दोस्रो चरणको क्यानभास चित्र प्रदर्शनी माघमा

१७ कार्तिक २०८०, शुक्रबार मा प्रकाशित

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ ।

नेपालसहित विभिन्न १४ देशका ४३ जना ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रहरुलाई नगरपालिकाले काठमाडौँस्थित नेपाल आर्ट काउन्सिल बबरमहलको सभाहलमा आगामी माघ १० गतेदेखि १५ दिनसम्म प्रदर्शनी गर्ने भएको हो ।

गत असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल बजारमा पहिलो चरणअन्तर्गत आयोजना गरिएको कार्यक्रममा नगरपालिको १५ वटै वडा तथा जिल्लाका अन्य नौ स्थानीय तहका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई चित्रकारले लाइभ क्यान्भासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारले दिक्तेल बजारको विभिन्न चोक तथा किराँत ऐतिहासिकस्थल मझुवागढी, शुभम् फाउन्डेसन र जालपामा पुगेर एक सय नौ तथा अन्य विभिन्न ठाउँमा बसेर ४१ वटा क्यान्भास चित्र उतारेका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उतारिएका क्यानभास चित्र प्रदर्शनी कार्यक्रमको प्रमुख अतिथ्यता लागि राष्ट्रपति पौडेललाई औपचारिकरुपमा पत्रसमेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

“हामीले गरेको निम्तोलाई राष्ट्रपतिज्यूले सहर्ष स्वीकार गर्नुभएको छ । राष्ट्रपतिज्यूकै सल्लाह अनुसार आगामी माघ १० गतेदेखि प्रदर्शनी गर्ने योजना बनाएका छौँ । राष्ट्रपतिज्यूको अनूकुलमा कार्यक्रम तय हुन्छ”, नगरप्रमुख भट्टराईले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रियस्तरको चित्रकला कार्यशाला भव्यतापूर्वक सम्पन्न गरेकामा राष्ट्रपतिज्यूले नगरपालिकालाई बधाईसमेत दिनुभयो । कला, साहित्य र सङ्गीतले विश्वजगत्लाई जोड्ने भएकाले खोटाङमा यस क्षेत्रको विकासका लागि राष्ट्रपतिले आफ्नोतर्फबाट सहयोग गर्ने वचनसमेत दिनुभएको छ ।”

राष्ट्रपति पौडेलसँग नगरप्रमुख भट्टराईको नेतृत्वमा शीतल निवास जानुभएका प्राज्ञ धनबहादुर याख्खा र विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, किरण सिजु, विनिता इजमले भेटवार्ता गर्नुभएको थियो । क्यानभास चित्र प्रदर्शनी कार्यक्रममा खोटाङका किराँत राई, तामाङ, नेवार र क्षेत्री÷ब्राह्मणको सांस्कृतिक झाँकी, पुस्तक विमोचन, चित्रकारलाई सम्मानलगायत कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको रू १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो ।

यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “चित्रकारले प्रत्यक्षरुपमा कोरेका चित्रहरु नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि यसबाट प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।”

जिल्लामै पहिलोपटक आयोजना गरिएको चित्रकला कार्यशाला कार्यक्रमको हजारौँले अवलोकन गरेका उपप्रमुख राईले बताउनुभयो । कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका उहाँको भनाइ थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट फोटो स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अवधिभरको खाना, खाजा तथा वासलगायतको खर्च शुभम् फाउन्डेसनले निःशुल्क उपलब्ध गराएको छ ।

फाउन्डेसनमा अध्ययन गर्ने विद्यार्थीले विदेशी पाहुनाका लागिसमेत उपयुक्त हुने ‘होमस्टे’ घरबाससहितको ‘गेष्ट हाउस’ पाहुना घरसमेत सञ्चालन गरेका छन् । विदेशी पाहुनाका लागि दिक्तेलमा उपयुक्त होटल नभइरहेकाले विद्यार्थीले गेष्ट हाउस सञ्चालन गरेको बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here