नेपालको राजनीतिको कुरा गर्दैगर्दा म एउटा दृष्टान्त बाट आफ्ना विचारहरु प्रस्तुत गर्न चाहन्छु । आजभन्दा करिब दश बर्ष अगाडिको कुरा हो पहिलो संविधानसभाले संविधान बनाउन असमर्थ भएकाले दोस्रो संविधानसभा चुनावको घोषणा भइसकेको थियो र चुनाव नजिकिने अवस्थामा थियो । मैले मेरै गाउँका एकजना भद्रभलाद्मी दाजुसँग प्रश्न गरेँ– ‘यसपटक कसलाई भोट दिनुहुन्छ ?’ प्रश्न सुनेर ती मेरा गाउँले दाइ निकै आक्रोशित बने र उत्तर दिए– ‘यसपटक म कसैलाई भोट हाल्दिनँ, यी सबै नेताहरु उस्तै रहेछन्, छ वर्षसम्म एउटा संविधान बनाउन सकेनन्, सत्ताका लागि लड्ने मात्र रहेछन्, सुविधा मात्र खोज्ने हुन, हामी जनतालाई माथि पुग्ने सिढी मात्र ठान्ने रहेछन, त्यसकारण म निर्वाचनमा संलग्न हुन्न ।’
मैले प्रतिप्रश्न गरेँ– ‘त्यसदिन तपाईं के गर्नुहुन्छ, दिनभरि अरू सबै भोट हाल्न जान्छन्, तपाईं एक्लै के गर्नुहुन्छ ?’ उहाँले फेरि आक्रोश मिश्रित स्वरमा भन्नुभयो– ‘म दिनभरि आरामले सुत्छु ।’ त्यसपछि मैले उहाँलाई भनेँ– ‘हो आरामले सुत्नको लागि तपाईले संविधानसभामा भाग लिनुपर्छ र भोट दिनै पर्छ । अरु काम हामी दिनभरि सामान्य हो–हल्लामा गर्न सक्छौं, तर सुत्नका लागि हामीलाई शान्त वातावरण चाहिन्छ, केही गरी भोलि देशमा अशान्ति फैलियो भने बन्दुक, बम, गोला पड्किन शुरु भयो भने अरु काम त हामी सामान्य रुपले गरौंला । तर, आरामले सुत्नका लागि हामीलाई शान्ति चाहिन्छ । केही गरी देशमा संविधान निर्माण हुन सकेन र देश गृह युद्धमा फस्यो भने तपाईंलाई सबैभन्दा बढी गारो सुत्न हुनसक्छ, त्यसकारण देशमा शान्ति, सुरक्षा, अमन, चयन कायम राख्न तपाईले भोट दिनुपर्छ र संविधान निर्माणमा भाग लिनुपर्छ ।’
त्यसपछि उहाँले भोट दिने प्रतिबद्धता जाहेर गर्नुभयो । यसरी हरेक नागरिकले आ–आफ्नो ठाउँबाट आज देशलाई यो अवस्थामा ल्याउनको निमित्त संघर्ष गरेका छन् । चाहे दोस्रो जनआन्दोलनको बेला जसले राष्ट्रलाई संघीय गणतन्त्रात्मक बनाएको होस वा संविधान निर्माणका लागि होस, प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट आफ्नो अवस्था अनुसार त्याग र संघर्ष गरेका छन् । यो त्याग र संघर्षको पछाडि नागरिकको ठूलो इच्छा र चाहना लुकेको थियो । राष्ट्रको समृद्धि, भौतिक विकास, सामाजिक विकास र देशमा विद्यमान राजनीतिक समस्याको समाधान गर्दै सुशासन र सामाजिक पुनर्संरचना आदि जसले मुलुकलाई एउटा विकसित राष्ट्रको रुपमा विश्वमा पहिचान निर्माण गरोस् र हामी नेपाली पनि विश्वसामु शिर ठाडो पारेर गर्व गर्न सकौं, हिँड्न सकौं, आर्थिक सामाजिक क्षेत्रमा पछाडि परेका वर्ग, लिङ्ग, जात आदि सबै राजनीतिको मूलधारमा आउन सकोस् ।
देशको हरेक क्षेत्रको प्रत्यक्ष वा परोक्ष रूपले नेतृत्व राजनीतिले गरिराखेको हुन्छ । राजनीति भनेको चाहिँ के हो ? नेपाली बृहत् शब्दकोषका अनुसार राजनीतिको अर्थ यस्तो दिएको छ– प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति तथा राज्यको शासन व्यवस्था सम्बन्धी नीति ः राज्यसँग सञ्चालन प्रणाली भनेर उल्लेख गरिएको छ । तर, नेपालको सन्दर्भमा राजनीति को अर्थ फरक ढंगले प्रयोग भइराखेको अवस्थामा देखिन्छ । राजनीति एउटा पेसा वा व्यवसायका रुपमा प्रयोग भएको पाइन्छ । अझ हाम्रो देशको राजनीति त चार–पाँच जनाको घुम्ने कुर्सीको ‘म्यूजिकल चेयर’को खेल भइरहेको छ ।
३०औं बर्षदेखि एउटा सानो समूहले नेतृत्व गरिराखेको छ, राजनीति उनीहरूको स्वार्थ वरिपरि घुमिराखेको भान हुन्छ र सम्पूर्ण राज्यका संरचनाहरूमा उनीहरु कै हाली–मुहाली भएको देखिन्छ । जसले गर्दा उनीहरूको स्वार्थ विपरीत कुनै पनि काम हुन सक्ने अवस्था देखिँदैन । झट्ट हेर्दा यो आरोप झैं लाग्न सक्छ । तर, अहिलेको समकालीन अवस्थालाई नजिकबाट नियालेर हेर्ने हो भने यी सम्पूर्ण कुराहरु यथार्थ हुन् । हाम्रो देशको एयरपोर्ट मार्फत ठूलो परिणाममा अवैध सुन भित्रिन्छ, तर त्यसको कारवाहीमा स्वार्थ बाच्छ जब कि यो एउटा गम्भीर विषय हो ।
किनकि यो देशको एउटा यस्तो संवेदनशील क्षेत्र हो जुन सुरक्षाको दृष्टिकोणले धेरै सुरक्षित स्थान हो र सर्वसाधारणको पहुँचभन्दा बाहिरको स्थान एयरपोर्ट हुन्छ र यो एउटा संवेदनशील क्षेत्र हो जहाँ साना–साना वस्तुहरु पनि सम्पूर्णरुपले चेकजाँच गराएर मात्र बाहिर निस्कन सक्छ । तर, हालसालै ठूलो परिणाममा बिना रोकटोक चेकजाँच नभइकन सुन बाहिर निस्कनुमा राजनीतिक दलका नेताहरूको तथा उच्चस्तरीय कर्मचारीहरूको हात छैन भनेर भन्दा कसैले पत्याउँदैनन् । यस्तै भुटानी शरणार्थी काण्डमा राष्ट्रका सर्वोच्च निकायका मन्त्री र कर्मचारीहरु पर्छन् ।
यो त भयो बेथितिको सानो नमूना । यस्ता बेथितिहरु हरेक क्षेत्रमा, हरेक समय देखिनु र सुधारका लक्षणहरु चाहिँ कहिँकतै नदेखिनु गलत राजनीतिक नेतृत्वको परिणाम नै हो । अझ अगाडि बढेर हेर्ने हो भने त हाम्रो देशको राजनीति कता जाँदैछ भनेर खोज्नुपर्ने परिस्थिति देखिन्छ । जनताका सरोकारका विषयहरुलाई पन्छाएर राजनीतिमा लागेका नेताहरु आफ्नो व्यक्तिगत तथा दलीय स्वार्थमा अल्झन पुगेका छन् । जसको परिणाम समग्र नागरिकले बेथिती र समस्याहरु भोग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
भ्रष्टाचारको अनुसन्धान र कारवाहीको क्षेत्रमा लागेका कर्मचारीहरुलाई हठात् सरुवा गर्नेदेखि लिएर न्यायपालिकासम्म, न्यायाधीशले आफ्नो स्वार्थभन्दा बाहिर गएर फैसला गर्ने डरले वा आफ्नो मान्छेलाई दोषी देखाउन सक्ने अवस्था देखा प¥यो भनेर अनुसन्धानको बीचैमा सरुवा गरिदिने तथा हतोत्साहित गरिदिने काम अहिले भइराखेको बाहिरबाट स्पष्ट देखिन्छ । यसले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ला त ? नागरिकहरूको आक्रोश र निराशा एकै पटक प्रकट भइराखेको छ ।
अथवा नागरिकको आवश्यकता र समग्र देशका लागि गर्नुपर्ने काम छाडेर राजनीतिमा लागेका नेता तथा कार्यकर्ताहरु स्वार्थमा कसरी अल्मलिइरहेका छन् भनेर हेर्नका लागि कोशी प्रदेशको राजनीतिक गतिविधि हेरे पुग्छ । यी त केही हाम्रा राजनीतिभित्रको प्रतिनिधि घटनाहरु मात्र हुन् । समग्र राजनीति बेथिति र विकृतिको दलदलमा फसिसकेको आभास हुन थालेको छ । हामीले यसलाई तत्काल एकजुट भएर नियन्त्रणमा लिन सकेनौं भने देश असफलतातिर छिट्टै जान्छ भन्ने मेरो बुझाइ रहेको छ । हाल देशका विभिन्न भागमा देखापर्न शुरु भएको धार्मिक, सामाजिक समस्या पनि यही विकृत राजनीतिक अवस्थाको परिणाम हो भन्न सकिन्छ । यसरी देशका सबै दल, नागरिक समाज आदि मिलेर यसको ठोस समाधान निकाल्ने प्रयास गर्न कति पनि ढिला गर्नुहुँदैन, अन्यथा देश असफल राष्ट्रमा परिणत हुनसक्छ भन्ने मेरो ठम्याइ छ ।
(निरौला समकालीन राजनीति तथा विपद् व्यवस्थापनको क्षेत्रमा कलम चलाउँछन् ।)