जलथल ।

हल्दिबारी गाँउपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड जलथलको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष कृष्णमाया गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्था सञ्चालक समितिको प्रतिवेदन अध्यक्ष गिरीले र लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा समिति संयोजक सीतादेवी ढुंगेलले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको जम्मा शेयर पुँजी दुई करोड ३७ लाख ७२ हजार तीन सय रुपैयाँ, कोष हिसाबहरुमा दुई करोड ३२ लाख ४६ हजार नौ सय १३ रुपैयाँ, कुल निक्षेप सात करोड तीन लाख २५ हजार एक सय ८४ रुपैयाँ, ऋण लगानी १९ करोड २५ लाख ७९ हजार सय ३४ रुपैयाँ रहेको छ ।

त्यसैगरी संस्थाको गत आर्थिक वर्ष २०७९/०८० को जम्मा आम्दानी छ करोड १३ लाख ३६ हजार चार सय तीन रुपैयाँ, जम्मा खर्च पाँच करोड ४९ लाख १९ हजार आठ सय ७७ रुपैयाँ र जम्मा नाफा ६४ लाख १६ हजार पाँच सय २६ रुपैयाँ रहेको छ ।
त्यस्तै कार्यक्रममा संस्थामा विशेष योगदान पु¥याउने सञ्चालक गोमा काफ्ले, उत्कृष्ट कृषक समूह नं. २१८ कि सदस्य शर्मिला लामिछाने, संस्थालाई कृषि सहकारीको रुपमा पहिचान स्थापित गराउन सफल कर्मचारीद्वय दूग्ध व्यवस्थापक रामबहादुर भारती र फिल्ड सहायक भीमा दाहाल निरौलालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रशंसा पत्र, नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको हो । सम्मान कृषक लामिछानेलाई एक थान स्प्रे ट्यांकी पनि प्रदान गरिएको थियो ।

त्यसैगरी गत शैक्षिक वर्ष २०७९ को एसईई परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीहरु मध्ये उत्कृष्ट अंक ल्याउन सफल हल्दीबारी माध्यमिक विद्यालयका आयुष काफ्ले र शलिना दाहाल तथा लक्ष्मी माध्यमिक विद्यालयका सम्रिता पाण्डे र क्षितिज वन रहेका छन् । उनीहरुलाई प्रशंसापत्र र नगद पुरस्कासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा ११ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान पत्र, नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै हाल क्यान्सर रोगका कारण उपचाररत् शेयर सदस्यद्वय शान्ता सुवेदी र सरस्वती बस्नेत भट्टराईलाई जनही नगद पाँच हजार सहयोग रकम प्रदान गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्षद्वय देवीबहादुर थापा र सन्तकुमार थापा, हल्दिबारी गाँउपालिका कृषि शाखाकी अधिकृत अल्का ढकाल, साना किसान विकास बैंक बिर्तामोडका प्रबन्धक सुवास गौतम, साना किसान कृषि सहकारी संस्था लिमिटेड हल्दिबारीका अध्यक्ष मोहनचन्द्र रेग्मी, साना किसान कृषि सहकारी संस्था पृथ्वीनगरका प्रबन्धक देवीप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिकी उपाध्यक्ष तारादेवी पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रबन्धक तारा भट्टराईले गरेकी थिइन् ।
सोही कार्यक्रमको बन्दसत्रमा माइन्युट लेखन प्रमाणित समिति गठन, सञ्चालक समिति प्रतिवेदन, लेखा प्रतिवेदन तथा वार्षिक बजेट, त्रिवर्षीय व्यावसायिक योजना माथि छलफल र निष्कर्ष, टिपोट समितिबाट निर्णय सुनुवाई लगायतका कार्यक्रम सञ्चालन हुने संस्थाका सहायक प्रबन्धक युवराज भण्डारीले जानकारी दिए ।































