हात्तीगौंडामा पत्रकार भेटघाट

0
12

उमानाथ भण्डारी,
कमल ।

बिहीबार बेलुका करिब साढे ६ बजे झापाका पत्रकारहरूको समूह बाहुनडाँगी बजार पूर्वको मेची किनारमा भेला भएका थिए ।

जिल्लाभरिका २० भन्दा बढी पत्रकाररातिको समयमा भारतबाट आउने जंगली हात्ती प्रवेश गर्ने गौँडामा नै भेला गराएर बाहुनडाँगीबासीले हात्तीबाट भएको क्षतिको पीडा सुनाएका थिए ।

कैयौंपटक हात्तीको पीडा सुनाउँदा पनि संघीय र प्रदेश सरकारले ठोस् कदम नचालेकाले हात्तीको समस्यामा गम्भीर बन्न हात्ती आउने मुख्य गौँडामा नै पत्रकार सम्मेलन गर्नुपरेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘हामीले हात्तीबाट पीडित हुनु परेको पुस्तौं भयो’– निष्पट्ट रातमा मेचीको किनारमा उभिएर कार्कीले भने– ‘स्थानीय सरकारले यहाँको क्षतिपूर्ति दिन सक्दैन, केन्द्र र प्रदेश सरकारले हाम्रो पीडा बुझ्नै चाहेन ।’ पत्रकार सम्मेलन चल्दैगर्दा भारतबाट हात्ती नेपाल प्रवेश गरेको सूचना आए पछि स्थानीयहरु विभिन्न आवाजको साइरन बजाउन र टर्च लाइट बाल्दै हात्तीको गतिविधि नियाल्न थालेपछि हात्ती हेर्न पुगेका पत्रकार समेत उनीहरुकै पछिपछि लागेका थिए । यो दृश्य निक्कै सकसपूर्ण रहेको थियो ।

‘हाम्रो त यो हरेक रातको काम भइसक्यो’– नेपालतर्फ गठन भएको हात्ती नियन्त्रण गर्न बनेको युवादस्ता (आरआरटी) का संयोजक न्युटन कार्कीले भने– ‘स्थानीयको बाली र जीवन जोगाउन हामी निःशुल्क रुपमा हरेक रात १५÷१६ जना हात्ती धपाउन मेची खोलामा तैनाथ हुन्छौं ।’ हात्ती छेक्न निर्माण गरिएको करिब १७ किलोमिटरको विद्युतीय तारबार पनि दैनिक क्षति गरेकाले थप समस्या भएको मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले बताए ।

‘विद्युतीय तारबारले पनि अब हात्ती छेक्न नसक्ने भइसक्यो’– कार्कीले भने– ‘हात्ती धेरै बाठो जनावर हो, उसले आफ्नो दाराले तारबारलाई भत्काएरभित्र पस्ने गरेको छ ।’ दारामा करेन्ट लाग्दैन भन्ने हात्तीले थाहा पाइसकेकाले पनि अहिले हात्तीले दैनिक करिब २० हजार भन्दा बढीको बिद्युतीय तारबारमा क्षति पु¥याउन थालेको अध्यक्ष कार्कीले बताए ।

बाहुनडाँगी क्षेत्र हात्तीका कारण धेरै नै प्रताडित हुँदा पनि राज्यको गम्भीर ध्यानाकर्षण नभएको मेचीनगर–२का वडाध्यक्ष दीपक बरालले आरोप लगाए । ‘संघीय सरकार र प्रदेश सरकारको उपस्थिति हात्तीको क्षतिमा अलिक नजिकबाट हुनुप¥यो’– वडाध्यक्ष बरालले भने– ‘राहत पाउने व्यक्तिको नाम समेत आउँदा त्यो राहत लिन अति झञ्झटिलो प्रक्रियाले थप पीडा दिएको अवस्था रहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here