कोशी फेरि पनि सरकारकै सकसमा

0
8

कोशी प्रदेशमा सरकार गठन गर्ने सकस अझै कायम छ । सर्वोच्च अदातलको परमादेशबाट मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि अबको मुख्यमन्त्रीका लागि फेरि रस्साकस्सी शुरु भएको छ । दोस्रोपटक मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । सर्वोच्चको आदेशमा पदमुक्त भएका थापा अहिले फेरि त्यही पदको आकांक्षी देखिएका छन् । विश्वासको मत प्राप्त गर्न विपक्षी दलहरुलाई विश्वासमा लिन नसक्दा थापाले दोस्रो पटक प्राप्त गरेको पद त्याग्नु प¥यो ।

कोशीको प्रदेशसभाको अंकगणित सरल छैन । बहुमत प्राप्त गर्न संघीय गठबन्धन अनुसारका दललाई अझै कठिन छ । यस्तो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विश्वासमा नलिई कांग्रेस नेतृत्वको गठबन्धनलाई फेरि पनि असम्भव छ । अघिल्लो पटक पनि राप्रपाको विश्वास आर्जन गर्न नसकेको गठबन्धनले यसपटक विश्वास प्राप्त गर्ला भन्ने अनुमान गर्नै कठिन छ । फेरि पनि सम्भावनाको खेल हो भनिने राजनीतिमा थापाले कति क्षमता प्रदर्शन गर्छन्, उनी र उनको गठबन्धनको भविष्य त्यसमै निर्भर छ । सत्तामा दुई–दुई पटक पुगेर पनि सत्ता टिकाउन असफल भएका कांग्रेसका नेता थापा यसपटक फेरि अग्नि परीक्षामा सामेल हुँदैछन् ।

एमाले पछिको ठूलो दल नेपाली कांग्रेस आफैं एक ढिक्का छैन । संस्थापन र इतर समूहका आ–आफ्ना तर्क, भनाइ र विचार छन् । यस्तोमा अन्य दलसँग समेत सहकार्य गरेर सरकार बनाउन गठबन्धनलाई सहज छैन । त्यसकै कारण माओवादी केन्द्रका नेता इन्द्र आङ्वोले पनि मुख्यमन्त्रीका लागि दाबी गरेका हुन सक्छन् । यस्तोमा असहज परिस्थिति र आन्तरिक किचलोका कारण कोशी प्रदेशमा कांग्रेसको सत्ता यात्रा अनिश्चित जस्तै छ । सत्ता समीकरण र प्रदेशसभाको अंकगणितकै कारण कोशी प्रदेशमा मध्यावधिमा जानुपर्ने बाध्यता भयो भने मूल धारका दलहरुलाई अस्तित्व रक्षाको चुनौती रहन्छ । यसकारण पनि ती दलहरुले विद्यमान जटिल परिस्थितिबाट सुरक्षित अवतरण खोज्नु पर्छ । त्यो नै उनीहरुको र प्रणालीको रक्षा गर्ने आधार हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here