चुलाचुलीमा बृहत श्रमदान अभियान

0
13

कमल ।

इलामको चुलाचुली–१ स्थित शहीद माङ्तोक टोल विकास संस्थाको आयोजनामा सञ्चालित बृहत श्रमदान अभियान अन्तर्गतको पहिलो चरणको कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका– ३ स्थित बाल्मिकी चौकदेखि इलामको चुलाचुली जोड्ने लगभग दुई किलोमिटर सडक स्थानीय जनश्रमदानबाट स्तरोन्नति गरिएको हो । श्रमदान कार्यक्रममा चुलाचुली र कमल गाउँपालिका तथा शिवसतासी नगरपालिकाका जनप्रतिनिधि, चुलाचुली गाउँपालिका निवर्तमान अध्यक्ष प्रदीपचन्द्र राई, टोल विकास संस्थाका प्रतिनिधि, तीन वटै पालिकाका जनताका, शहीद धर्मभक्त माध्यमिक विद्यालय कमल–३ का स्काउटका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समय विभिन्न यान्त्रिकरणको सहायताले सडक निर्माण हँुदै आएकोले मानिसमा श्रमदान गर्ने बानी हराउँदै गएको छ । त्यसैले नागरिकलाई श्रमदानको माध्यमबाट पनि स्थानीय ठाउँको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले श्रमदानको माध्यमबाट सडकको स्तरोन्नति गरेको शहीद माङ्तोक टोल विकास संस्थाका अध्यक्ष सन्तोष थाम्सुहाङले बताए ।

आफूले निर्वाचनताका पनि यो सडकलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने प्रतिबद्धता जनाएका थिए । स्थानीयले श्रमदान गरेर सडकलाई स्तरोन्नति गरेको भन्दै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले सडकलाई पूरा गर्ने जिम्मा गाउँपालिकाले लिने बताए ।

वडामा भएको सीमित स्रोतसाधन र बजेटले चाहे अनुसारका सबै काम पूरा गर्न नसकिने भन्दै अध्यक्ष केरुङले विकास निर्माणमा नागरिकको पनि सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे । त्यस्तै आगामी दिनमा समेत यसरी श्रमदानको माध्यमबाट हरेक काम गर्ने १ नम्बर वडाध्यक्ष पूर्ण लावतीले बताए ।

कार्यक्रममा कमल गाउँपालिका–३ नम्बर वडाध्यक्ष अग्निप्रसाद कोइराला, शिवसतासी नगरपालिका–१ वडाध्यक्ष लक्ष्मी चेम्जोङ, चन्द्रवीर नेम्वाङ लगायतले निर्माणाधीन सडकले अन्तरपालिका जोड्ने भएकोले तीन वटै पालिकाको समन्वयमा सडक निर्माण गर्नुपर्ने बताए ।

श्रमदानका लागि आवश्यक खर्चको व्यवस्थापन कमल युथ कोरिया र प्रवासी कमले व्यहोरेको छ भने सहप्रायोजकमा प्रगति युवा समूह चुलाचुली–१, कमल रहेको छ । शहीद माङ्तोक टोल विकास संस्थाकी सचिव विष्णुमाया सिटौलाले सञ्चालन गरेको कार्यक्रममा तिलक फागोले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here