हमासको निन्दनीय आक्रमण

0
8

इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिममा शनिबार भएको आतंकवादी आक्रमणमा परी दश जना नेपालीको ज्यान गएको छ । प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी दश जना नेपाली विद्यार्थीको मृत्यु भएको बताइएको छ । ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत त्यहाँ पुगेका नेपाली विद्यार्थीको अकल्पनीय र असामयिक मृत्यु भएको गैर आवासीय नेपाली संघ एन आरएनए इजरायलका पूर्ण अध्यक्ष दीपक ओलीले जानकारी दिएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी इन्टर्नसिपका लागि गएका मध्ये दश जनाको दुखद् निधन भएको हो । कृषि विज्ञानतर्फको स्नातक तहको अन्तिम ‘सेमेष्टर’मा अध्ययनरत् उनन्चास विद्यार्थीमध्ये अन्य सम्पर्कमा रहेको बताइएको छ ।

प्यालेस्टाइनस्थित चरमपन्थी संगठन हमासको आक्रमणसँगै इजरायलले समेत गाजापट्टीमा प्रत्याक्रमण शुरु गरेको छ । यसक्रममा सयौं जनाको ज्यान गइसकेको छ भने धेरै घाइते भएका छन् । इजरायल र प्यालेस्टाइनबीचको शत्रुता र युद्ध नयाँ कुरा होइन । साढे सात दशक अघिदेखि इजरायल र अरब देशकाबीच शत्रुता शुरु भएको हो । यो शत्रुतालाई मित्रतामा बदल्न संयुक्त राष्ट्र संघले ‘टु स्टेट प्लान’ मार्फत प्रयास गरेको पनि हो । तर, उनीहरुका बीच कहिल्यै मित्रवत सम्बन्ध रहेन । दुई देशबीच वार्ता पनि भयो तर विवादको समाधान भएन । जसका कारण त्यहाँका नागरिकले ठूलो मानवीय क्षति नै व्यहोर्नु परिरहेको छ ।

प्यालेस्टाइनलाई यहुदीहरुको नियन्त्रणबाट अलग गराउँदै मुस्लिम देश बनाउनु हमासको लक्ष्य हो । त्यसकै लागि हमासले इजरायलमाथि पटक–पटक आतंकवादी आक्रमण गर्दै आएको छ । आत्मघातीबाट शुरु भएको आक्रमण ‘रकेट’मा पुगेको छ र शनिबारको आक्रमण शताब्दीकै ठूलो भएको बताइएको छ । यहुदी र मुस्लिमका बीचको विवादले जन्माएको हिंसा र त्यसबाट अछुतो रहेको नेपालका विद्यार्थीले भोग्नु परेको पीडा र क्षति कुनै अर्थमा पनि क्षम्य छैन । एघार सय जनाभन्दा बढीले ज्यान गुमाएको हमासको पछिल्लो आक्रमण क्रुर र निन्दनीय त छ नै सँगै नेपालीका लागि अत्यन्त पीडादायी पनि भएको छ । यस्तो बेला हाम्रो सरकारको ध्यान त्यहाँ रहेका नेपालीको जीवन रक्षाका निमित्त जानु पर्दछ । सम्पूर्ण बलबुता र कुटनीतिक क्षमता प्रयोग गरेर आक्रमण क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित राख्ने र स्वदेश ल्याउनेमा सरकारको अग्रसरता देखिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here