रुपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी – महामन्त्री शर्मा

0
14

बिर्तामोड।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक उपलब्धीको स्थायित्व र समाज रुपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महामन्त्री शर्माले भन्नुभयो–‘चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हो । तर देश बनाउन र समाज रुपान्तरण गर्न कांग्रेस अभियान मजबुद बनाउनुपर्छ ।’

‘देश बनाउने सपना साकार पार्न तपाईहरु एकजुट हुन जरुरी छ, एकजुट भएर पाँच नम्बर क्षेत्रीय समितिलाई मजबुद बनाउनुस्’ शर्माले भन्नुभयो–‘वडा, गाउँ÷नगर, क्षेत्र आदि सशक्त भयो भने देश आफैं बन्छ ।’ संविधान निर्माण र राजनीतिक उपलब्धी हात पार्ने कुरामा नेपाली कांग्रेसले सँधै नेतृत्वदायी भूमिका खेलेको बताउँदै शर्माले प्राप्त उपलब्धीको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

राम्रा कामको अनुकरण र प्रसंशा जुनसुकै दलबाट गर्न सकिने बताउँदै नेता शर्माले संविधान निर्माणका क्रममा तत्कालीन सभामुख सुवास नेम्बाङको शालीनता र भद्रताको प्रसंशा गर्दै नेम्बाङको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य र गोमा भट्टराई, झापा सभापति देउकुमार थेवे, कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, प्रमोदहरी गुरागाई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले समितिले हालसम्म गरेका काम र भावी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत उपसभापति रवि केसी र सञ्चालन सचिव धर्मानन्द भट्टराइले गर्नुभएको थियो ।

स्थानीय पशुपति मन्दिरको सभाहलमा आयोजित कार्यक्रमका बीच सामुहिक दर समेत खुवाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here