‘मुलुक उपनिवेश बन्ने खतरामा’

0
12

झापा ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द ‘विप्लव’ले नेपाल २१औँ शताब्दीको उपनिवेश बन्न लागेको बताएका छन् । समाजवादी मोर्चाले बुधवार झापाको बिर्तामोडमा गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले मुलुक अत्यन्तै जटिल अवस्थामा रहेको बताएका हुन् ।
‘नेपाल देश नै रहन्छ कि रहन्न भन्ने स्थितिमा छ, यदि हामीले जथाभावी यति कै छाडिदियौँ भने नेपाल देश नै कता पुग्छ भन्ने अवस्थामा पुगेको छ’– उनले भने– ‘नेपालको राष्ट्रिय स्वाधीनता यति धेरै खतरामा परेको छ, साम्राज्यवादी तत्वहरुको प्रत्यक्ष हस्तक्षेप हुँदैछ, यदि पार्टीहरुले र नेताहरुले ध्यान पुर्याउन सकेनन् भने नेपाल २१आँै शताब्दीको उपनिवेश बन्ने खतरामा पुगेको छ ।’ नेपालमा विदेशी सेनाहरु प्रत्यक्ष आउने अवस्थामा पुगेको, साम्राज्यवादी देशका सेनाको ठूला–ठूला हवाइजहाज काठमाण्डौमा आउने र तिनले ल्याएका सामानहरु बिना जाँच गाडीमा राखेर लगिने गरेको उनले बताए ।

साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन लागेको उनको भनाइ थियो । अमेरिकाले रातारात ठूला–ठूला सैनिक जहाज ल्याउने र ती जहाजहरुमा के सामान ल्याइराखेको छ भन्ने नेपाली जनतालाई सूचना नहुनुका साथै हवाई अड्डाका कर्मचारीहरुलाई ती सामान जाँच गर्ने अधिकार पनि नभएको नेता विप्लवले बताए । देशप्रति इमान्दार पार्टीहरुले यस बिषयमा बोल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै अर्का वक्ता नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनाल ‘बलदेव’ले अहिलेको सरकारले भ्रष्टाचार निर्मुल पार्न लाग्दा केही मानिसहरु जुका जसरी जुर्मुराएको बताए । उनले नेपालको कृषिमा कायापलट गर्न सकिने बताए । वर्तमान सरकारले कृषकको मलको समस्यालाई केही हदसम्म हल गरेको बताए ।

उनले नयाँ पार्टीप्रति लक्षित गर्दै मुलुक परिवर्तनका खातिर लामो समयदेखि जनयुद्ध हाँकेर आएका पाटीहरुलाई केही भुइँ फुट्टाहरु आएर चुनौति दिएको बताए । कार्यक्रममा बोल्दै नेकपा समाजवादीका सचिव तथा १ नं. प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पहिला प्रशस्त भ्रष्टाचार हुने गरेको बताए ।

उनले भने– ‘अहिले भन्दापहिले भ्रष्टाचार हुन्थ्यो तर बोल्ने हिम्मत कसैले गर्दैन थिए, कसैले बोल्यो भने सजाय भोग्नुपथ्र्यो ।’ समाजवादी मोर्चा झापाका संयोजक प्रशान्त सीका अध्यक्षतामा भएको कार्यक्रममा झापाका विभिन्न ठाउँबाट मोर्चामा आवद्ध नेता तथा कार्यकर्ता कार्यक्रममा सहभागी थिए । गत असोज १८ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र नेकपाले मोर्चा घोषणा गरेका थिए ।

मोर्चाको केन्द्रीय नीति अनुसार झापामा नेकपाले आफू आयोजक बन्दै कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष दीपेनवाला राईले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा माओवादीका नेता राजु आचार्य अग्नि र मोहन टुडूले संयुक्त रुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here