योगी नरहरिनाथका के–के सपना थिए ?

0
84

योगी नरहरिनाथ नेपालका एक महान इतिहासकार, स्रष्टा, अभियन्ता र नेपाली संस्कृति, भाषा र सभ्यताका अन्वेषक थिए । योगी नरहरिनाथ (१९७१÷२०५९) नेपालका एक आध्यात्मिक व्यक्ति थिए । योगी नरहरिनाथ सांसारिक माया, ममता र भौतिक मोहदेखि माथि उठेका थिए । उनलाई जीवनमा सुख र दुःखको स्मरणीय अनुभव पनि थिएन । तैपनि बृहत राष्ट्रिय र सांस्कृतिक हितका निम्ति उनी सदैव चिन्तित थिए । उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन् । वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ । उनी इतिहासको खोजीमा समर्पित भइरहे । यसै सिलसिलामा उनले नेपालका सम्पूर्ण भेगको पैदलयात्रा गरे । तत्कालीन पचहत्तरै जिल्लाका गाउँ–गाउँ डुल्नेक्रममा उनले ठाउँ–ठाउँमा पुगेर धेरैलाई ज्ञान दिए, बुद्धि दिए र हिँड्ने बाटो पनि देखाई दिए । त्यतिमात्र होइन, एशिया, युरोप र अमेरिकाका केही राष्ट्रहरूको पनि उनले भ्रमण गरे ।

देश एवम् विदेशका धेरै ऐतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उनले अध्ययन अनुसन्धान गरेका छन् । त्यस बाहेक उनी एक कुशल साहित्य सर्जक पनि हुन् । सिद्धहस्त आसु कविका रूपमा पनि परिचित उनी नेपालका आध्यात्मिक व्यक्तिहरू मध्ये एक हुन् । घण्टौंसम्म कवितामय संस्कृतमा धाराप्रवाह प्रवचन गर्ने योगीका निमित्त बसेर कविता लेख्नु सामान्य कुरा थियो । सादा जीवन र उच्च विचारका धनी योगी देशप्रेम, समाजसेवा र अध्यात्मलाई समायोजन गरी जीवनका भौतिक सुख–सुविधाबाट अलग रहेर सेवा, धर्म र त्यागका अनुपम दृष्टान्त र कृतिमान सिर्जना गर्दै निरन्तर कर्म क्षेत्रमा जुटिरहने महान तपस्वी थिए । समग्र राष्ट्र, राष्ट्रियता र मानव समाजका लागि आफ्नो जीवन समर्पित गर्ने योगी नरहरिनाथलाई राष्ट्र र नेपाली समाजले कहिले पनि बिर्सनु हुँदैन । उनी नेपालमा मात्र सम्मानित एवम् पूजित छैनन्, उनका सुकीर्ति एवम् देनहरू विश्वका वैदिक सभ्यताका हिमायतीका निम्ति उत्तिकै आदरणीय रहेका छन् ।

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को द्वितीय पुत्रको रूपमा भएको थियो । आठ वर्षकै उमेरमा ब्रतबन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो । नाथ सम्प्रदायमा दीक्षित भएका सत्याग्रहित अभिव्यक्ति र हक्की स्वभावका धनी योगी नरहरिनाथ नेपाली राष्ट्रियता र संस्कृतिका धरोहर थिए ।

जीवनभर अकथनीय कष्ट सहँदै आफ्नो अलौकिक प्रतिभा, भीष्मसङ्कल्प र अविच्छिन्न प्रयत्नसहित मानवजातिको उन्नयन र धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने एवम् विश्वकल्याण हेतु जीवन डो¥याउने क्रममा मुलुकका विभिन्न क्षेत्रको भ्रमणको सिलसिलामा सुरुङ्गाको भूमि टेक्न आइपुगेका योगी नरहरिनाथको योगदान स्वरूप आजको कोटीहोम अस्तित्वमा आउन सकेको हो । अत्युच्च राष्ट्रभक्तिले ओतप्रोत रहेका योगी यायावरी जीवन जिउँदै लोकोपकारी कार्यमा सदैव दत्तचित्त भएर लाग्ने सिलसिलामा कनकाईधाम क्षेत्रलाई पूर्वाञ्चलकै सनातनी वैदिक केन्द्र बनाएर जुगजुगसम्म यस क्षेत्रको गरिमालाई उँचो राख्ने कार्यको थालनी गर्न सफल भएका थिए । पुरातŒवविद् महान साधक प्रकाण्ड विद्वान परिब्राजक योगी नरहरिनाथ एक भविष्यद्रष्टा भएको कोटीहोमको आजको विकासबाट भन्न सकिन्छ ।

जीवनको धेरै समय घुमन्ते जीवन बिताउँदै जीवनको अन्तिम क्षणसम्म पनि योगीराज राष्ट्र र राष्ट्रियताका निमित्त चिन्तित भइरहे । योगी नरहरिनाथ महान् देशभक्त र राष्ट्रिय भावनाका सूत्रधार थिए । उनले जति लेखे नेपालकै मौलिकता लेखे । उनले आफ्नै सिङ्गो परिश्रम र प्रयासबाट नेपालको इतिहासका ६४ भाग ठेलीहरू लेखे । उनले धार्मिक र सांस्कृतिक पुस्तक लेखेर नेपाल र नेपालीका लागि बिर्सिनसक्नु गुन लगाए । उनका भाषण, लेख र पुस्तकहरूमा नेपाली माटोको गन्ध भेटिन्छ, सुवास पाइन्छ र त्यसभित्र वैदिक आत्मा पनि बोल्दछ । अझै पनि उनका कृति पढ्ने हो भने सुषुप्त चेतनालाई झक्झक्याउँछ र त्यसले मरेको आस्था पनि ज्यूँदो बनाउँछ । उनको दर्शन पढ्ने हो भने मूर्दा हुन आँटेको राष्ट्रियताको भावनामा पनि प्राण सञ्चार गराउँछ । धर्मसंस्कृति र राष्ट्रिय चिन्तनमा आधारित उनका पाँच सयभन्दा बढी शोधपरक ग्रन्थहरू प्रकाशित भइसकेका छन् । योगी नरहरिनाथको सम्पूर्ण जीवन मातृभूमिको सेवा, राष्ट्रभक्ति, नेपाल र नेपालीको मौलिक भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने सत्कार्यमा नै बितेको थियो । उनले सिर्जना गरेका कृतिहरू समाज, राष्ट्र र विश्वमानव परिवारका निमित्त अमूल्य सम्पत्ति हुन् ।

कोटीहोम क्षेत्रको स्थापना र विकासका लागि योगी नरहरिनाथको अनुपम र उदाहरणीय योगदान रहेको छ । त्यसैले त उनलाई आज पनि सम्मानका साथ स्मरण गरिन्छ र उनका अनुकरणीय गुणहरूको अनुशरण गर्दै सबै उनीप्रति कृतज्ञता प्रकट गर्छन् । आफ्ना पूर्वजको योगदानलाई आँखा चिम्लने र वर्तमान मात्र संसार हो र हामी मात्र सभ्य हौं भन्ने दम्भबाट सभ्यताको विकास हुँदैन । यस्तै परोपकारी र समाजसेवी भावनाले ओतप्रोत योगी नरहरिनाथले कनकाईधाम कोटीहोमलाई वैदिक केन्द्र बनाउने सपना देखेका थिए । कनकाईधाम कोटीहोम झापा जिल्लाको मध्यभाग भएर बहने पवित्र कनकाई नदीको पूर्वी किनारमा अवस्थित छ । कोटीहोमको स्थापना, विकास र विस्तारका लागि अत्युच्च भूमिका खेल्ने विशिष्ट व्यक्तित्व योगी नरहरिनाथको सपना भनेको कोटीहोम क्षेत्रलाई आफ्नो विशिष्टतासहित हजारौं, लाखौं धर्मानुरागी भक्तजन र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने थियो ।

कोटीहोमलाई आस्थाको केन्द्र र आकर्षक गन्तव्यस्थल बनाउन कोशेढुंगाको काम गर्ने योगीको योगदानलाई जुगजुगसम्म चीरस्थायी बनाउनु अति आवश्यक छ । योगी नरहरिनाथको सम्मानका लागि पानीको फोहोरासहितको आकर्षक बगैँचा बनाई सोही स्थानमा योगीको शालिक बनाउने योजना पनि कार्यान्वयन भइसकेको छ । संस्कृत विद्यापीठलाई योगी नरहरिनाथ महाविद्यालय बनाउने, त्यस महाविद्यालयमा सुविधासम्पन्न धार्मिक पुस्तकालयको निर्माण गर्ने र नेपाल सरकारसँग पहल गरेर थप जमीनको व्यवस्था गरी जडीबुटी खेती र जडीबुटी सङ्कलन केन्द्रका साथमा आयुर्वेद औषधालय निर्माण गर्ने परिकल्पनाका आधारमा अघि बढ्न आवश्यक छ ।

योगी नरहरिनाथले वि.सं. २०३८ माघे संक्रान्तिका दिन तनहुँ जिल्लाको देवघाटस्थित गलेश्वरबाबा आश्रमदेखि कोटीहोम गर्न शुरु गरी एक सय २९ वटा कोटीहोम, ४५ वटा लक्ष्य होम र पाँच वटा शिवयज्ञहरू सम्पन्न गरेका थिए । यिनै कोटीहोम तथा यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महŒवबारे मानव समाजलाई शिक्षित तुल्याए । कोटीहोम कै माध्यमबाट सङ्कलन भएको आर्थिक सहयोगलाई गुरुकुलहरू स्थापना गराउन सदुपयोग गरे । वैदिक दर्शनमा आध्यात्मिक क्रान्तिको शुरुवात गरे । वेद र उपनिषद्का उपदेशलाई सरल र सहजशैलीमा अथ्र्याए । पृथ्वी, जल, अग्नि, वायु र प्रकृतिको संरक्षणको महŒव उजागर गरे । देशभरि एक हजार आठ कोटीहवन सम्पन्न गर्ने महŒवाकांक्षी अभियानमा जुट्ने क्रममा झापाको कनकाई नदीको पूर्वी किनारलाई विशिष्ट विभूति योगीराज नरहरिनाथले छाने र २०४२ साल पुस १ देखि २७ गतेसम्म कनकाईधाम क्षेत्रमा महान अनुष्ठानको रूपमा बृहद् कोटीहोम महायज्ञको आयोजना गरियो । सो महायज्ञमा पाँच लाखभन्दा बढी भक्तजनहरू सहभागी भएका थिए ।

कनकाई नदीको गरिमामय इतिहास युगौंयुगदेखि निरन्तर प्रवाहित भइरहेको छ । यही प्रवाहमा एक अत्यन्त विशिष्ट प्रतिभा र कर्मशील व्यक्तित्व कनकाईधाम कोटीहोमसँग जोडिन आइपुगे, जसलाई सम्झँदा आज हामी श्रद्धा र सम्मानले शिर निहुराउँछौं । उक्त क्षेत्रलाई अति विशिष्ट आध्यात्मिक केन्द्र बनाउने योगीराज नरहरिनाथको सपना थियो । उनले कोटीहोम सम्पन्न गरेपछि मात्र जनमानसले यस क्षेत्रलाई कोटीहवन भन्दै जाँदा कोटीहोम भनिएको देखिन्छ । योगीप्रति सम्मान जनाउने प्रमुख उपाय भनेको उनको सपना अनुसार कोटीहोमको क्षेत्रको सर्वाङ्गीण विकास हुनुपर्छ । कोटीहोमलाई नेपालका विशिष्ट महŒव बोकेका धार्मिक स्थलको रुपमा चिनारी दिन पहल गरिनुपर्छ ।

पशुपतिनाथ, स्वयम्भूनाथ, लुम्बिनी, बराहक्षेत्र, मुक्तिनाथ, स्वर्गद्वारी, देवघाट, माता पाथीभरा, मनकामना लगायतका नेपालका सुप्रसिद्ध तीर्थस्थल मध्ये कनकाईधाम कोटीहोम कुनै पनि अर्थमा कम छैन । अनेकौं देवस्थलसहित प्राकृतिक, धार्मिक र आध्यात्मिक गरिमाले ओतप्रोत भएर रहेको कनकाईधाम कोटीहोम क्षेत्र पूर्वाञ्चल कै प्रसिद्ध पर्यटकीय क्षेत्रको रूपमा प्रगतिको मार्गतर्फ लागिरहेको छ । नेपाल ऋषिममुनिहरूले तप गरेको र तेत्तीस कोटी देवताले बास गरेको भूमि हो भनेर विश्वास गरिन्छ । कनकाईधाम कोटीहोम वेदभूमि, तीर्थभूमि र धर्मभूमि भएको छ ।

नेपालका मात्र होइनन् हिन्दू संस्कृति कै विभूति योगी नरहरिनाथ वैदिक जगत्का महान प्रतिभा थिए । उनको जीवनको इच्छा चाहिँ विश्वभरि नै हिन्दूजाति र संस्कृति प्रतिष्ठापित गर्ने थियो । उनले सजीव शब्दमा विश्वका समस्त हिन्दूपरिवारले ‘बसुधैव कुटुम्बकम्’, र ‘आत्मा खलु विश्वमूलम्’ जस्ता आदर्शलाई प्रतिध्वनित गर्नुपर्नेमा जोड दिएका थिए । उनी बाँचुञ्जेल नेपाल र नेपाली भनेर नथाक्ने राष्ट्रियताका एउटा स्तम्भ थिए । उनी राष्ट्रवादका पर्याय थिए ।

योगी नरहरिनाथको २०५९ साल फागुन १३ गतेको मध्यरातमा निधन भयो । उनको भौतिक चोला उनकै जीवन रित्तिएको ठाउँ काठमाडौंको मृगस्थलीमा समाधिस्थ गराइयो । उनले निर्दिष्ट गरेको मार्गदर्शन अनुसार दूरदृष्टि राख्न, सोही अनुसारका गुरूयोजना, दीर्घकालीन योजना र मध्य तथा अल्पकालीन योजना बनाई अघि बढ्न सकेमा कोटीहोम क्षेत्रको मुहार फेर्न सकिन्छ र योगी नरहरिनाथको सपनालाई साकार पार्न सकिन्छ । हजारौैं, लाखौं भक्तजनको लागि विश्वासको धरोहरको रूपमा कोटीहोम क्षेत्रलाई स्थापित गर्ने सपना थियो । कोटीहोम क्षेत्रलाई धार्मिक आस्थाको केन्द्र बनाउँदै सनातनी संस्कृति, भाषा र साहित्यको श्रीवृद्धिमा लाग्न सकेमा योगीको सपनालाई साकार पार्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here