कोशी प्रदेश : मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कठिन

0
11

झापा।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदैछन् । तर, मुख्यमन्त्री कार्कीलाई गठबन्धन नफुटे विश्वासको मत पाउन कठिन देखिएको छ ।

गतबुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बनेको थियो । संविधानको धारा १६८को उपधारा ३ अनुसार कार्की गतभदौ २२ गते मुख्यमन्त्री बनेका थिए । उनी सर्वाेच्च अदालतको परमादेशबाट मुख्यमन्त्री बनेका हुन् ।

संविधान अनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही असोज २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । तर, विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । त्यसैगरी नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । विश्वासका मतमा बहुमतका लागि मुख्यमन्त्री कार्कीले कांग्रेस र माओवादीमध्ये एक पार्टीको सहयोग लिनुपर्ने हुन्छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरु गठबन्धनका रहेका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले अहिलेकै अवस्थामा कार्कीलाई सहयोग गर्ने अवस्था देखिएको छैन ।

कार्कीको रणनीति गठबन्धनमा रहेका दलहरुलाई फुटाएर बहुमत जुटाउन सकिन्छ कि भन्ने रहेको छ । त्यसका नेकपा एकीकृत समाजवादीका ४ मध्ये २ जना सांसद आफ्नो पक्षमा ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिने कार्कीको प्रयास छ ।

यसो गर्दा कार्कीको पक्षमा ४८ जना सांसद पुग्नेछन् । राप्रपाले पहिलादेखि नै कार्कीलाई सघाउँदै आएको छ । तर, कतिपयले नेकपा एकीकृतका सांसदहरु मुख्यमन्त्री कार्कीको पक्षमा नजाने र कार्कीले विश्वासको मत नपाएर सरकार ढल्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here