मिथिलाको पहिचान झिझिया नृत्य

0
21

नेपालमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको आफ्नो धर्म, भाषा, संस्कृति, जाति, परम्परा हुन्छ । हिमाल, पहाड, तराई कोही छैन पराई भावनालाई आत्मसाथ गर्दै सबैको धर्म, संस्कृति, परम्परा र भाषाको जगेर्ना गर्नु संरक्षण र सम्मान गर्नु हामी सबैको कर्तव्य हो । धर्म, संस्कृति, कलाको कारण हाम्रो जीवन सहज, सरल र सरस हुन्छ । सबै मानिसको आफ्नो लोक कला हुन्छ र लोक नृत्य हुन्छ, लोकनृत्यभित्र लुकेका रसरंग, व्यंग भावले हामीलाई हर्षित बनाउँछ । हाम्रो देशमा धेरै नृत्यहरु प्रसिद्ध छन् । जस्तैः टप्पा नृत्य, घाटु नृत्य, धिमे नृत्य, सोरठी नृत्यसँगै मिथिलाञ्चल र तराईको झिझिया नृत्य पनि एक हो ।

नेपालीको महान चाड विजयादशमीको आगमनँसँगै सम्पूर्ण नेपालीको मन खुशी र तरंगित हुन् थाल्छ । किनभने नवरात्रीमा भगवतीको पूजापाठसँगै साथीभाइ आफन्तको भेटघाट आशीर्वाद लिने र दिने गरिन्छ । तराईमा पनि पूजापाठ सँगसँगै झिझिया नृत्यको पनि आनन्द लिने गर्छन् । तराईका विभिन्न शक्तिपीठमा पूजासँगै झिझिया नृत्यको रौनकले वातावरण रमाइलो हुन्छ । घटस्थापना शुरु भए लगत्तै मिथिलाञ्चालमा पारिवारिक सुरक्षा र टुना–मुना बचाउनको निमित्त लोक अनुष्ठानको रुपमा झिझिया नृत्य शुरु हुन्छ ।

महिलाहरुबाट नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म गर्ने चलन छ । झिझियाको मूल उद्देश्य समाजमा रहेको नकारात्मकताबाट आफ्नो सन्तानको रक्षा गर्नुपर्ने रहेको छ । झिझिया मैथिली समाजको लोकनृत्य हो । यो लोकनृत्यको माध्यमबाट महिलाहरु आफ्नो आराध्यसँग समाजमा सुविचार र सुसंस्कारको कामना गर्दछन् । छिटोभन्दा छिटो दुर्विचारलाई समाप्त गरेर समाजमा सद्भाव र सद्विचार ल्याउने प्रार्थना गर्छिन् । गीत–संगीतको माध्यमबाट समाजमा व्याप्त रहेको कुविचार हटाउने प्रार्थना पनि गर्छिन् ।

झिझिया नृत्यमा टाउकोमा साना–साना प्वाल पारिएको घैटो राखेर निरन्तर नाची रहनुपर्छ । घैटोमा पारिए को प्वाल कुनै नकारात्मक शक्तिले गन्न नभ्याउनु भनेर नाच्ने महिलाहरु उभिएको बेला पनि आफ्नो टाउको हल्लाइ राख्नुपर्छ । यदि नकारात्मक शक्तिले घैटोको प्वाल गन्न भ्याए भने प्वाल भएको घैटो बोक्ने महिला त्यही ठहरे हुन्छन् भन्ने जनविश्वास आज पनि कायम नै छ । त्यसकारण घैटोको तान्त्रिक बिधि अनुसार टाउकोमा राख्नुभन्दा अगाडि झिझियालाई कुनै गुनी, ज्ञानी ओझा (धामी)बाट छेकबार गरिन्छ । घैटोभित्र बल्दै गरेको दियो राखिन्छ । यसरी मन्त्रले पूजा गरी पाँचदेखि पन्ध्रसम्म महिलाको टोलीमध्ये एक महिला हातको सहारा नलिइकन नृत्य गर्छिन् । महिलाहरुको टोली सबैभन्दा पहिले ब्रम्हा स्थान पुगेर नृत्य गर्ने गर्छ, त्यसपछि घर–घर, टोल–टोल पुगेर नृत्य देखाउने परम्परा रहेको छ ।

उनीहरुले प्रत्येक घरबाट पूर्ण आहुतिका लागि अन्न, पैसा र तेल माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर बिजयादशमीको दिन पूजापाठ, भोजभात र प्रसाद वितरण गरेर झिझिया नृत्यको विसर्जन वा समाप्ति हुन्छ ।

यस नृत्यको अर्को उद्देश्य विजया दशमीको बेला भगवतीको आराधना स्तुति पनि गर्नु रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरुमा भगवतीलाई प्रार्थना गरिएको अत्यन्त मोहक र पावन गीतहरु गाउने गर्छन् । हरेक वर्ष दशैंमा आफ्नो विशेष सवारीका साथ आउने भगवतीको श्रृंगार, डोलीमा सवारी र भगवतीको गन्तव्यको सजिव चित्रण गरिएको गीतहरु झिझिया नृत्यमा गाइन्छ । नृत्यको सबल प्रश्न नृत्यसँग गाइने गीतहरु नै छन् । झिझियामा दुई प्रकारका गीतहरु हुन्छ– एक भगवतीको महिमा बखान र दोस्रो नकारात्मक शक्तिलाई गाली गर्ने र धम्क्याउने गीतहरु हुन्छन् । जस्तैः

लील रंग डालीमा सबुजेंग ओहरिया
भैया गे भीडी गेलाह बत्तिसो कहार,
कमरुवा देश मैया कब् जईये गे !
त्यस्तै अर्को गीतको माध्यमबाट पनि नकारात्मक शक्तिलाई यस्तो गाली गरिन्छ ः
कोठा के उपर डैनिया,
खिड्की लगैले ना ,
गुनावा चलैले ना,
आगे किछु होएतो डैनिया,
गदहा पर चढैबौ गदहा चढाए
डैनिया नमुहा हसैबो ना !

दशैंको बेला टुना–मुना, तन्त्र–मन्त्र सिक्नेहरु बढी हुन्छन् । दशैंको बेला तन्त्र–मन्त्र सिकेर सिद्ध भयो भने निकै प्रभावकारी र अकाट्य हुन्छ भन्ने विश्वासका साथ धामी–झाक्री बढी आकर्षित हुन्छन् । उनीहरुको यस्तै चहलपहल बढी देखिएको हुनाले ग्रामीण क्षेत्रका महिलाहरु त्यसबाट जोगिनका लागि झिझिया नृत्य गरेर नकारात्मक शक्तिलाई गीत–संगीतको माध्यमबाट गाली गरिरहेका हुन्छन् । नकारात्मक शक्तिबाट जोगिन आफ्ना साना बालबालिकालाई कालो कपडामा लहसुन, हिंग कालो धागोमा बाँधेर आफ्नो बच्चाहरुको घाटीमा माला लगाई दिन्छन् । तर, अहिल्ये यो नयाँ पुस्ता झिझिया के हो भन्ने कुरा र यस लोकसंगीत नृत्यबाट अनभिज्ञ छन् । झन् शहरतिरका युवा पुस्तालाई त झिझिया के हो भन्ने केही थाह छैन ।

अब यो मिथिलाको लोकसंस्कृतिलाई कसरी जोगाउने चिन्ता पुरानो पिँढीलाई छ । अबका युवा–युवती सामाजिक सञ्जालमा यति लिप्त छन् कि आफ्नो कलासंस्कृति, परम्परा कसरी जोगाउने, यसलाई कसरी थाती राख्ने कुरासँग टाढा छन् । तर, हाम्रो कलासंस्कृति विरासतको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । त्यसैकारण आउने सन्ततिलाई पनि हाम्रो धर्म–संस्कृति, कलाको ज्ञान होस भन्नका लागि अहिलेदेखि नै प्रयास गर्नु आवश्यक छ ।

बदलिँदो समयमा नकारात्मक शक्ति, धामी–झाक्री जस्तो अन्धविश्वासको खाडलबाट माथि उठ्नु पर्छ । अब त सरकारले पनि कसैलाई यस्तो आरोप लगायो भने सजायको प्रावधान ऐनमा तोकिएको छ । समाजका अगुवाहरुका अनुसार लोकसंगीतको जीवन्त प्रस्तुती झिझिया नृत्य संस्कृतिको निरन्तरताले अन्धविश्वास उखेल्न गाह्रो भएको छ । यो पर्व र नृत्यलाई अन्धविश्वासबाट छुट्याएर संस्कृतिको पर्वको रुपमा रुपान्तरण गर्नु नै आजको आवश्यकता रहेको छ । झिझिया लोकनृत्य धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लाहरुमा मनाउने गरिन्छ । झिझिया संस्कृति कुनै जाति बिशेष नभई सम्पूर्ण मैथिली क्षेत्रको धरोहरको रुपमा यस झिझिया नृत्यको आफ्नो मौलिक पहिचान र उद्देश्य रहेको बुझिन्छ ।

समाज विकाससँगै मानिस आधुनिक हुनुका साथै आत्मकेन्द्रित हुन् थालेका छन् । त्यसकारण नयाँ पुस्तालाई यस्तो धरोहर हस्तान्तरणका निमित्त सबैको पहल र चासोको आवश्यकता रहेछ । सामाजमा बोक्सी को उपस्थित रहेको भन्दै सातौ वा आठौं शताब्दीतिर बोक्सीबिरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको शुरुवात भएको इतिहासकारहरु बताउँछन् । घैटोभित्र बलिरहेको आगोको डल्लो टाउकोमा राखेर नृत्य गर्नु आफूमा साहस र कलाको अलौकिक प्रदर्शन झिझिया नृत्य हो ।

विगतमा २०५६ सालमा नेपाल सरकारको हुलाक विभागले झिझिया नृत्यको संस्कृति महत्व झल्काउने हुलाक टिकट समेत प्रकाशित गरेको थियो । लोपोन्मुख रहेको यस्तो लोक सम्पदा संस्कृति शिक्षाको बिस्तारसँगै अन्धविश्वासमा कमी आएको देखिन्छ । आजभोलि हाम्रे अग्रज यस लोकनृत्यको निरन्तरता नपाउँदा धेरै दुःखी छन् । त्यसकारण आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षण र जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । लोप हँुदै गएको यस झिझिया नृत्यलाई संरक्षण गर्नु आजको आवश्यकता रहेको छ । कला, संस्कृति, परम्परा नयाँ पुस्ताले अपनाउनु पर्छ । किनभने यो हाम्रो पहिचान पनि हो । वर्तमानमा बदलिँदो परिवेशमा अन्धविश्वासको जरा उखेलेर सभ्य र सुन्दर समाजको निर्माण गर्नु नै आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here