प्रसव–वेदना

0
23

यो सृष्टी रचना चुनौती बलियो मैले बहन गर्नुथ्यो
जस्तै दुःख भए पनि सहजले मैले सहन गर्नुथ्यो ।

आमा सत्य म हुँ भनि धर्तीमा वाचा गरेको थियो
सुन्दर फूल फुलाउनु जगतमा मैले परेको थियो ।

प्राणको अन्त्य बखत थियो बाँचौं हरे के गरी
बडो ताप थियो स्वयम् हृदयमा आगो बले सरी ।

सुकेथ्यो मुख पनि थिएन रसिलो घाँटी सुकेको थियो
पीडा प्रसवको छ कष्ट बहुतै सासै रोकेको थियो ।

नौ महिना यस गर्भमा कठीनले मैले लिएकी थिएँ
जीवन जोखिमको परवाह नगरी यो भार सुम्पी लिएँ ।

गथ्र्यो प्राण शरीरमा छट्पटी खोज्थ्यो हरे उम्कन
मृत्युलाई थियो लडेर मैले अग्नी–परीक्षा दिन ।

पानी–पोखरी झैं डुब्यो रगतमा आधा शरीरै पनि
ज्यानको बाजी दिई लडेँ मृत्युसँग आमा म बन्छु भनि ।

दुईटा धारमा थियो शरीर यो बाँच्ने की मर्ने भनि
देखी जीवनको अनेकौं खतरा भागेछ मृत्यु पनि ।

कस्तो युद्ध थियो कठोर बलको ब्यथा बढ्यो झन् झन्
पैदा बालक हुन्छ यो धर्तीमा फाट्यो सबै बन्धन ।

यस्तो कष्ट खपेर मात्र मैले सकेँ नि आमा हुन
जीवन जोखिममा पारेर मर्ने आमा हजारौं छन् ।

झुठो हैन कदापि सत्य सब हुन् आमाहरुको कथा
सृष्टीकर्ता ब्रह्माजी हुन् भनिरहँदा आश्चर्य मान्छु म त ।

आमा जिवीत सत्य छन् जगतमा यो सृष्टी आमा बिना
सम्भव छैन किन्तु यो धर्तीमा भजिन्छन् ब्रह्मा किन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here