आफ्नो दुःख लुकाएर अरुलाई खुशी पार्छन् भक्त

0
14

सुरेन्द्र भण्डारी
झापा ।
छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहीँ बताई हे राष्ट्रका बटुही
रक्षार्थ जन्मिएर छन् कि सपूत कोही
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु ।

प्रस्तुत गरिएका माथिका शब्द गीतकार डा. विश्वनाथ ‘प्रेम’ का हुन् र शिशिर योगीको स्वरमा यसलाई लयबद्ध गरिएको छ । राष्ट्रमा व्याप्त गरिबी, असमानता, बेथिति, कुशासन, रोग, भोक र तमाम प्रकारका समस्याहरुबाट मुक्त गराउने मानिसको खोजीमा रहेको गीतले भाव बोकेको छ । राष्ट्रप्रेमले ओतप्रोत भएको यही गीत आइतवार बिर्तामोडस्थित जय ड्रिमल्याण्ड पार्कको सभाहलमा गुञ्जियो ।युवा नागरिक समाजको प्रथम बार्षिकोत्सवका अबसरमा आएका अतिथिको स्वागतार्थ यो गीत प्रस्तुत गरिएको थियो । गाउने गायक शिशिर योगी नभए पनि दुरुस्तै उनै गायकको लयमा गाउने व्यक्ति थिए– भक्त विश्वकर्मा ।

हुन त विश्वकर्मालाई कार्यक्रमको शोभा बढाउन हलमा ल्याइएको थियो । शारीरिक रुपमा अशक्त रहेका विश्वकर्माले दुरुस्तै गायक योगीकै आवाजमा गीत गाएपछि हलमा केही समय सन्नाटा छायो । नछाओस् पनि किन राष्ट्रप्रेमले ओतप्रोत गीत विश्वकर्माले दुरुस्तै गाएका थिए । गीतमा भनिएका शब्द त्यस्तै मर्मस्पर्शी थिए ।

साङ्गका जस्ता विश्वकर्माका खुट्टा सग्ला छैनन् । कार्यक्रममा गीत गाउनकै लागि उनी कनकाई नगरपालिका–२ स्थित सुकेडाँगीबाट मोपेड (तीन पाङ्ग्रे स्कूटर) चढेर आएका थिए । अरुकै सहायतामा कार्यक्रमस्थल पुगेका उनी अतिथि बस्ने दीर्घा भन्दा पछिल्लतिर बसेका थिए ।

पानसमा दीप प्रज्ज्वलन गर्दै कार्यक्रमको उद्घाटनपछि सञ्चालक रेणु ओलीले अतिथिको स्वागतार्थ विश्वकर्मालाई स्टेजमा बोलाएर गीत प्रस्तुत गर्न आग्रह गर्छिन् । कार्यक्रम सञ्चालकको आग्रहपछि अतिथिको पछाडि रहेका उनी हात पाउँ टेकोर अतिथि र दर्शक दीर्घाको अगाडि आउँछन् । अनि गायक योगीको स्वरमा रहेको गीत गाउँछन् । दुरुस्तै गायक योगीको आवाजमा गीत गाएका विश्वकर्माले अतिथि र दर्शकको मात्रै ध्यान खिच्दैनन्– नजिकै रहेका पत्रकारको समेत ध्यान केन्द्रीत गर्छन् । पत्रकार पनि हतारिँदै उनको आवाज कैद गर्न लागेको दृष्य निक्कै रोचक देखिन्छ । शारीरिक अपाङ्गताका कारण साङ्ग जस्तो हिँड्न नसक्ने उनी स्टेजमा बसेर गीत प्रस्तुत गर्छन् । उनले बसेरै गीत प्रस्तुत गर्दा पत्रकार पनि बसेरै उनको आवाजलाई क्यामेरामा कैद गर्छन् । गायक योगीको स्वरमा सजिएको गीतलाई विश्वकर्माको स्वरले केही समय कार्यक्रमस्थल गुञ्जायमान बन्छ ।

कार्यक्रममा सहभागी अतिथि र दर्शकले पनि भरपुर मनोरञ्जन लिन्छन् । गीतको समाप्तिसँगै विश्वकर्मालाई प्रोत्साहन स्वरुप आयोजकले एक हजार रुपैयाँ थमाउँछन् । स्टेजबाट विदा हुनुअघि सबैलाई आफ्नो गायकीपनले मनोरञ्जन दिलाउने विश्वकर्माको चौतर्फी चर्चा हुन्छ । कार्यक्रम अवधिभर दर्शकलाई मनोरञ्जन दिलाउने विश्वकर्माको आफ्नो जीवनमा भने दुःखको पहाडले थिचेको छ ।

अरुलाई खुशी बनाउने विश्वकर्माको जीवनको दुःख

बुबा गोपाल र आमा अनिता विश्वकर्माका जेठो सन्तानका रुपमा २०५३ सालमा जन्मिएका हुन्– भक्त । भक्तको आगमनसँगै परिवारमा खुशी थपिनुको सट्टा आमा–बा नै निरास हुन्छन् । निराश हुनेको कारण बन्छ ‘अपाङ्ग छोरा’ को आगमन । जन्मजात शारीरिक रुपमा अशक्त जन्मिएका भक्त आफ्नो मेहनतले आज जुन ठाउँमा पुगेका छन् त्यो ठाउँमा पुग्नु अघि आफूले दुःखका धेरै पहाड छिचोलेको बताउँछन् ।
कनकाई माध्यमिक विद्यालयमा कक्षा १०सम्म अध्ययन गरेका उनले आर्थिक अभावकै कारण पढाई छाड्नु परेको तीतो यथार्थ सुनाए । अपाङ्गता भए पनि पढ्ने इच्छा थियो तर पढ्न सकिनँ– उनले भने– बुबाको निधन हुनु, आमाले अर्कैसंग विवाह गर्नु, आर्थिक अभाब जस्ता कारणले पढाइ छोड्न बाध्य भएँ । बुवाको निधनपछि आमाले अर्कैसँग विवाह गरेपछि उनको काँधमा ७८ वर्षीया हजुरआमा हेर्ने जिम्मेवारी आएको छ । आफैंमा शारीरिक रुपमा अशक्त, त्यसमाथि हजुरआमा हेर्ने जिम्मेवारी थपिएसँगै उनले कमाउने मुख्य बाटो गायनलाई बनाएका छन् ।
आमाले छाडेर गए पनि उनले हिम्मत हारेनन् । २०६६ सालमा बुबाको निधन भएपछि आमाले छाडेर एक्लिएका उनले २०६८ सालबाट संगीत सिक्न शुरु गरे । सुरुङ्गा बजारमा ध्रुव पाठकले सञ्चालन गरेको साधना कला केन्द्रबाट संगीत सिक्न शुरु गरेका उनी अहिले सरोज दाहालले बिर्तामोडमा सञ्चालन गरेको सप्तक संगीत विद्यालयमा संगीतको ‘सिनियर डिप्लोमा’ क्लास लिँदैछन् । आफू पनि सिक्दै, अरुलाई पनि सिकाउँदै जीवन निर्वाह गर्ने विश्वकर्माको आम्दानीको प्रमुख श्रोत गायन नै हो । विभिन्न संघ–संस्था, सभा समारोहमा गाएर उनले परिवार धानेका छन् । ‘पहिला–पहिला बाटोमा पनि गीत गाउँथे तर अहिले बाटामा चाहिँ गीत गाएको छैन’ उनले भने – गायन कला सिकेको छु, मेरो स्वरलाई मन पराएर दिएको दुईचार रुपैयाँले परिवार चलाएको छु । ‘हजुर आमालाई विस्तारै बुढ्यौलीले छुँदै गयो’– रेखदेखका लागि बुहारी त ल्याएँ– उनले भने – मलाई श्रीमतीसंग हुँदा सहज त भएको छ तर, सबै परिवारको हेरचाह गर्ने जिम्मेवारी मेरै काँधमा थपिएको छ । आर्थिक अवस्था कमजोर छ– विश्वकर्मा भन्छन् – कार्यक्रममा बोलाएनन् भने घरको गर्जाे टार्न नै धौ–धौ हुन्छ । हुन पनि हो । १० धुर ऐलानी जमिनमा कनकाई नगरपालिकाले घर बनाएर उनीहरुको परिवारलाई व्यवस्थापन गरेको छ । विपन्न आवास कार्यक्रम अन्तरगत विश्वकर्माको घर निर्माण गरिएको हो । त्यही घरमा भक्त, उनकी श्रीमती सृजना र हजुरआमा आइतमाया बस्छन् ।

‘प्रेममा शक्ति हुँदो रहेछ’

आफ्नै जीवन चलाउन मुस्किल थियो, दुई वर्ष अघि विवाह गरेँ– विश्वकर्माले व्यक्तिगत जीवनका अनुभव सुनाउँदै भने– मैले प्रेम विवाह गरेको हुँ । प्रेममा शक्ति हुँदोरहेछ । विवाह पछिको मेरो जीवन धेरै सहज भएको छ । सामाजिक सञ्जाल ‘फेसबुक’ मा सृजनासँग मेरो भेट भयो । शुरुवाती दिनमा हामी बीचमा सामान्य कुराकानी हुन्थ्यो , पछि हामी प्रेममा प¥यौं । दुई तीन महिनाकै अन्तरालपछि हामीबीचमा झाङ्गिएको प्रेमलाई विवाहमा परिणत ग¥यौं । उनी इलाम मंगलवारेकी हुन् । उनी म जस्तो शारीरिक रुपमा अशक्त छैनन् । म अशक्त छु भन्ने जान्दाजान्दै मलाई अंगालेर जीवनभर साथ दिन उनी आएकी छिन् । उनको आगमनसंगै मेरो जीवनमा धेरै सहजता थपिएको छ ।

‘जीवनमा कहिल्यै हरेस खाइँन’

संगीतप्रतिको मेरो लगाब, साथीभाइ र चिने जानेकाले मलाई गर्ने व्यवहारका कारण मैले जीवनमा कहिल्यै पनि हरेस खानुपरेन । मेरो जीवनमा शारीरिक अशक्तता एक ठाउँमा छ, अर्काे ठाउँमा गरिवीले गाँजे पनि गाउने कला सिकेकाले मलाई बाँच्न केही सहज छ । साङ्ग जस्तो सहज हुँदैन हामीलाई । तर, पनि अपाङ्ग भएर पनि केही गर्न सकिन्छ भन्ने अठोट छ ममा– विश्वकर्माले भने– मभित्र जागेको त्यही अठोटका कारण म आफ्नो जीवनप्रति खुशी छु ।
बिर्तामोडस्थित सरगम संगीतालयमा संगीत सिक्ने दौरानमा मेरो दुःख देखेर संगीतालयले मलाइ हिँड्डुलका लागि तीन पाङ्ग्रे स्कूटर ( मोपेड) किन्न सहयोग पु¥यायो । त्यो बेला मैले पनि विभिन्न ठाउँमा गाएर रकम संकलन गरेको छु । संकलित रकमले २०७४ सालतिर स्कूटर खरिद गरेको हुँ । त्यही स्कुटरमा अहिले हिँड्डुल गर्छु । शारीरिक रुपमा अशक्त उनलाई राज्यले प्रदान गरेको हरियो रंगको अपाङ्गता परिचय–पत्रका आधारमा केही सहयोग रकम जुटे पनि जीवन चलाउन बाँकी रकम उनी आफैंले जुटाउनु पर्छ । साङ्ग भएर पनि जीवनसंग हार खाँदै धेरै मानिसले आत्महत्यासम्मको बाटो रोज्ने गरेको हाम्रो समाजमा जिउन गाह्रो छ । तर, अपाङ्गता भएर पनि विश्वकर्माले साङ्ग सरह जीवन धान्नु धेरैका लागि प्रेरणा बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here