संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसमा शान्ति पदयात्रा

0
12

काठमाडौँ,

नेपाली सेनाले बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन–डे) मनाउँदैछ ।

राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यस पटक नेपालमा बडादसैँ पर्व परेकाले बुधबार नै ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा ‘युएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । राष्ट्रसङ्घका महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद र सचिवालय राष्ट्रसङ्घका अङ्ग हुन् ।

अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पति, सामुद्रिक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायतका उक्त विश्वसंस्थाका १५ वटा विशिष्टीकृत संस्था छन् । संयुक्त राष्ट्रसङ्घका ती संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलबायु र हुलाकका क्षेत्रमा सहयोेग पुर्‍याउँदै आएका छन् ।

नेपाल सन् १९५५ डिसेम्वर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसङ्घका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदैआएको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवक्षकको तैनाथबाट सेनाको राष्ट्रसङ्घ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो । पहिलो नेपाली युनिट पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा तैनाथ भएको थियो ।

सेनाले इन्जिनियर, मेडिकल टोली र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज पठाएर राष्ट्रसङ्घको शान्ति कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायतका निकायबाट उच्च प्रशंसा हुँदैआएको छ । शान्ति कार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएको छ ।

विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने अन्य ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरियतामा भएको राष्ट्र हो । हाल विश्वका १३ वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

अघिल्लो वर्ष ‘युएन–डे’ का अवसरमा कात्तिक ५ गते विशेष कार्यक्रम तथा ६ गते ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको विकास तथा नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले राष्ट्रसङ्घ सचिवालय सहयोग परिचालन विभाग र सूचना तथा सञ्चार प्रविधि कार्यालयद्वारा शान्ति स्थापना कार्यमा सहकार्य विषय यहाँ सङ्गोष्ठी गरियो । ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको उक्त गोष्ठी गत जेठ ३० देखि असार १ गतेसम्म भएको थियो ।

वर्तमान विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्ने हेतुले नेपालले उक्त कार्यक्रम गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here