खोजी सुखको कि आनन्दको ?

0
125

धन कमाउन लोभी हुनुपर्छ, लालची हुनुपर्छ, लाचारी पनि हुनुपर्छ । यसले आचार व्यवहार बिगार्छ । धनले सुख मिल्दैन । यसले त सुख होइन, बरू दुःख थपिन्छ । लोभ लालचले धन वृद्धि हुन सक्छ । लोभ, लालच, मोह, क्रोध त मानिसका अवगुण हुन् । सुखी हुनु आनन्द होइन । आनन्द त गरिबीमा पनि छ । एउटा गरीब मान्छे सुखी नहुन सक्छ । तर, आनन्दित हुन सक्छ । धनले सुख प्राप्त हुन्छ भनेर त्यसकै पछि भौतारिँदा नै मान्छे गलत क्रियाकलापमा संलग्न छ । आनन्द प्राप्त गर्न धन चाहिन्न । सुखका लागि धन चाहिने हो । मान्छेको अन्तिम लक्ष्य आनन्द हो । सुखपछि मात्रै आनन्द पाइन्छ भन्ने भ्रमबाट मुक्त हुन जरूरी छ ।

आनन्दका लागि मन र मस्तिष्कलाई सही उपयोग गर्नुपर्छ । धनले आनन्द मिल्छ भन्ने भ्रमले गर्दा अनेक अपराध, विकृति, विसङ्गति बढेर गएको छ । आनन्द प्राप्तिका लागि धन होइन, सन्तुष्टि चाहिन्छ । सन्तुष्टि विकासको अवरोध होइन, आनन्द प्राप्तिको स्रोत हो । हामी आदर्श राज्यको परिकल्पना गर्छांै र आफू जसरी पनि सत्ता, शक्ति र धन आर्जनको भोको भइरहन्छौं । व्यक्तिले धन, शक्ति र सत्ताको भोक जति बढी गर्छ÷गरिन्छ, त्यति बेथिति, व्यभिचार र विकृतिले जरा गाड्छ । आदर्श राज्यमा विकृति विसङ्गति हुँदैन । आदर्श राज्यका नागरिक आनन्दमा रमाउँछन्, त्यसैमा रम्न चाहन्छन् ।

राज्य व्यक्तिले नै परिचालन गर्ने हो । आदर्श राज्यको परिकल्पना कुराले गर्ने अनि परिचालन गर्नेहरू विकृत मानसिकताबाट ग्रसित भएपछि आदर्श राज्यको परिकल्पना नाटकीय मात्र हुन्छ । धन अर्थात् पुँजी चाहिन्छ राज्यका लागि । राज्य परिचालन गर्नेहरूले राज्यको स्रोतसाधन वृद्धिका लागि सपना देख्नुपर्छ र सपना उपयुक्त या अनुपयुक्त, असल या खराब, राम्रो–नराम्रो, त्यसको परिणाम, दुष्मरिणामका विषयमा राज्य परिचालनको गहनतम् जिम्मेवारी बोकेकाहरू बीच आपसी सल्लाह र छलफलको निष्कर्षपछि साकार रुप दिने प्रयत्न गरिनुपर्छ । राज्य जति सम्पन्न हुन्छ, जनता जनार्दन त्यति नै आनन्दित हुन्छन् । राज्य धनी भएमात्रै नागरिकका आवश्यकताहरू पूर्ण हुन्छन् ।

तर, अहिले हामी विशेष गरेर हाम्रा देश हाँक्ने भनेर सत्ता शक्तिमा दोहो¥याई–तेहेर्याइ बसेका नेताहरू राज्योन्नतिका लागि होइन, आफ्नो धन आर्जनको भोक मेट्नका लागि जुटेका छन् । धनले सुख मिल्छ भन्ने भ्रममा छन् र सुख नै अन्तिम लक्ष्य ठानेका छन्– नेताहरूले । मानिसको अन्तिम लक्ष्य सुख होइन, आनन्द हो । फेरि पनि उल्लेख गर्छु– धनले आनन्द किमार्थ पनि प्राप्त हुँदैन ।

राज्यलाई सम्पन्न बनाउने र मानिसका आवश्यकताहरू राज्यबाट परिपूर्ति हुने हो भने मानिसलाई किन चाहियो धन ? तर, यसका लागि नेतृत्वमा सुधार आउनुपथ्र्यो, सुधार आएन र अहिलेको नेतृत्वमा सुधार आउने सम्भावना पनि छैन । त्यसैले सुध्रिन नचाहने नेतृत्वलाई तपाई हामी जनताले गल्छेडामा फाल्न सक्नुप¥यो । तर, पहिला तपाई हामीमा सुधार आउनुप¥यो । आचरण, व्यवहार परिवर्तन गर्नुप¥यो । हामी सबै नेता र राजनीतिक दलका कार्यकर्ता होइनौं । जब हामी सबै दलका कार्यकर्ता हुन्छौं । गलत नेतृत्वले तपाई हामी माथि अनावश्यक निर्देशन लाद्छ र तपाई–हामी, टाउको अर्कैलाई बेचिसकेका नेताका झोले बन्न पुग्छौं । राज्यले त नागरिकलाई उत्साहित बनाउने हो । ऊर्जाशील बनाउने हो ।

नागरिकलाई अहिले झोले कार्यकर्ता बनाइएको छ । ऊर्जाशील, उत्साही र उत्पादनशील नागरिक राज्यका प्राण हुन् । देशका नागरिकलाई राज्य र राज्य सञ्चालकप्रति नकारात्मक बनाएर हामी कस्तो शासक बन्न खोजिरहेका छौं । अनि धन नै सुखको अन्तिम बिन्दु ठानेर किन भ्रष्टाचार, अनियमितता र नातावाद जस्ता कुकृत्यमा रमाउँदैछौं । यो नै हो आनन्द त ? धनले कसलाई आनन्द दियो । खोजौं त, छैन नि । त्यसैले अब जनता जनार्दन तात्नुपर्छ–दुःखको भारी बिसाउने हो र उन्नत, आदर्श राज्य बनाउने हो भने सही र असल नेतृत्व छनौट गर्नुपर्छ ।

परिवर्तनका सम्वाहक जनता नै हुन् । यसको लागि सर्वप्रथम नागरिकले आफूमा भएको भ्रम त्याग्नुपर्छ । आफ्नो पहुँच र सामथ्र्यको पहिचान गर्नुपर्छ । त्यसपछि भ्रम छर्ने नेतृत्व र व्यक्ति धनी भए देश धनी हुन्छ भन्ने सपना देखेर धन सोर्न लिप्त र तिनै सपना बाँडेर हामी माथि दिग्भ्रमित शासन लादिरहने स्वार्थी नेतृत्वलाई त्याग्न सक्नु पर्छ । अनि मात्र भावी सन्ततिका लागि सुन्दर नेपाल हस्तान्तरणको सम्भावना रहन्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here