बिर्तामोडमा तीन महिनामा ४५ मोवाइल चोरी ४९ हराए ११ फेला, चोरले सीमापारी बेच्दा भेट्न मुस्किल

0
19

बिर्तामोड ।

पछिल्लो समय झापामा मोबाइल चोरीका घटनामा बृद्धि भएको छ । चोरी गर्ने गिरोहले बिर्तामोडसहित विभिन्न क्षेत्रमा मोबाइल चोरी गर्ने गरेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल चोरीका घटनाका उजुरी पर्ने क्रम बढेको छ । २०८० असार १ गतेबाट भदौ ३१ गतेसम्ममा ४५ वटा मोबाइल चोरी भएको उजुरी दर्ताा भएका छन् । त्यस्तै सोही अवधिमा ४९ वटा मोबाइल हराएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

तीन महिनाको अवधिमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको तथा १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले बराामद गरेको सात र फेला पारेको ११ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीको तथ्याङ्कमा उल्लेख छ ।

चोरीमा संलग्नहरुले घरमा कोही नभएको मौका पारी तथा बिहानको समयमा चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । बिहानको समयमा मर्निङ वार्कमा निस्कने समयमा चोरले दाउ हेर्ने र मोबाइल चोरी गरेर फरार हुने तथा रातको समयमा झ्याल ढोका खुल्ला राखेर सुत्ने गर्दा चोरले सहजै रुपमा मोबाइल चोरी गर्ने गरेको पाइएको डीएसपी कार्कीले बताए ।

चोरीका घटनामा बृद्धि भएको जनगुनासो बढेसँगै विभिन्न समयमा प्रहरी गस्ती टोली खटिने गरेको जनाइएको छ । चोरले एकै स्थानमा मात्र नभई फरक–फरक स्थानमा चोरी गर्ने गरेकाले सबैतिर निगरानी बढाएको बताइएको छ ।

चाडपर्वको समयमा चोरीका घटनामा बृद्धि हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै निगरानी बढाएको र शंकास्पद गतिविधि गरेको थाह पाएमा तत्काल प्रहरीलाई खबर गर्न डीएसपी कार्कीले आग्रह समेत गरेका छन् ।

यसैबीच पूर्वाञ्चलसँग कुरा गर्दै डीएसपी कार्कीले चोरी गरेको मोबाइल कसैलाई नकिन्न आग्रह गरे । उनले भने– सस्तोदरमा कसैले चलाउँदै गरेको मोबाइल बेच्न चाहन्छ भने सबै कागजपत्र हेरेर मात्र किन्न आग्रह गर्दछु । उनले चोरीको मोबाइल कसैले किनेमा उसलाई समेत पक्राउ गरेर अनुसन्धान गर्ने बताए । डीएसपी कार्कीले भने– म आए लगत्तै बिर्तामोडमा सबै मोबाइल पसलका सञ्चालकहरुसँग अन्तरक्रिया गर्दै चोरीका मोवाइल नकिन्न आग्रह गरेको छु, कसैले किनेको थाहा पाए कानून अनुसार कारबाही हुन्छ ।

उनले मोबाइल चोरी गर्नेहरु लागूऔषध लगायतको कुलतमा फस्ने गरेका युवाहरु रहेको बताए । उनले लागूऔषध प्रयोग गर्नकै लाागि मोबाइल चोरी गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको उल्लेख गरे । चोरी गर्ने गिरोहले विभिन्न ब्राण्डका मोबाइलहरु चोरी गर्ने र कतिपय मोबाइलहरु भारतको पानीट्याङ्की पु¥याएर बेच्ने गरेको पाइएको छ । प्रहरीले विक्री गरिएका कतिपय मोबाइलहरु ल्याउन सफल भए पनि कतिपय मोबाइलहरु नभेटिएको बताएको छ ।

विगतमा आईएमईआई कोडका आधारमा चोरिएको मोबाइल सजिलै भेटिए तर अहिले अन्तरदेशीय ट्रेस सिस्टम नहुँदा मोबाइल भेटिन मुस्किल भएको प्रहरीले जनाएको छ । पहिले चोरी भएका मोबाइल नेपालमै सस्तो मूल्यमा बिक्री हुने गरेका थिए । मोबाइलमा कुनै सिम लगाउने बित्तिकै खोजी गर्दा भेटिन्थ्यो । तर, अहिले नेपालमा चोरी भएको मोबाइल विभिन्न माध्यम तथा चोरबाटो हुँदै भारतलगायतका देशहरुमा लगिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै भारतमा चोरी भएका मोबाइल पनि नेपालमा बिक्री हुने गरेको पाइएको छ । नेपाल प्रहरीका अनुसार चोरी भएका मोबाइलको आईएमईआई कोडसहित अपराध अनुसन्धान महाशाखामा हराएको निवेदन दिएपछि त्यसको खोजी प्रक्रिया शुरु हुने जनाइएको छ । सीमित स्रोत र साधनका कारण पनि मोबाइल चोरीका घटनाका कतिपय अनुसन्धान तदारुकताका साथ हुन नसकेको जनाइएको छ ।

नेपाल प्रहरीले कोड ट्रेसिङका लागि अदालतमा अनुमति माग्नुपर्ने र अदालतले कोड ट्रेसिङको अनुमति दिएपछि नेपाल प्रहरीले नेपाल टेलिकमलाई कोड ट्रेसिङका नम्बरहरू पठाउने गर्छ । नेपाल टेलिकमले मोबाइलको ट्रेसिङ गरेर चोरिएको मोबाइल खोज्न प्रहरीलाई सहयोग गर्ने गरेको बताइएको छ । नेपालमा हराएका मोबाइलको ट्रेसिङ नेपालभित्र प्रयोग हुने मोबाइलमा मात्र हुने गरेको हुँदा अहिले चोर बाटो भएर सीमा कटाएर बेच्ने हुँदा चुनौति भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच मोबाइल चोरी हुनासाथ त्यसमा रहेका एपहरुको पासवर्ड परिवर्तन गर्न प्रहरीले सुझाव दिएको छ । मोबाइल चोरी गर्नेले व्यक्तिगत जानकारी थाहा पाउन सक्ने भएकाले जतिसक्दो चाँडो मोबाइल बैकिङ, इमेल र सामाजिक सञ्जालहरुको पासवर्ड परिवर्तन गर्न सुझाव दिइएको छ । मोबाइल चोरी भए वा हराएमा तुरुन्त आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा सम्पर्क गर्दै फोनमा रहेको एप ब्लक गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले राति आफ्नो घरको झ्याल ढोका बन्द गर्न आग्रह गरेको छ । साथै चोरी भएमा तत्काल प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here