नेम्वाङको निधनले शोकमा गृहजिल्ला

0
17

मङ्गलबारे (इलाम),

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित हुनुभएको थियो । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तिका रुपमा स्मरण गरेका छन् ।

विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष हुनुभएका उहाँ २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री हुनुभयो । कानुन व्यवसायी र प्राध्यापक समेत रहनुभएका उहाँ २०२९ सालमा अनेरास्ववियुका अध्यक्षसमेत हुनुभयो ।

विसं २०३३ मा राजद्रोहीको मुद्दामा जेल पर्नुभएका उहाँ २०६४ र २०७० मा संविधानसभा अध्यक्ष बन्नुभयो । विसं २००९ मा इलामको सुन्तलाबारमा जन्मिनुभएका उहाँले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकतामा जोड दिनुहुन्थ्यो ।

एमाले इलामका सचिव उमेश गुरुङले उहाँको मृत्युले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताउनुभयो । उहाँकै अध्यक्षतामा नेपालमा संविधान जारी भएको भन्दै नेपाली जनताले नेम्वाङलाई सधै स्मरण गरिरहने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस इलामका पूर्वजिल्ला सचिव राजेन्द्र शर्माले नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोरेको भनाइ व्यक्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) इलामका कार्यालय सचिव तथा प्रदेश परिषद् सदस्य प्रकाश परियारले नेम्वाङको निधनबाट देश र जनताले एक इमान्दार नेता गुमाएको बताउनुभयो ।

किरात याक्थुम चुम्लुङका संस्थापकसमेत रहनुभएका नेम्वाङले संविधान निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै किरात याक्थुम चुम्लुङका सङ्घीय सचिव अभिषेक एक्तेनले नेपाली जनतालाई उहाँलाई सदैव स्मरण गर्ने बताउनुभयो ।

नेम्वाङको निधनको शोकमा एमालेले पार्टीको झण्डा आधा झुकाएको छ । पार्टीले तीजलगायतका कार्यक्रम रद्द गरेको एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here