नेपालमा चिनियाँ तस्करका ११ अड्डासम्म कसरी पुगे प्रहरी

0
8

काठमाण्डौं ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर ब्रेक शुमा लुकाएर ल्याएको सुन बरामद गर्‍यो ।

भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामालाई पक्राउ गरेर सुरु भएको अनुसन्धानका क्रममा विभागले लाजिम्पाट, बालुवाटार, सामाखुशी, बाँसबारीसहित ११ स्थानमा रहेका चिनियाँ तस्करका अड्डामा छापा मार्‍यो ।

टोखामा तस्करीको सुन गाल्न र ढिक्का बनाउन खोलिएका साना फ्याक्ट्री नै फेला पार्‍यो । राजश्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ तस्करका थप अड्डासहित १० वटा सुन गाल्ने उपकरण फेला परेको सीआईबीकी निर्देशक किरण बज्राचार्य बताउँछिन् ।

‘चाबहिल, बाँसबारी, सामाखुशी, बालुवाटार समेतका स्थानमा छापा मारेर सुन गाल्न प्रयोग भएका अन्य सामग्रीहरु पनि बरामद गरिएका छन्’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बज्राचार्यले अनलाइनखबरसँग भनिन् ।

पछिल्लो दशकमा देखिएको सबैभन्दा उच्च तहको संगठित अपराध सञ्जाल यो सुन प्रकरणमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार, यसमा संलग्न कतिपय व्यक्ति आफूलाई थाहै नभई अपराधमा जोडिएका छन् । सञ्जालका धेरै सदस्यहरुबीच एकआपसमा चिनजान समेत छैन ।

अधिकृतहरुका अनुसार, यसअघि भारतमा समेत पक्राउ परेर छुटेका यसमा संलग्न चिनियाँ तस्करहरुले न त अनुसन्धानमा सहयोग गरे न थप तथ्यहरु खुलाए । अनुसन्धानमा भाषा त बाधक छँदैथियो ।

सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
अनुसन्धान अधिकृतहरुको भनाइमा, तस्करीमा संलग्न गिरोहका सदस्यहरु आफ्नो योजनामा यति विश्वस्त थिए, कि सुरक्षा संयन्त्रले सुन बरामद गरिहाले पनि अड्डाहरुसम्म पुग्न नसक्ने निष्कर्षसहित राजधानीका संवेदनशील स्थानहरुमा नै सुन गाल्ने उपकरणहरु राखेका थिए ।

तर, चिनियाँ नागरिकहरुले बयानमा भने जस्तो ‘फुलफ्रुफ’ योजनाका बाबजुद राजश्व अनुसन्धान विभाग र सीआईबीले गिरोहका ठाउँ–ठाउँका अड्डा फेला पार्‍यो ।

कसरी ?

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, यस पछाडि चिनियाँ तस्करले भाडामा लिएका चार गाडीका मालिकको चलाखीले काम गरेको छ । उनको चतुर्‍याइँका कारण प्रहरीले चिनियाँ गिरोहका थप अड्डा मात्र फेला पारेन, एउटै समूहले ३०२ किलो सुन ल्याएको तथ्य पनि स्थापित भएको अधिकृतहरु दाबी गर्छन् ।

भाडामा दिनुअघि सुटुक्क जीपीएस जडान

राजश्व अनुसन्धान विभागका एक अनुसन्धान अधिकृतका अनुसार, सुन प्रकरणमा संलग्नहरुलाई समात्न सुरुमा प्रहरीको विशेष ब्यूरोको सहायता लिइएको थियो । त्यसक्रममा तस्करीमा संलग्न चिनियाँ नागरिकहरुले प्रयोग गरेको एउटा गाडी क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा देखियो ।

पक्राउ परेका व्यक्तिहरुमार्फत पनि सुन ओसारपसारका र गिरोहका सदस्यहरुको आवतजावतका लागि तीन वटा गाडी भाडामा लिएको खुल्यो । सीसी टीभीको विस्तृत जाँचबाट बीएबी ५९८९ नम्बरको डस्टर, बा १६ च १७७१ नम्बरको ब्रिजा सुजुकी र बा १६ च ९३०० नम्बरको हुण्डाइ क्रेटा गाडीमा उनीहरु नियमित चढ्ने गरेको फेला पर्‍यो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, डस्टर गाडी चिनियाँ नागरिक डिङ सेन्फा र लि नेङकाईले चढ्ने गरेका थिए भने सुजुकी गाडी अलि भनिने ली वेन सुङले चढ्ने गरेका थिए । क्रेटा गाडी एलेक्स भनिने याओ पुचिङ चढ्दै आएका थिए ।

‘गाडीबारे सूचना प्राप्त भएपछि यातायात व्यवस्था कार्यालयमा गएर कसको नाममा दर्ता छ भन्ने खोज्यौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसक्रममा वालुवाटारस्थित सोलुसन ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक केशव श्रेष्ठको नाममा गाडी दर्ता भएको देखियो ।’

अनुसन्धान अधिकृतहरुले श्रेष्ठसँग सोधपुछ गर्दा चिनियाँ नागरिकहरुले गाडी भाडामा लिएको खुल्यो । यो प्रकरणका अर्का आरोपी तिब्बती मूलका भारतीय नागरिक थुप्तिन छिरिङ र हर्कराज राईले ती गाडीहरु भाडामा लिएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

श्रेष्ठसँगको सम्झौता पत्रमा भने हर्कराज राईको नाम मात्र उल्लेख छ । उनले श्रेष्ठलाई आफ्नो नागरिकताको प्रतिलिपी समेत दिएका थिए । सम्झौता अनुसार, थुप्तिन र हर्कराजले उनलाई भेटेर २८ माघ, २०७९ मा सुजुकी ब्रेजा, १८ चैत २०७९ मा क्रेटा र १५ मंसिर २०७९ मा डस्टर गाडी भाडामा लिएका थिए ।

गाडीधनी श्रेष्ठसँग बयान लिने क्रममा उनले एउटा गोप्य विषय अनुसन्धान अधिकृतहरुलाई खुलाएका थिए ।

‘गाडी सुन तस्करीमा प्रयोग भएको भन्ने थाहा पाएपछि उनले त्यो कुरा खुलाए’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘चिनियाँहरुले लाने हो, गाडी कता लान्छन्, के हुन्छ भन्ने भएर तीनवटै गाडीमा जिपीएस राखेको उनले बताएका थिए ।’ त्यसबारे चिनियाँ नागरिकहरु पनि अनविज्ञ थिए ।

जीपीएसको विवरण पाएपछि अनुसन्धान अधिकृतलाई चिनियाँ गिरोहको अड्डा पत्ता लगाउन सहज भयो । एक अधिकृत भन्छन्, ‘त्यो सूचना नपाएको भए अरु अड्डाहरु त फेला पर्ने थिएनन् नै थप ३०० किलो सुन तस्करीको विवरण फेला पार्न नसकिने अवस्था बन्थ्यो ।’

सुन गाल्ने स्थानमा रातभर ओहोरदोहोर

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, टोखा नगरपालिका–२ मा चिनियाँ गिरोहले सुन गाल्नका लागि फ्याक्ट्री बनाएका थिए ।

सीआईबीका अनुसन्धान अधिकृत एसपी सञ्जयसिंह थापाका अनुसार, ब्रेक प्याड, डिजिटल घडी लगायतमा लुकाएर ल्याइने सुन गाडीमा राखेर टोखास्थित गोदामसम्म लैजाने गरिएको थियो ।

‘डोङ फ्याङ इन्टरनेशनल प्रालिका नाममा भाडामा लिइएको जग्गामा टहरा बनाएर त्यहाँ सुन गाल्ने गरिएको थियो’, थापाले अनलाइनखबरसँग भने, ‘त्यहाँबाट सुन गाल्ने मेसिन, एसिड, सुन काट्ने र तौल गर्ने उपकरण पनि बरामद भएको छ ।’

अनुसन्धान अधिकृतहरुका अनुसार, जीपीएस रेकर्डमा चिनियाँ तस्कर डिङ सेन्फा र लि नेङकाई चढ्ने डस्टर गाडी ४५ पटक टोखामा पुगेको देखिएको थियो ।

‘अधिकांश समय रातितिर गाडी त्यहाँ पुगेको देखिएपछि शंका भयो, अरु गाडीको विवरण पनि हेर्दा अलि भनिने ली वेन सुङले चढ्ने सुजुकी गाडी २४ पटक त्यहाँ पुगेका देखियो’, अर्का एक अनुसन्धान अधिकृतले भने, ‘एलेक्स भनिने याओ पुचिङ चढ्ने क्रेटा गाडी विभिन्न मितिमा गरेर २४ पटक त्यहाँ पुगेको थियो ।’

त्यति सूचना फेला परेपछि टोखामा गएर छापा मार्दा सुन तस्करको महत्वपूर्ण अड्डा फेला परेको प्रहरी अधिकृतहरु बताउँछन् । जीपीएस विश्लेषणका आधारमा तीन गाडी लाजिम्पाटमा रहेको सुन गाल्न प्रयोग भएको गोदाममा पनि पटकपटक पुगेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

सबै गोदाममा गरेर प्रहरीले ४ र २ किलो क्षमताको सुन गाल्ने १० वटा मेसिन बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य बताउँछिन् ।

‘टोखामा टहरा बनाएर र लाजिम्पाटमा एक घरमा सुन गाल्न मेल्टिङ मेसिन राखिएको अनुसन्धानबाट खुलेको छ’, बज्राचार्य भन्छिन्, ‘त्यहाँ विद्युतीय सामग्री वा ब्रेक प्याडमा आउने सुनलाई १ वा २ किलोको बिस्कुट बनाएर बिक्री गर्ने गरिएको थियो ।’

प्रहरीले यी ३ वटै गाडी ठमेलस्थित होटल भियनामा सधैं जाने गरेको तथ्य पनि फेला पारेको थियो । त्यसक्रममा यसमा होटलका सञ्चालक दावा छिरिङ र अमला रोकाको पनि सुन प्रकरणमा संलग्नता खुलेको थियो ।

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । उनी मार्फत दावाले माओवादीका शीर्ष नेताहरुसँग सम्बन्ध बनाएका थिए । दावा सञ्चालक रहेको होटल भियनासँगै रहेको केटीबी काराओके रेष्टुरेन्टमा पनि चिनियाँ तस्करहरुको आउजाउ हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

‘आसपास रहेको होटल र रेष्टुरेन्टमा बसेर चिनियाँ नागरिकले दावाको सहयोगमा सुन तस्करी गर्ने गरेको निष्कर्ष छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् । सुन प्रकरणमा अहिले जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस चलिरहेको छ । यो समाचार अनलाइन खबर बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here