सकियो ठूलो चाड

0
90

यस बर्षको नेपालीको महान चाड वडादशैं समापन भएको छ । असोज २८ गते घटस्थापना गरी शुरु भएको दशैं कात्तिक ११ गते कोजाग्रत पूर्णिमासँगै समापन भएको हो । मीठो खाने, राम्रो लगाउने र मान्यजनहरुबाट देवी दुर्गाको प्रसादका रुपमा टीका–जमरासहित आशिर्वाद लिएर मनाइने यो दशैंको अन्तिम दिनदेखि आकाश दीप बालेर धन, सुख र ऐश्वर्यकी देवी महालक्ष्मीलाई स्वागत गर्ने लौकिक परम्परा छ । दशैंलाई परम्परागतरुपमा मान्दै आएका नेपालीका लागि पछिल्लो समय भेटघाट र बन्धु मिलनको उत्सवका रुपमा समेत हेर्न थालिएको छ । परदेश गएको परिवारका सदस्यहरुसँग समेत भेट गराउने यो पर्वको यस कारणले पनि सामाजिक तथा व्यवहारिक महŒव रहेको छ ।

दुर्गा माताका तीन वटा रुप मध्येको एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई विदा गरेपछि आकाशदीप बालेर भगवान विष्णुलाई समर्पण गरिन्छ । आकाशदीप सौभाग्य, सम्पत्ति र श्रेय प्राप्तिको कामनाका लागि समेत बाल्ने गरिन्छ । भनिन्छ टाडा गएका परिवारका सदस्य पनि यतिबेला घर फिर्छन् र उनीहरुको स्वागतका लागि समेत आकाशदीप बाल्ने प्रचलन शुरु भएको हो । कोजाग्रत पूर्णिमाको राति ऐश्वर्यकी देवी घर–घर डुलेर क–कसले मेरो स्मरण र पूजा गरेका छन् भनेर हेर्छिन् भन्ने जनविश्वास छ । त्यही विश्वास अनुसार महालक्ष्मीको स्वागतमा रातभर जाग्राम बस्ने नेपाली परम्परा ग्रामीण समाजमा कायमै छ ।

अबको पक्ष महालक्ष्मीको पूजा आराधनाको पक्ष हो । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई स्वागत गर्दै जीवजन्तु, चराचुरंगी लगायत प्रकृतिको विशेष पूजा गरिने यो पर्वको छुट्टै र विशिष्ट महत्व छ । यमपञ्चकका पाँच दिन मध्येको सबैभन्दा ठूलो मानिने भाइ तिहार नेपाली समाजमा दिदीभाइ र दाजुबहिनीको पवित्र सम्बन्धको प्रतीकका रुपमा स्थापित छ । त्यसैले हाम्रो चाडपर्वहरुलाई परम्परा र संस्कृतिको सेतुका रुपमा बलियो बनाउन जरुरी छ । यसमै हाम्रो अस्तित्व र परिचय सुरक्षित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here