छिमेकी मुलुकका प्रधानमन्त्री मोदीले जे सोचछ्न,गरेरै छाडने उनको दृढ संकल्प

0
11

काठमाण्डौं । 

मोदी आफैंले भने अन्तर्राष्ट्रिय मञ्च तथा घरेलु कार्यक्रममा भारत शब्दको प्रयोगलाई बढावा दिइरहेका छन् । आसियान-इन्डिया सम्मेलनलाई उनले आसियान भारत सम्मेलन भने । जी-२० मा राष्ट्रपति द्रौपदी मुर्मुका लागि भारतको राष्ट्रपति भन्ने शब्द प्रयोग भयो । यसको प्रयोगबारे उनले भन्ने गरेका छन्, ‘भारतले बाहेक अन्य नामले हाम्रो इतिहास भूगोल र एशियालाई सायदै अरुले जोड्नेछ।’

भारत शब्दको प्रयोगबारेको विवाद जी-२० सम्मेलनको दौरान थप प्रखर भयो । संसदको विशेष अधिवेशनमा यसबारे थप बहस हुने निश्चित छ । इन्डिया गठबन्धन बनाएका प्रतिपक्षी दलहरु यसप्रति निकै आक्रोशित छन् । सत्तारुढ भाजपाका नेताहरु यस बहसमा देखिन चाहदैनन् । तर यस एजेण्डालाई राष्ट्रिय स्वयंसेवक संघले मलजल गरिरहेको छ ।

यसका प्रमुख मोहन भागवतले जनताले अब इन्डियाको सट्टा भारत नामको प्रयोग गर्नुपर्ने बताए । सेप्टेम्बर ५ मा भाजपाका प्रवक्ता सम्बित पत्राले आसियान-इन्डिया सम्मेलनमा मोदीलाई इन्डियाको सट्टामा भारतको प्रधानमन्त्री भनिएको उल्लेख गरे । जी-२० सम्मेलनमा पनि मोदीलाई भारतकै प्रधानमन्त्री भनिएको थियो ।

नामको सवालमा भाजपा र आरएसएसको तर्क एउटै छ । इन्डियाले औपनिवेशिक परिवेश चित्रित गर्छ, त्यसैले इन्डियाको सट्टा भारतको प्रयोगबारे विरोध जनाउनु भनेको औपनिवेशिकताको अंशलाई स्वीङ्कार गर्नु भने उनीहरुको भनाइ छ । उनीहरु यो पनि भन्छन्, ‘प्राचीन भारतवर्षको ज्ञानले मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक विकास र सशक्तिकरणका लागि सहयोग पुर्‍याएकाले मुलुकको नाम भारत नै हुनुपर्छ।’

भाजपा इन्डियाको प्रयोगमाथि पूर्ण विरोधमा भने छैन । तर उसले संविधानमै सम्मिलित गरेको अर्को शब्दावलीको प्रयोग गर्न खोजेको छ । संविधानको धारा १ मा भनिएको छ, ‘इन्डिया अर्थात भारत राज्यहरुको संघ हुनेछ।’

अंग्रेजीमा इन्डिया पहिले छ भने हिन्दीमा भारत अर्थात इन्डिया राज्यहरुको संघ हुनेछ लेखिएको छ । भारतमा कानुन निर्माण गर्दा होस् वा सरकारी कामकाजमा इन्डिया वा इन्डियनको सट्टा भारत र भारतीय शब्दावलीनै सबैभन्दा बढी प्रयोग हुन्छ ।

राष्ट्रिय स्वयंसेवक संघ र त्यससँग जोडिएको संस्थाहरुको नाममै भारत छ । जस्तो कि भारतीय जनता पार्टी, अखिल भारतीय विद्यार्थी परिषद्, अखिल भारतीय अधिवक्ता परिषद्, भारतीय किसान संघ, संस्कार भारती र भारतीय मजदुर संघ । सन् १९५१ मा राष्ट्रिय स्वंसेवक संघले भारतीय जनसंघको नाममा दल खोलेको थियो । यसको उद्देश्य इन्डियन नेशनल कंग्रेसको प्रतिपक्षी बन्नु थियो ।

आरएसएएस विचारधाराकाहरु बेलायती र युरोपेलीले इन्डियाको नाम लोकप्रिय बनाएको बताउँछन् । युरोपेलीहरुले मुलुकलाई इन्डिया र त्यहाँका बासिन्दालाई इन्डियन भन्थे । त्यस भूगोलमा शासन गरेका इस्लामिक शासकहरुले भुगोललाई हिन्द र मानिसहरुलाई हिन्दु भन्थे । सिन्धुलाई उनीहरुले गलत रुपमा उच्चारण गरेर हिन्दु भनेको बताइन्छ ।

विष्णु पुराणमा हिमाल र समुन्द्रको बीचको भूगोलमा बस्नेलाई भरत भनिएको छ । यता त्रेतायुगमा अयोध्याका राजा दशरथको छोराको नाम पनि भरत राखिएको थियो । स्वतन्त्रता संग्रामको बखत यिनैलाई आधार मानेर कतिपयले मुलुकको नाम भारत भनिरहेका थिए । रवीन्द्रनाथ टेगोरले लेखेको राष्ट्रगानमा पनि भारत उल्लेख छ ।

राष्ट्रगान ‘बन्दे मातारम’ ले पनि भारतको माताको जय भनेको विचार आरएसएस र भाजापाको छ । मोदी र आरएसएसले इन्डिया वा भारतको बहसलाई सतहमा ल्याएछन् । जसले जे कुरा सहतमा ल्याएपनि त्यसको समाधानको विन्दु भारतीय संविधाननै हो । संविधानले भारत अर्थात् इन्डिया र इन्डिया अर्थात् भारत दुबैलाई स्वीकार गर्छ । वर्तमान बहसले भने भारततर्फ बढी पल्लाभारी गराउन खोजेको छ । अनलाइनखबरमा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here