विद्युतीय तारले यातायात सञ्चालनमा समस्या

0
14

उमानाथ भण्डारी,
कमल ।

विद्युतीय तारका कारण मुख्य राजमार्ग बाहेकका भित्री सडकमा यातायात सञ्चालनमा समस्या भएको छ ।

विद्युत् प्राधिकरणद्वारा सडकको एकतर्फी मात्र विद्युत् विस्तार गरेको र त्यसबाट उपभोक्ताले आफ्नो घरमा आवश्यक पर्ने विद्युत् प्रयोगका लागि तार लैजाँदा यातायात सञ्चालनमा ठूलो समस्या आएको हो ।

विद्युत् प्राधिकरणले सडकको एकतर्फबाट मात्र विद्युत् विस्तार गरेको र ठाउँ–ठाउँमा सडक घुमाउरो भएको तर विद्युत्को तार सिधा लैजाँदा सडक क्रस गराएका कारण दुर्घटना हुने ठूलो सम्भावना रहेको बताइएको छ । सोही तारबाट उपभोक्ताले आफ्ना घरमा तार लैजाँदा समेत यातायात सञ्चालनमा ठूलो समस्या आएको हो ।

शुरुमा ६ फुटे पोलबाट विद्युत् विस्तार गरिएको थियो । अहिले सडक पुरिँदै गएको र सडकको उचाइ बढ्दै जाँदा पनि यस्तो समस्या आएको हो । अहिले निकै जोखिम मोलेर यातायात सञ्चालन गर्नुपर्ने चालकहरुले बताएका छन् । कुन बेला बिजुलीको तारमा गाडीले छुने हो थाह हँुदैन । सानो गल्तीले तारमा छोए ज्यानै जाने सम्भावना भएको चालक बताउँछन् । त्यसमा उद्योगका लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ विदेशबाट ठूल्ठूला ट्याङ्करमा आयात गर्नुपर्दा त झनै ठूलो समस्या आउने गरेको उनीहरूको भनाइ छ ।

झापाको कमल गाउँपालिकाका हरेक वडाका सडकमा यस्तो समस्या छ । वडा नम्वर २मा ३ वर्ष अगाडि स्थापना भएको हाइजेनिक प्याक नेपाल प्रालि ले त यस्तो समस्या वर्षैदेखि भोग्दै आएको उद्योग सञ्चालक बताउँछन् ।

झापाको कमल गाउँपालिका–२मा ३ वर्ष अगाडि स्थापना भएको हाइजेनिक प्याक नेपाल प्रा.लि.ले वर्षौदेखि यस्तो समस्या भोग्दै आएको छ । उद्योगलाई आवश्यकपर्ने कच्चा पदार्थ ठूल्ठूला ट्याङ्करबाट ढुवानी गर्नुपर्ने हुन्छ तर सडक किनारामा भएको होचा पोलमा विद्युत् विस्तार गरिएको छ । त्यस पोलबाट उपभोक्ताले आफ्नो घरमा विद्युत् लैजाँदा सडक कटाएर लानुपर्ने हुन्छ, जसका कारण गाडी पास गराउँदा ठूलो समस्या आउने गरेको छ ।

गाडी आएको बेला तार उठाउनका लागि भनेर छुट्टै मजदुरको व्यवस्था मिलाउनुपर्ने उनीहरुको भनाइ छ । जसका कारण उद्योगलाई थप आर्थिक भार बढेको छ । हामी उद्योगीले राज्यलाई ठूलो कर तिरेका छौं तर राज्यको तर्फबाट हाम्रो सानु गुनासो समेत सुनवाई हुँदैन । स्थानीय निकाय र विद्युत् प्राधिकरण दमकलाई पटक–पटक समस्या बारे जानकारी गराउँदा समेत आफ्नो गुनासो सुनवाई नभएको हाइजेनिक प्याक नेपाल प्रालिका मेनेजिङ डाइरेक्टर राजेन्द्र ढकालले बताए ।

सडकको एकैतर्फबाट मात्र विद्युत् विस्तार गर्दा सवारी आवागमनमा समस्या त छँदैछ तर स्थानीय बासीको घरमा समेत धेरै ठूलो समस्या आएको स्थानीयबासी बताउँछन् ।
एकतर्फ सडकको उचाइ बढ्दै छ भने सो सडकमा ठूला गाडी समेत आवतजावत गर्नुपर्ने बाध्यता छ । गाडी पास गराउँदा विद्युत्को तर उचाल्नुपर्ने हुन्छ जसका कारण लाइन सट भएर उपभोक्ताका घरमा भएको टीभी ,फ्रिज लगायतका विद्युतीय सामग्री समेत खराब हुने गरेको स्थानीय लेखनाथ खतिवडा बताउँछन् ।

उपभोक्ता र यातायात सञ्चालनमा रहेको समस्यालाई न्यूनीकरण गर्न विद्युत् प्राधिकरणले काम गरिरहेको जनाएको छ । सडकको क्षेत्राधिकार टुङ्गो नलागेका कारण हामीले दवैतर्फ विद्युत् विस्तार गर्न सकेका छैनौं । सडकको क्षेत्राधिकार टुङ्गो लागेका ठाउँ दुबैतर्फ लाइन विस्तार गरि सकेका छौं । बाँकी रहेको ठाउँमा समेत नियमित विद्युत विस्तार गर्दै जाने नेपाल विद्युत् प्राधिकरण दमकमा इञ्जिनियर खगेन्द्र भण्डारीले बताए ।

सरकारले विदेशी लगानीकर्तालाई निरुत्साह गर्दै स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने र उद्योग सञ्चालनमा सहजताको बातावरण सृजना गर्नुपर्ने सरकारको नीति काजमा मात्र सीमित भएको छ । वार्षिक करोडौं रुपैयाँ सरकारलाई राजश्व तिर्ने र सयौँलाई रोजगारी दिने यस्ता स्थानीय उद्योग सञ्चालनमा सरकारले सहज वातावरण बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

उद्योगीकातर्फबाट पटक–पटक राखेका गुनासा वर्षौसम्म सुनवाई भएका छैनन्, जसका कारण उद्योगीलाई वर्षेनि लाखौं रुपैयाँ घाटा भइरहेको छ । अर्कोतर्फ विद्युतको तार हल्लिएर भोल्टेज तलमाथि हुँदा स्थानीयका घरमा भएको लाखौं मूल्य बराबरका विद्युतीय सामान समेत खराब भइरहेका छन् । यसतर्फ सम्बन्धित निकायले छिटोभन्दा छिटो हल गर्नतर्फ लाग्नुपर्ने उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here