पहिलोपटक विद्युत् पुगेपछि स्थानीयमा उत्साह

0
10

टक्सार (भोजपुर),

भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका–२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ ।

जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री सहयोग गरेपछि स्थानीयको श्रमदानमा गाउँमा विद्युत् सेवा पुगेको हो । चाडपर्व नजिकिएसँगै यस क्षेत्रका ५० बढी घरपरिवारले विद्युत्को सेवा उपयोग गर्न पाएका हुन् ।

घरमा विद्युत् सेवा पुगेकामा खुसी हुँदै स्थानीय मानबहादुर विश्वकर्माले भन्नुभयो, “गाउँमा विद्युत् सेवा आउनासाथ बिजुली अफिस (प्राधिकरण)बाट मिटर ल्याएर जडान गरेका हाैँ । अन्धकारमा बस्नुपर्ने बाध्यता अब हटेको छ ।” साल्पासिलिछो क्षेत्रको सबै वडा तथा घरधुरीमा भने विद्युत् सेवा पुग्न नसकेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख रामबाबु चौधरीले कार्यालयले दुर्गम क्षेत्रहरूमा समेत बजेटअनुसार विद्युतीकरणको कार्य गर्दै आइरहेको बताउनुभयो । जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले वार्षिक बजेट अनुसारका काम कार्यालयबाट तथा बोलपत्रका माध्यमबाट हुँदै आएको उहाँले जानकारी दिनुभयो । प्रमुख चौधरीले भन्नुभयो, “साल्पासिलिछोका सबै गाउँमा विद्युत् विस्तार गर्ने योजना अनुसार अहिले वडा नं २ मा विस्तार गरेका छौँ । विस्तारै सबैतिर विद्युतीकरण गर्दै जाने छौँ ।”

वडामा पहिलोपटक बिजुली बलेपछि स्थानीय ७२ वर्षीय बलबहादुर लुइँटेलले भन्नुभयो, “यस क्षेत्रमा बिजुली कहिले आउँछ जस्तो लाग्थ्यो, आयो । बिजुली बल्यो विकास भनेको त यो नै हो नि ।” गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको भन्दै स्थानीयको उज्यालोमा बस्ने सपना पूरा भएको वडाध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो । पालिकाले आफ्नो पहिलो प्राथमिकतामा विद्युत् सेवालाई राखेकाले अब सबैतिर विद्युत् विस्तार हुने उहाँको भनाइ थियो ।

साल्पासिलिछो पालिकाभित्र छ वडा छन् । अहिलेसम्म यहाँका केही वडामा मात्र विद्युत् सेवा पुगेको जनाउँदै अन्य वडामा विस्तार हुने क्रममा रहेको वितरण केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here