उडन तस्तरी र एलियन के साँच्चै छन् त ?

0
13

हामीले धेरै वर्ष पहिलेदेखि अर्कै ग्रहबाट आउने उडन तस्तरी र त्यसमा सवार एलियनका बारेमा सुन्दै आएका छौं । उडन तस्तरी र एलियनका आकार–प्रकार र स्वरुपबारे पनि चर्चा सुनेका छौं । निकै नै रहस्यमयी र तिलस्मी लाग्ने कथाका रुपमा मानिसहरुले सुन्दै आएका चाखलाग्दो कुरा हो उडन तस्तरी र एलियन । यस्तै कथन यहाँ प्रस्तुत गर्दछु जसले यसबारे बुझ्न केही सजिलो हुने विश्वास लिएको छु ।

अमेरिकी कांग्रेसको एक समितिका सदस्यहरूलाई अमेरिकी नौसेनाका लडाकू विमानहरूको क्यामेराले आकाशमा खिचेका तीन वटा भिडियोहरू देखाइएको थियो । भिडियो फुटेज धेरै पहिले लीक भए पनि अमेरिकी रक्षा मन्त्रालयले यसलाई सन् २०२० मा मात्र आधिकारिक रुपमा सार्वजनिक गरेको थियो । यसलाई युट्युवमा लाखौंले हेरिसकेका छन् साथै कंग्रेसनल कमिटीका सदस्यहरूले आफ्नो उद्देश्य सत्यको तहसम्म पुग्नु रहेको बताएका छन् ।

अमेरिकाको पेन स्टेट युनिभर्सिटीका इतिहास र बायोएथिक्सका प्राध्यापक ग्रेग एजिगियनका अनुसार, सदियौंदेखि मानिसहरुले आकाशमा रहस्यमयी वस्तुहरु देख्दै आएका छन् । उनका अनुसार, अनआइडेन्टिफाइड अब्जेक्ट (यु.एफ.ओ.)को बारेमा चर्चा पहिलो पटक सन् १९४७ मा शुरु भएको थियो जब केनेथ अर्नोल्ड नामका एक निजी पाइलटले अमेरिकाको वेस्ट कोस्ट नजिकै उडानको क्रममा आकाशमा एक विशेष संरचनामा केही चीजहरू द्रुतगतिमा उडिरहेको देखेका थिए । चाँडै नै यो खबर आगो जस्तै फैलियो र एक पत्रकारले यसको नाम उडन तस्तरी राखिदिए । पछि यस्ता उड्ने रहस्यमय वस्तुलाई यू.एफ.ओ. भन्न थालियो र यो विश्वास गरिएको थियो कि यी चीजहरू अर्को ग्रहबाट आएका हुन सक्छन् । त्यसपछि, यूएफओ देखेका दाबी गर्ने घटनाहरू तीव्र रूपमा बढ्न थाले ।

सन् १९५० को दशकमा यूएफओ उपस्थितिको घटनाहरूको लहर चलेको थियो । अमेरिकाको वासिङ्टन, युरोपमा इटाली र स्पेन तथा त्यसपछि ल्याटिन अमेरिकाबाट युएफओ देखिएको खबर आएको थियो । सन् १९५४ मा फ्रान्सबाट त्यसपछि ७०, ८० र ९० को दशकमा पनि यस्ता समाचारले निरन्तरता पाए । यी रिपोर्टहरूको कारणमा केही हदसम्म शीतयुद्ध थियो, जुन अमेरिका, उसका सहयोगीहरू र सोभियत संघबीच लगभग ४५ वर्षसम्म जारी रह्यो । त्यस समयमा दुबै खेमाले एकअर्काको बारेमा खुफिया जानकारी संकलन गर्ने विभिन्न तरिका अपनाइरहेका थिए । त्यस्तै अन्य ग्रहमा बस्ने एलियनहरुले हिरोशिमा र नागासाकीमा आणविक आक्रमण देखेको हुन सक्ने र जिज्ञासा वा डरका कारण उनीहरुले पृथ्वीको चक्कर लगाइरहेका छन् भन्ने धारणा मानिसहरुमा थियो । दोस्रो कारण यो थियो कि सन् १९५० को दशकमा धेरै देशहरूबीच चन्द्रमा वा त्यसभन्दा पनि अगाडि पुग्ने होडबाजी चलेको थियो ।

यूएफओको बारेमा धारणाहरू स्पेस एजको समयमा विज्ञान कथा पुस्तकहरू र चलचित्रहरूद्वारा पनि प्रबलित गरिएको थियो । प्रविधिको सम्भाव्यता बढ्दै गएपछि पहिलो पटक चन्द्रमा वा मंगलग्रहमा मानिस बस्ने सम्भावनाबारे चर्चा भइरहेको थियो । पक्कै पनि मानिसहरूले सोच्न थालिसकेका थिए कि यदि हामीसँग यो क्षमता हुन सक्यो भने हामीभन्दा बढी विकसित सभ्यताहरूमा पक्कै पनि अधिक क्षमता र प्रविधि भएका देख्न पाइनेछ । दशकौं पहिलेदेखि यस विषयमा मिडियाको चासो निकै बढेको छ र यसको विस्तृत चर्चा हुन थालेको छ, ग्रेग अजिगियन बताउँछन् ।

२३ वर्षदेखि यूएफओ सम्बन्धी समाचारमा रिपोर्टिङ गरिरहेकी एक खोजी पत्रकार लेस्ली कीनका अनुसार, सन् २०१० देखि अमेरिकी रक्षा मन्त्रालयले युएफओका बारेमा जानकारी संकलन गर्न गोप्य कार्यक्रम सञ्चालन गरिरहेको छ, जसलाई अहिले उनीहरूले यूएफओको साटो अनआइडेन्टियल एनोमलस फेनोमेना वा यु.ए.पी. भन्छन् । युएपी भन्नाले नबुझिएका यस्ता रहस्यमयी कुरा वा घटनालाई बुझाउँछ ।
दोस्रो कुरा, अब आकाशमा मात्र होइन, पानीमुनि पनि अनौठा, रहस्यमयी कुराहरू देखापरेका समाचारहरू आइरहेका छन् । यस्तो अवस्थामा यी रहस्यमय घटनाहरूलाई व्यापक रूपमा परिभाषित गर्न उनीहरूलाई युएपी भनिँदैछ । यसै वर्षको जुनमा लेस्ली कीनले डेभिड ग्रोस नाम गरेका एक पूर्व वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीसँगको अन्तरवार्तामा आधारित अर्को स्टोरी प्रकाशित गरेकी छिन् । उनले अमेरिकाले धेरै वर्षदेखि एउटा गुप्तचर परियोजना सञ्चालन गरिरहेको दाबी गरिन्, जस अन्तर्गत दुर्घटनाग्रस्त युएपीलाई क्याप्चर गरिन्छ र ती वस्तुका अवशेष र सम्भवतः तिनका चालकको रिभर्स इन्जिनियरिङको माध्यमबाट अध्ययन गरिन्छ ।

लेस्ली कीनको भनाइमा यो निकै महत्वपूर्ण दाबी हो । धेरै मानिसहरूले यो पनि भने कि डेभिड ग्रोसले यू.ए.पी.को अवशेषहरू न त देखेका छन् न त छोएका छन् । तर, ग्रोसले युएपी कुन दिन र कहाँ खसेको थियो, कसले यसलाई आफ्नो कब्जामा लिएको थियो भनेर व्याख्या गरे तर यो सार्वजनिक भने भएको छैन । यसलाई अमेरिकी कंग्रेसले मात्र सार्वजनिक गर्ने अनुमति दिन सक्छ ।
अहिलेसम्म युएपीको रिभर्स इञ्जिनियरिङको कुनै परियोजना छैन । डेभिड ग्रोसले अमेरिकी संसदको सुनुवाइमा सपथ लिएर आफ्नो बयान दिएका छन् । यस क्रममा भूतपूर्व सैनिक अधिकारीहरूले पनि आफ्नो अनुभव सुनाएका थिए । संसदीय समितिको सुनुवाइको उद्देश्य सरकारले यस विषयमा केही लुकाइरहेको छ कि छैन भनेर पत्ता लगाउनु हो ।

युएफओहरू वास्तवमै अस्तित्वमा छन् भने यो हवाई ट्राफिक सुरक्षा र राष्ट्रिय सुरक्षाको मुद्दा पनि हुनुपर्छ । यो एक फरक संसार हो । सांसदहरूलाई धेरै खुफिया जानकारी दिइएको छ, त्यसैले उनीहरूले यसलाई अति गम्भीरतापूर्वक लिइरहेका छन् तर संसारका आम मानिसलाई पनि यो जान्न पाउने अधिकार छ कि ब्रह्माण्डमा पृथ्वी बाहिर पनि जीवन छ । जसको प्रमाण छ ।
एडम फ्रान्क युनिभर्सिटी अफ रोचेस्टरमा खगोल विज्ञानका प्राध्यापक हुन् –उनी भन्छन्– अहिलेसम्म विज्ञानले यस विषयमा धेरै काम गर्न सकेको छैन । अधिकांश जानकारी मानिसहरूले सुनेका कथाहरूमा आधारित छन् । मानिसको स्मृति कुनै पनि कुराको भरपर्दो प्रमाण होइन । वैज्ञानिकहरूसँग यसमा काम गर्न आवश्यक जानकारी छैन । तर, अहिले समय परिवर्तन भइरहेको छ । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले अन्य ग्रहमा जीवन वा उन्नत प्रविधिको खोजीका लागि ताप सिग्नेचर पत्ता लगाउन शुरु गरेका छन् ।

सौर्यमण्डलमा चार सय अर्ब तारा छन् र त्यहाँ धेरै ग्रहहरू छन् । एलियनहरू उनीहरू बस्ने ग्रहहरूमा फेला पर्न सक्छन् । अमेरिकी कंग्रेसको समिति समक्ष नेभी पाइलटको बयानबारे एडम फ्रान्क भन्छन्– पारदर्शी तरिकाले छलफल र अनुसन्धान गर्दा राम्रो हुन्छ । यो सबै एक्स–फाइल्सको एक एपिसोड जस्तो देखिन्छ । यो विश्वास गर्न गाह्रो छ कि विगत सत्तरी वर्षमा, कसैले पनि एलियन वा युएपीको अवशेषको कुनै सटिक तस्वीर फेला पार्न सकेको होस् ।

तारा र सौर्य मण्डलबीचको अन्तराल यति लामो हुन्छ कि तिनको गणना गर्दा मानिसहरुको मन भौंतारिनेछ । त्यसैले यदि कुनै जीव वा सभ्यतामा यति उन्नत प्रविधि छ कि उनीहरु यति लामो दूरीको यात्रा गर्न सक्छन् भने पृथ्वीमा उनीहरुको यान दुर्घटना भयो भन्नु अविश्वसनीय देखिन्छ । नासाका वैज्ञानिकहरूले भिडियोको मूल्यांकन गरेका थिए जसमा कुनै वस्तु उडिरहेको देखिन्छ । तर, यसको गति ४० माइल प्रतिघण्टा मात्र थियो, जुन एक्स्ट्राटेरेस्ट्रियल गति होइन । हामीसँग जेम्स वेब जस्ता शक्तिशाली टेलिस्कोपहरू छन् । जसले धेरै प्रकाश वर्ष टाढा अन्य ग्रहहरूमा एलियनको संसारमा हेर्न सक्ने क्षमता राख्छ । यदि त्यहाँ अक्सिजन छ भने यो टेलिस्कोपले पत्ता लगाउन सक्छ । हामीले त्यो ग्रहको बायोसिग्नेचर प्राप्त गर्नेछौं । जसले त्यहाँ कस्तो प्रकारको जैविक विविधता छ भनेर देखाउनेछ एस्ट्रोबायोलोजीमा जुन प्रकारको क्रान्ति आउँदैछ, त्यसले पृथ्वी बाहिर जीवन छ कि छैन भन्ने कुरा यो पुस्तालाई थाहा हुने देखिन्छ ।

बेलायतस्थित एक संस्था सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स (सेटी)को पोस्ट डिटेक्सन हबको सदस्य चेल्सी हेरेमियाका अनुसार, यसको डिटेक्सन हबको काम भनेको एलियन्स पत्ता लागेमा आफ्नो टेक्नोलोजीको सामना गर्न मानिसलाई कसरी तयार गर्ने भन्ने हो । चेल्सी हेरेमियाका अनुसार, एलियन पत्ता लागेमा के गर्ने भन्ने सूची हामीसँग छैन । सरकारहरूका लागि यस प्रकारको वैज्ञानिक प्रविधि, सूचना र समन्वय एकअर्कासँग आदानप्रदान गर्न धेरै चुनौतीपूर्ण हुनेछ । मानवताको इतिहासमा यस महत्वपूर्ण समयमा नैतिक रूपमा कार्य गर्नु पनि धेरै महत्वपूर्ण हुनेछ ।

पूर्व र वर्तमान गुप्तचर अधिकारीहरू, व्हिसलब्लोअरहरू र उनीहरूले युएपीहरू देखेको विश्वास गर्ने व्यक्तिहरू भन्छन् कि जीवन पृथ्वी बाहिर पनि अवस्थित छ । तर, वैज्ञानिकहरूले यसलाई तबसम्म स्वीकार गर्ने छैनन् जबसम्म उनीहरूसँग अनुसन्धान गर्न सकिने बलियो प्रमाणहरू छैनन् । यद्यपि, ग्रेग एजिगियनको विश्वास छ कि युएपीहरू हाम्रो सामाजिक वास्तविकता हो । हामीले तिनीहरूलाई हाम्रो सामाजिक वास्तविकताको एक भाग बनाएका छौं । त्यसैले अब यसको गहिराइमा अध्ययन गर्न जरुरी छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here