चितवन,
रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए ।
रक्तदातामध्ये तीन सय ५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन् । जसमध्ये दुई जना फरक क्षमताका हुनुहुन्थ्यो । क्लबले ठूलो सङ्ख्यामा पहिलोपटक रक्तदान गर्ने वातावरण सिर्जना गरेको क्लबका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरमा रक्त सङ्कलन केन्द्र (ब्लड बैंक) स्थापना गर्न लागेको बताउनुभयो । सबै वडालाई वर्षमा तीन पटक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो । रगतको चरम अभाव भएको अवस्थामा मानवीय सेवामा जुटेकोमा रोटरीलाई उहाँले धन्यवाद दिनुभयो ।
न्यू क्यापिटल कलेज रत्ननगरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई रोट–याक्ट क्लब अफ रत्ननगर, इन्ट–याक्ट क्लब अफ स्काइराइडर, स्पाउस क्लब अफ रत्ननगर र इन्ट–याक्ट क्लब अफ न्यू क्यापिटल कलेजले सहयोग गरेका थिए ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गर्मी मौसममा रगतको कम भइरहेको अवस्थामा भएको ठूलो रक्तदान कार्यक्रमले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले यो वर्षको एकै दिन एकै ठाउँमा सबैभन्दा बढी रगत सङ्कलन भएको जानकारी दिनुभयो ।