पाकिस्तानकाे ब्लुचिस्तानमा आत्मघाती आक्रमण : ५० जनाको मृत्यु, दर्जनौँ घाइते

0
9

कराँची।

पाकिस्तानको मस्तुङमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। पाकिस्तानमा आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको एक मस्जिद नजिकै शुक्रवार पैगम्बर मुहम्मदको जन्मोत्सव मनाउन जम्मा भएका मानिसहरूको भिडमा विस्फोट भएको हो। विस्फोटपछि बलुचिस्तानका अधिकारीहरूले सङ्कटकाल घोषणा गरेका छन्। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन।

बलुचिस्तान सहर मस्तुङको घटनास्थलको फुटेजमा आपत्कालीन उद्धारकर्ता र स्थानीयले घाइतेहरूलाई उद्धार गरिरहेको देखाइएको छ। बलुचिस्तानका प्रहरी प्रमुख अब्दुल खालिक शेखले विस्फोट आत्मघाती विस्फोट भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीलाई रोक्न खोज्दा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको बताए।

यसैबीच, खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहर नजिकैको मस्जिदमा छुट्टै विस्फोट भएको छ। पेशावर नजिकैको हांगुमा रहेको मस्जिदमा मृत्यु हुनेको सङ्ख्या नखुले पनि मानिसहरू भग्नावशेषमा फसेको प्रहरीले जनाएको छ। हांगुको मस्जिद ४० देखि ५० जनासम्मको क्षमता भएको प्रहरीले जनाएको छ।

पाकिस्तानका आन्तरिक मन्त्री सरफराज बुग्तीले बलुचिस्तान र हांगुमा भएको आक्रमणलाई आतङ्कवादी हमला भन्दै निन्दा गरेका छन्। अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। यहाँ बारम्बार तेहरिक–ए तालिबान पाकिस्तान वा पाकिस्तानी तालिबान र इस्लामिक स्टेट समूह लगायत सशस्त्र लडाकुहरूले आक्रमण गरेको छ।

यद्यपि टीटीपीले शुक्रबारको विस्फोटमा संलग्नता अस्वीकार गरेको छ र एक विज्ञप्तिमा यस्तो आक्रमण आफ्नो नीतिको विरुद्ध भएको बताएको छ। यस महिनाको सुरुमा सोही जिल्लामा एक प्रमुख मुस्लिम नेतासहित कम्तीमा ११ जना घाइते भएका थिए।

जुलाईमा, उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धार्मिक राजनीतिक दलको भेलामा आत्मघाती बम विस्फोटमा ४० बढी घाइते भएकाे पाकिस्तानी संचारमाध्यमले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here