इजरेल–हमास युद्धका चह¥याइरहेका घाउहरू

0
12

मध्य पूर्व फेरि सङ्कटग्रस्त बनेको छ । हिंसा र प्रतिहिंसाका उतारचढावहरूका अनगिन्ति शृङ्खलाहरू पार गरेको मध्यपूर्व यति बेला फेरि तनावग्रस्त छ । यहुदी (जु) र मुसलमान (मुस्लिम) दुबैले पवित्र धार्मिक स्थलको रूपमा सम्मान व्यक्त गर्ने पूर्वी जेरूसेलमले पटक–पटक युद्धका नगरा बजेको सुन्नु परेको इतिहास छ । सयौं वर्षदेखि यो ठाउँ कहिल्यै शान्त रहन पाएको छैन । यसले सदैव धार्मिक र जातीय हिंसाको केन्द्रको रूपमा रहनुप¥यो । यस पटक पनि यो क्षेत्र फेरि युद्धको भुँवरीमा फँसेको छ ।

जेरुसेलमको अल अक्सा मस्जिद, बेथ्हेलमको जिजसको जन्मस्थल र यहुदीको पवित्रस्थल सबै जेरुसलेमका धरोहर हुन्, तर त्यहीकारणले युद्ध भड्किएको छ । आतङ्कवादी समूहका रूपमा इजरेल, अमेरिका र बेलायतले दर्ज गरेको हमास र इजरेलका बमवारी, गोलावर्षा र रकेट हानाहानले युद्धको भुँवरीमा परेको छन् इजरेल र प्यालेस्टाइन । विश्वभरि छरिएर रहेका यहुदीहरूको राज्य इजरेलको दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा स्थापना भएको थियो भने सोही स्थानमा अरबहरू पनि अस्तित्वको लडाइँ लडिरहेको युग बितिसकेको छ । उनीहरू यी आक्रमणलाई आफ्नो क्षमताको एउटा ‘सानो हिस्सा मात्रै प्रस्तुत’ गरेको भनेर घमण्ड गरिरहेका छन् । इजरेल र प्यालेस्टाइनका विभत्स दृश्यहरूले कोभिड–१९ का त्रासद दृश्यहरूलाई पनि बिर्साउँछ कि झैं भएको छ ।

सन् १९१४ देखि १९१९ सम्म भएको प्रथम विश्व युद्धमा मध्यपूर्वमा शासन गरिरहेको ओटोमन साम्राज्य पराजित भएसँगै ब्रिटेनले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । उक्त स्थानमा अल्पसङ्ख्यक यहुदी र बहुसङ्ख्यक अरबीहरू बसोबास गर्थे । यहुदीहरूका लागि प्यालेस्टाइनमा ‘न्यासनल होम’ स्थापना गर्नका लागि ब्रिटेनलाई अन्तर्राष्ट्रिय समुदायले भनेसँगै त्यहाँका समुदायबीच तनाव बढ्न थाल्यो । यहुदीहरूका लागि त्यो पुख्र्याैली भूमि थियो । तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी राखे र उक्त कदमको विरोध गरे । सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहुदीहरूको सङ्ख्या धेरै बढेर गयो । सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्व युद्धपछि युरोपमा उत्पीडनबाट बच्नका लागि भागेका यहुदीहरू प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले । त्यसपछि यहुदी र अरबीहरूबीच अनि ब्रिटिश शासनबिरुद्ध हिंसा बढ्न थाल्यो ।

सन् १९४७ मा संयुक्त राष्ट्र सङ्घमा प्यालेस्टाइनलाई विभाजन गरी यहुदी र अरब राज्यका रूपमा स्थापित गर्ने र जेरूसेलमलाई अन्तर्राष्ट्रिय शहर बनाउने विषयको पक्षमा मतदान भयो । त्यो योजनालाई यहुदीहरूले स्वीकार गरे तर अरब पक्षले भने त्यसलाई अस्वीकार ग¥यो र कहिल्यै पनि कार्यान्वयन गरेन । समस्या समाधान गर्न नसकेपछि ब्रिटिश शासकहरू सन् १९४८ मा बाहिरिए । त्यसपछि यहुदी नेताहरूले इजरेल स्थापनाको घोषणा गरे । त्यसको कैयौं प्यालेस्टिनीहरूले विरोध गरे र पछि युद्ध पनि भयो । छिमेकी अरब राष्ट्र सिरिया, लेबानन, जोर्डन लगायतका सेनाले आक्रमण गरे । अधिकांश क्षेत्र इजरेलले नियन्त्रणमा लिन सफल भयो । जोर्डनको क्षेत्र वेस्ट ब्याङ्कका रूपमा परिचित भयो भने इजिप्टको कब्जामा रहेको गाजा पनि इजरेलले कब्जा जमायो । जेरूसेलमको पनि विभाजन भयो जसमा पश्चिमी भाग इजरेली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डनको सेनाको नियन्त्रणमा । शान्ति सम्झौता नभएका कारण दुबै पक्षले एक अर्कामाथि आरोप लगाइनै रहे र त्यसपछिका दशकहरूमा युद्ध र तनावपूर्ण अवस्था रहिनै रह्यो ।

सन् १९६७ को अर्को युद्धमा इजरेलले पूर्वी जेरूसेलम, वेस्ट ब्याङ्क अनि सिरियाको गोलन हाइट्सको अधिकांश क्षेत्र, गाजा र इजिप्टको सिनाइ प्रायद्वीप आफ्नो नियन्त्रणमा लियो । समस्याको एक मुख्य जड भनेको इजरेलले जेरूसेलमको पूर्ण भागलाई आफ्नो राजधानी मान्छ भने प्यालेस्टिनीहरूले भविष्यमा बन्ने राज्यको राजधानीका रूपमा पूर्वी जेरूसेलममा दाबी गरेका छन् । जेरूसेलममा इजरेलको पूर्ण दाबीलाई मान्यता दिने केही राष्ट्रहरूमा अमेरिका, बेलायत आदि पर्छन् । पछिल्लो ५० वर्षमा इजरेलले यो स्थानमा आवासीय क्षेत्र विकास गरेको छ, जहाँ छ लाखभन्दा बढी यहुदीहरू बसोबास गर्छन् । गाजामा हमास नाम गरेको लडाकु समूहले शासन गर्छ जसले कैयौं पटक इजरेलसँग युद्ध गरेको छ । इजरेल र इजिप्टले गाजामा हतियार नपुगोस् भनेर कडारूपमा सीमा नियन्त्रण गर्छन् । प्यालेस्टिनी शरणार्थीहरूलाई के गर्ने, वेस्ट ब्याङ्कमा रहेको यहुदी बसोबास कायमै राख्ने कि हटाउने, जेरूसेलम दुई पक्षले भाग लगाउने वा नलगाउने र सबैभन्दा महत्त्वपूर्ण कुरा इजरेलसँगै प्यालेस्टिनी राज्य बनाउने वा नबनाउने आदि विमतिका मुख्य विषय हुन् ।

गत अक्टोबर ७ मा गाजा क्षेत्रबाट पश्चिमा मुलुक र इजरेलले आतङ्कवादी करार गरेको उग्र प्यालेस्टेनी समूह हमासले तेल अभिभ लगायत इजरेलका विभिन्न ठाउँमा हवाइ आक्रमण र बमबारी गरेको छ । सो आक्रमणबाट इजरेली मात्र होइन, अमेरिकी, बेलायती, नेपाली नागरिकको हताहती भएको छ । नेपालका सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसमा अध्ययनरत जो इजरेलमा व्यावहारिक अनुभवसहितको सिक्दै कमाउँदै परियोजना कार्य सम्पन्न गर्न गएका थिए, त्यसमध्ये १० जनाको निधन भएको छ भने केही अझै बेपत्ता छन् ।

गाजा क्षेत्रका नागरिकका लागि मात्र होइन, यतिबेला इजरेलका नागरिकका लागि पनि सारा दुःस्वप्नहरूले रातमा पनि ऐँठन लगाइरहेका छन् । एक हप्ता बढी भयो अनिँदा रात बिताएका उनीहरूले । उनीहरूको पीडाको बयान गरेर साध्य छैन । प्यालेस्टाइनी इन्तेफादा र इजरेली अस्तित्वको प्रश्नका बीचमा सर्वसाधारण मरिरहेका छन् र हामी विश्वका नागरिक दुःख र पीडाका साथ यी सबै दृश्यहरु टुलुटुलु हेरेर बस्न अभिषप्त छौं । आफ्नो माटोप्रतिको अनुराग ज्यादै गहिरो हुन्छ र हरेक प्यालेस्टाइनी माटोमा सङ्घर्षको इतिहास कोरेर त्यँही विसर्जन हुने मान्छेको नियति भोगिरहेको छ । जोकोहीले भूूमिमाथिको बलात्कार सहन सक्दैन र इजरेलीको आँखाबाट हेर्दा उनीहरू यही भनिरहेका छन् । कस्तो दर्दनाक अवस्थामा छौं हामीहरू ? पटक–पटक चहराइरहेको छ प्यालेस्टानी घाउ र एउटा अनुत्तरित प्रश्न रहिरहेको छ लामो समयदेखि कहिले पुरिने हो यो घाउ ? हिंसालाई कुनै पनि अर्थमा स्वीकार गर्न सकिँदैन । चरमपन्थी हमासको आतङ्की हमलाले दिने समस्याको निकास मानवीय हुँदैन । उनीहरूको सोचकै कारण चरम द्वन्द्व शुरु भएकोमा शङ्का छैन ।

लगभग ११ लाख जनसङ्ख्या रहेको गाजापट्टीको उत्तरी क्षेत्रका नागरिकलाई २४ घण्टामा ठाउँ छोड्न दिएको इजरेलको उर्दी मानवताविरोधी हो भनी संयुक्त राष्ट्र सङ्घ लगायत अरब राष्ट्रहरूले विरोध गरिरहेका छन् । जुनसुकै रूपको आतङ्कवादले हल दिँदैन । आतङ्कवादको जात, थर, रङ्ग र सीमा हुँदैन । तर, आतङ्कवादको विरोधमा वक्तव्यको बाढी उराल्दैमा र निर्दोष र निरपराध मानिसलाई मार्दैमा आतङ्कवाद समाप्त हुँदैन । यसका लागि चाहिन्छ– राजनीतिक सच्चरित्रता, इमान्दारिता । हैकमवादी प्रवृत्ति र प्रभुत्ववादी सोचले आतङ्कवादलाई प्रश्रय दिन्छ । सामाजिक सङ्गठनको रूपमा स्थापित हमास आज फौजी सङ्गठनको रूपमा परिणत हुनु दुःखको विषय हो । यसका लागि हमासका आतङ्की सोच र क्रियाकलाप जति जिम्मेवार छन्, त्यति नै इजरेली पक्षका दृष्टिकोण र व्यवहार जिम्मेवार छन् ।
यतिबेला इजरेली सेनाले गाजा पट्टीमा प्यालेस्टिनी विद्रोही विरुद्धको आक्रमणलाई तीव्र पारेको छ र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु प्रति आक्रमणलाई तीब्र बनाउनेमा जोड दिइरहेका छन् ।

प्रधानमन्त्री नेतान्याहु भन्छन्– ‘युद्ध शुरु भएको छ, गाजा क्षेत्र कब्जा गरेर हमासलाई पूर्ण ध्वंश नगरिकन युद्ध रोकिँदैन, युद्ध हमासले शुरु ग¥यो, अन्त्य हामी गर्छौँ ।’ यसबाट के बुझिन्छ भने अहिलेसम्मको हिंसा सामान्य हो, अब हुन्छन् हिंसाका डरलाग्दा घटनाहरू । इजरेल–प्यालेस्टाइन तनावपूर्ण युद्धतर्फ धकेलिन सक्ने चेतावनी विश्व समुदायले दिइरहेका छन्, तर यो विषयलाई गम्भीरतापूर्वक लिन र सोही अनुरूप पहलकदमी दिन कोही तयार छैन । इजरेली सेनाको एउटा वक्तव्यमा हवाइ र स्थल फौजहरूले गाजा क्षेत्रमा रहेका निशानाहरूमा नयाँ कारबाही गरिरहेको जनाएको छ । यसको अर्थ गाजा क्षेत्रका घना आवादीमा क्षेप्यास्त्र र बम आक्रमण हुने भन्ने निस्कन्छ ।

इजरेलले यतिबेला गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिरहेको छ भने सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ । इजरायलका स्थल सेना पनि गाजा क्षेत्रमा प्रवेश गरिरहेका छन् ‘ग्राउण्ड अपरेसन’ का लागि । अहिलेको युद्धबाट सबैभन्दा पीडित बालबालिका र महिला रहेका छन् । उनीहरूका क्रन्दन र चित्कारले इजरेल र गाजाका आकास स्पन्दित छ, उनीहरूका आँसु र वेदनाले वेस्ट ब्याङ्क, तेलअभिभ, गाजापट्टी र गोलान हाइट सम्वेदित छ । भौतिक द्वन्द्वभन्दा पनि खतराजनक मानसिक द्वन्द्व हुन्छ ।

इजरायल र प्यालेस्टाइनबीच शुरु भएको यो युद्ध जातीय र धार्मिक दुबै हो । यो युद्ध रोक्न कूटनीतिक प्रयासको खाँचो छ । संयुक्त राष्ट्र सङ्घ लगायत आम विश्व समुदायले इजरेली र प्यालेस्टाइनीहरूलाई युद्धविराम गरी वार्तामा बसेर समस्याको समाधान गर्न अपिल गरिरहेको छन् । इजरेली र अरबहरू मिलेर बस्ने सपना फगत सपना मात्र भएको छ यतिबेला । युद्धको दबाब र आतंकवादको त्रासमुनि शान्ति र समृद्धिको सपना कसरी पुरा हुन सक्ला र ? पटक–पटकका सन्धि, समन्वय र सहकार्यका आशावादले भरिपूर्ण दिनहरु फेरि पनि पुनरावृत्ति गर्न आवश्यक छ । शान्तिको चाहनाले मात्र समस्याको हल हुन नसक्ने प्रमाणित भइसकेको छ । अब शान्तिका प्रस्तावहरुसहित शत्रुतापूर्ण संवेगका छालहरू बन्द हुनुपर्छ । सकारात्मकताको परावर्तन पनि सकारात्मकता नै हुन्छ । उक्साहट, नकारात्मकता, शत्रुता र कपट बन्द गरेर निर्दोष, निहत्था र आफ्नो गरेर जीविकोपार्जन गरिरहेका दुबै मुलुकका मानिसहरूले अब शान्तिको सास फेर्न पाउनुपर्छ । घृणाको प्यालाबाट प्रेमको अमृत पिउन सम्भव छैन । शान्ति प्राप्तिका लागि शान्तिको मार्ग हिँड्न जरुरी छ ।

हिंसा र प्रतिहिंसाको कहालीलाग्दो शृङ्खलालाई रोकेर खुला हृदयले दीर्घकालीन सोचका साथ सबै विषयमा सफा र सिधा वार्ताका लागि युद्धविराम आवश्यक छ । संयुक्त राज्य अमेरिका, रुस, चीन, बेलायत, इरान, टर्की, लेबानन लगायतका मुलुकले मध्य पूर्वमा शान्ति बहालीका लागि पहल लिन आवश्यक छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को यो युद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका रहन्छ । इजरेल र प्यालेस्टाइनी जनताको सुरक्षा र बचाउका लागि सबै पक्ष गम्भीर हुन आवश्यक छ । मध्य पूर्वको यो पीडा, यो रोदन र यो बेहाल रोकिनुपर्छ । स्वाभिमान र आधिपत्यको अहम्ले सृजेका मानवता विरोधी सारा अपराधको अन्त्य हुनुपर्छ । महिला र बालबच्चाका रोदन र चित्कार बन्द हुनुपर्छ । आफ्नै मुलुकमा घरबारविहीन बनेर शरणार्थीको जीवन बाँच्न बाध्य प्यालेस्टाइनीको हृदयविदारक कथाको अब अन्त्य हुनुपर्छ र इजरेली जनताले पनि शान्तिपूर्वक काम गरेर बाँच्ने पूर्ण सुरक्षाको ग्यारेन्टी हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here