कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’

0
9

चितवन,

बडादसैँ घर–घरमा हर्षाेल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।

कैद जीवन बिताउँदै आएका कैदीबन्दी विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैँ मनाउने तयारीमा जुटेका छन् । दसैँ सुरु भएसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । कतिपय कैदी नयाँ हुन् भने अधिकांश पुराना छन् ।

हेटौँडाकी शर्मिला शर्माले (नाम परिवर्तन) घरगाउँको दसैँको सम्झनासमेत हुन छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ बस्यो त्यही रमाउने हो ।” घरगाउँको जस्तो नभए पनि यहाँ छुट्टै रमाइलो हुने गरेको उहाँले बताउनुभयो ।

“चाडपर्वमा परिवारसँग बस्न पाइएन भन्ने हो । विगत आठ वर्षदेखि चाडपर्व कारागारमै मनाइरहेका छौँ”, शर्माले भन्नुभयो, “परिवारका सदस्यले कहिलेकाँही टीका लगाइदिन आउने गर्नुहुन्छ । कहिलेकाहीँ परिवारको याद निकै आउँछ ।” कोही त भेटघाटमा आए पनि परिवार सम्झेर चाडपर्वमा रुने गरेको उहाँले सुनाउनुभयो ।

भरतपुर महानगरपालिकाका रमेश विश्वकर्मा (नाम परिवर्तन)लाई चाडपर्वको समयमा परिवारको यादले सताउने गरेको बताउनुहुन्छ । सुरुआती दिनमा त निन्द्रासमेत नलागेको भए पनि अहिले बानी परिसकेको उहाँको भनाइ थियो । चाडपर्वको महत्व कारागारले बुझाएको बताउँदै उहाँले कारागारमा बसेर दसँै मनाउनु पर्दा निकै दुःख लाग्ने गरेको बताउनुभयो ।

विगत १५ वर्षदेखि हरेक पर्वलाई कारागारमा मनाउने गरेको भन्दै विश्वकर्माले आफूहरू जहाँ बस्यो त्यसलाई घर सम्झेर रमाइलो गर्ने गरेको अनुभव सुनाउनुभयो । कारागारभित्रै उत्साहका साथ दसैँ मनाउने गरेको उहाँले बताउनुभयो ।

विगत चार वर्षदेखि कारागार जीवन बिताइरहेका हरि शर्मा (नाम परिवर्तन)लाई पनि चाडपर्वमा परिवारका सदस्य आएर टीका लगाइदिँदा निकै नरमाइलो लाग्ने गरेको बताउनुभयो । गाउँघरमा बसेर परिवारका साथ दसँै मनाउन पाउँदा निकै रमाइलो हुने गरेको भन्दै अहिले कारागारमा नै रमाइलो गर्न थालेको उहाँको भनाइ थियो ।

शर्माले भन्नुभयो, “अब हाम्रा लागि कारागार नै घर हो । यही रमाइलो गरेर दसैँ मनाउने हो ।” यहाँ चाडपर्वको समयमा हुने गरेका विभिन्न प्रतियोगिताले बाहिरको झल्को मेटाउने गरेको उहाँको भनाइ थियो ।

दसैँलाई लक्षित गरेर कारागारभित्र खेलकुद, विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको कारागारका प्रमुख (जेलर) कमलप्रसाद आचार्यले बताउनुभयो । विगतमा जस्तै गरी यस वर्ष पनि कैदीबन्दीको तर्फबाट खसी, राँगा ल्याउने, मौलो पूजा गर्नेलगायत काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

“टीकाको दिन सामूहिक टीका ग्रहण, टीकाअगाडि सामूहिक भोजजस्ता कार्य हुने गरेको छ”, आचार्यले भन्नुभयो, “दसैँमा कडा सुरक्षाका साथ परिवारसँग टीका लगाउन दिने गरी तयारी गरेका छौँ । टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म टीका ग्रहणका लागि समय दिने छौँ ।”

उहाँका अनुसार कारागार कार्यालय चितवनमा अहिले सात सय २९ कैदीबन्दी छन् । जसमध्ये ४४ महिला र पाँचजना बालबालिका छन् भने बाँकी पुरुष छन् । पाँच सय पाँच जनाको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका आचार्यले बताउनुभयो । उहाँका अनुसार यो हिन्दूहरूको महान् पर्व भए पनि सबै धर्म समुदायले आ–आफ्नो हिसाबले मनाउने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here