झापामा यस वर्ष दशैंको समयमा सवारी दुर्घटनामा कमी

0
16

बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सक्रियताका कारण यस वर्ष दशैंको समयमा सवारी दुर्घटनामा कमी आएको छ ।

वडा दशैंको घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा जिल्लाका विभिन्न स्थानमा २२ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सोही अवधिमा गत वर्ष ४० वटा सवारी दुर्घटना भएका थिए ।

सवारी दुर्घटनामा कमी आए पनि यस वर्ष मृत्युमा भने वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा छ जनाको मृत्यु भएकोमा यस वर्ष सात जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा भएका दुर्घटनामा ३० जना घाइते भएका छन् ।

गत वर्ष सोही अवधिमा ६२ जना घाइते भएका थिए । यस वर्ष ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकजाँचलाई कडाइ गरिनुका साथै झापा प्रवेश गर्ने स्थान दमकको ताराबारीमा चालकको स्वास्थ्य परीक्षण लगायत सवारी अवस्थाको बारेमा बुझ्ने काम भएकाले पनि यसपटक ठूला दुर्घटना नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

प्रहरी निरीक्षक न्यौपानेले भने– ‘चाडबाडको समयमा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना नभएको र भित्री सडकखण्डमा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । जहाँ ट्राफिक प्रहरीको उपस्थिति कम हुने गरेको छ ।’

उनका अनुसार चाडपर्वलाई दुर्घटनारहित बनाउन विभिन्न सचेतनामूलक अभियानसँगै चेकजाँचमा पनि कडाइ गरिएको थियो । ट्राफिक प्रहरीको चेकजाँच अभियानमा घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा गरिएको मापसे चेकजाँचमा ५७ जनालाई कारवाही गरिएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख गरिएको थियो ।

गत वर्ष सोही अवधिमा ६७ जना मापसे कारवाहीमा परेका थिए । ट्राफिक नियम उल्लंघन गर्ने ११ सय ४६ वटा सवारीलाई कारवाही गर्दा सात लाख ५४ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

गत वर्ष एक हजार चार सय ९९ वटा सवारीलाई कारवाही गर्दा १० लाख दुई हजार राजश्व संकलन भएको थियो । यस वर्ष विभिन्न स्थानमा गरिएको चेकजाँच कडाइका कारण ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरीले यस वर्ष लापसे चेकजाँच पनि गरेको थियो ।

बडादशैं शुरु हुनुभन्दा केही समय अगाडि काँकरभिट्टामा गरिएको लापसे चेकजाँचका क्रममा पाँच जना चालकमा लापसे पोजेटिभ देखिएपछि आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई बुझाइएको ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

लापसे चेकजाँचका लागि आवश्यक किटको अभावका कारण व्यापक रुपमा चेकजाँच गर्न नसकिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here