजनिक गरेका छन् । चुलाचुली र माई नगरपालिकाले आन्दोलनका लागि संघर्ष समिति गठन गरिसकेपछि यसै हप्ता शिवसताक्षी नगरपािलकाले पनि आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सर्वदलीय आन्दोलन समिति गठन गरेको छ ।

पूर्वको धार्मिक पर्यटकीय स्थलको गन्तव्यसँग सोझै जोडिने राजमार्ग अन्यत्र सार्ने षड्यन्त्र गरिनु राजनीतिक नेतृत्वको अदूरदर्शिता भएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ् थोप्रा (रोशन)ले बताए । उनले नेपाल सरकारले रेखाङ्कन गरेको स्थानभन्दा एक फुट पनि तलमाथि गर्न नदिने आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उक्त कुरा बताएका हुन् ।

पूर्वको धार्मिक पर्यटकीय स्थल सतासीधाम छोएर पूर्वकै रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखा हुँदै मेची पुग्ने यो राजमार्ग शिवसताक्षी नगरपालिका वडा नं. –१० र ११ को भाग्यरेखा कोर्ने बाटो भएकाले आर्थिक, नैतिक, भौतिक रुपले जस्तोसुकै आन्दोलन गर्नुपरे पनि अगाडि बढ्ने दोमुखाका बुद्धिजीवी मेदनीप्रसाद शिवाकोटीले बताए । सङ्घर्ष समितिले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ– पछिल्लो समय रेखाङ्कन भएको राजमार्गले माई नपा –८ को कुनैपनि भूभाग नसमेटिएका र उक्त राजमार्गको स्थानान्तरण गर्न खोजिएको नेपाल सरकारको औपचारिक निर्णय विपरीत गराउन खोजिएको प्रति सम्पूर्ण वडाबासी तथा राजनीतिक दलले खेद प्रकट गरेको छ ।

पछिल्लो पटकको निर्णयलाई सकार्न सार्वजनिक सुनुवाई वहिष्कार गर्दछौं – विज्ञप्तिमा उल्लेख छ । संघर्ष समितिले गर्ने भनेको सार्वजनिक सुनुवाइ समेत स्थानीय उपभोक्ताहरुले रोकेका माई–८ संघर्ष समितिका संयोजक अमृत मोक्तानले बताए । माओवादी केन्द्रका अध्यक्ष मदनकुमार लोक्ताम, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष यामबहादुर योङ्हाङ, नेकपा एमालेका अध्यक्ष जयकुमार केरुङ, नेपाली काङ्ग्रेसका सभापति वीरबहादुर लिम्बू, राप्रपा नेपालका अध्यक्ष टीकाराम कार्कीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारले मिति २०७५/०२/०५ र २०७७/०२/०१ मा निर्णय भए बमोजिम यस वडामा पर्ने मदन भण्डारी राजमार्ग अन्तरगतको सडक अविलम्व निर्माण कार्यको प्रक्रिया अघि बढाउन माग गर्दछौं । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, राजमार्ग आयोजना निर्देशालय, चाकुपाट ललितपुरलाई विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउँदछौं –विज्ञप्तिमा भनिएको छ ।

दोमुखामा आयोजित कार्यक्रममा रेखाङ्कन भएको बाटोलाई यथास्थितिमा राख्न शिवसताक्षी –१० का वडा अध्यक्ष हर्कबहादुर सिगूको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा दोमुखा धार्मिक पर्यटन बोर्डका अध्यक्ष धनप्रसाद लावती लगायत रहेका छन् ।

कार्यक्रममा चुलाचुली वडा नं. ३ का वडा अध्यक्ष ध्रुब लावती लगायत तीनै पालिकाका संघर्ष समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here